नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा, यस्ता छन् अफर
काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । शुक्रबारदेखि सोमबारसम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी ५६ फाइभजीले पहिलो पटक ’असम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ । वन यूआई सेभेनद्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएकाे छ । साथै यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने सामसुङ नेपालले जनाएको छ । २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९०० मूल्य पर्ने ग्यालेक्सी फिट थ्री ३ हजार ९०० मा प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी ए ५६ फाइभजी १२ जीबी र्याम+ २५६ जीबी स्टोरेजको मूल्य ७० हजार ९०० रुपैयाँ रहेको छ भने ८ जीबी र्याम+ २५६ जीबी स्टोरेजको मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ ।
नेपालीले प्रयोग गरे २२ अर्बको स्मार्टफोन, १३ प्रतिशतले बढ्यो आयात
काठमाडौं । नेपालीले ८ महिनामा करिब २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०८१ /८२ को ८ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको फागुन मसान्तसम्म १४ लाख ७ लाख वटा स्मार्टफोन आयात हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बढी राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ । उक्त अवधिमा १२ लाख ४९ लाख वटा स्मार्टफोन आयात भएको छ । गत वर्षको तुलना अवधिमा स्मार्टफोनको आयात २ अर्ब ५४ करोड रुपैयाँ बढीले बढेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा १३ प्रतिशतले आयात बढेको छ । नेपालमा यो वर्ष ५८ वटा देशहरूबाट स्मार्टफोन आयात भएको विभागले जनाएको छ । धेरैजसो भारत, चीन, अस्ट्रेलिया, कुबेत, कतार, जापान र अमेरिका जस्ता देशहरूबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट १५ अर्ब ९ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै भारतबाट ६ अर्ब ३९ करोड र जापानबाट ६ करोड रुपैयाँ बढीको आयात भएको छ ।
हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ । एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो । नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ । यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ। साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं । उहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ ।’ आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्नेछ ।