ग्राहकका लागि डिशहोमको उपहार : वर्षदिनको इन्टरनेट सित्तैमा

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ वार्षिक इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू प्रत्येक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक हप्ता १४ जना विजेता छनोट हुनेछन् । जसमध्ये १० जना नयाँ ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक हुनेछन् । विजेताहरूले ३६५ दिनको इन्टरनेट सेवा सित्तैमा पाउनेछन् । डिशहोमले यो अफर आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर साथप्रति आभार प्रकट गर्ने उद्देश्यले ल्याएको हो । लक्की ड्रको नतिजा डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलमार्फत हरेक शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । विशेष परिस्थितिमा, नतिजा आईतवार साँझ ५ बजे गरिनेछ । ग्राहकहरूले नजिकको डिशहोम डिलरमार्फत वा खल्ती, ईसेवा, माइडिशहोम एप प्रयोग गरेर सेवा जडान वा रिचार्ज गर्न सक्नेछन् । डिशहोमले प्रदान गर्ने वार्षिक प्याकेजहरूमा १०० एमपीबीएस देखि ३०० एमपीबीएससम्मको गति उपलब्ध छ । यस योजनाले ग्राहकहरूलाई उच्च मूल्यमा उत्कृष्ट अनुभव दिन सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

मस्तिष्क प्रविधिमा चीनले एलन मस्कको न्यूरालिंकजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । विगतमा अमेरिका अग्रणी मानिएको मस्तिष्क प्रविधि (ब्रेन-कम्प्युटर इन्टरफेस) क्षेत्रमा चीन तीव्र गतिमा अगाडि बढिरहेको छ । बेइजिङस्थित एक अस्पतालमा भएको एउटा क्लिनिकल परीक्षणमा एएलएस रोगी एक महिलाले बोल्न नसके पनि मस्तिष्कबाट ‘म खाना खान चाहन्छु’ भन्ने सन्देश कम्प्युटर स्क्रिनमा देखाउन सकियो । यो सफलता चीनमा विकास गरिएको वायरलेस चिप बेइनाओ-१ को प्रयोगबाट सम्भव भएको हो । बेइनाओ-१ नामक सिक्का आकारको चिप पाँचजना बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिएको छ । यस प्रविधिमा बिरामीका मस्तिष्कबाट आउने संकेतहरूलाई डिकोड गरेर कम्प्युटरमार्फत सन्देश वा मेसिनमा रूपान्तरण गरिन्छ । प्रमुख वैज्ञानिक लुओ मिनमिनले भने, ‘यो प्रविधिले बिरामीहरूलाई फेरि आफ्नो शरीरको नियन्त्रणमा रहेको महसुस गराउँछ ।’ उनको टोलीले आगामी वर्षमा ५० देखि १०० जना बिरामीमा परीक्षण विस्तार गर्ने योजना बनाएको छ । यदि प्रविधि सुरक्षित र प्रभावकारी प्रमाणित भयो भने विश्वभरि क्लिनिकल प्रयोग सुरु गर्न सकिने उनले जानकारी दिए । एलन मस्कको न्यूरालिंक र सिन्क्रोन जस्ता अमेरिकी कम्पनीहरू यस क्षेत्रमा अघि छन् । न्यूरालिंकले पनि हालसम्म पाँच जना बिरामीमा चिप प्रयोग गरिसकेको छ भने सिन्क्रोनले १० जनासम्म परीक्षण गरिसकेको छ । तर, वैज्ञानिक लुओ भन्छन्, ‘बेइनाओ-१ र न्यूरालिंक एक अर्काका प्रतिस्पर्धी होइनन् । यी दुई प्रविधि पूरक हुन्, न कि प्रतिस्पर्धात्मक ।’ चिनियाँ चिपले मस्तिष्कका धेरै भागबाट संकेत टिप्ने क्षमतामा अगाडि छ । यद्यपि एकल न्युरोनको सटीकतामा अमेरिकाको प्रविधि अगाडि देखिन्छ । ब्रेन टेक उद्योग सन् २०२४ मा २.६ अर्ब डलरको थियो, जुन सन् २०३४ सम्म १२.४ अर्ब डलर पुग्ने अनुमान छ । तर यो केवल आर्थिक विषय होइन । चीनका राष्ट्रपति सी जिनपिङले प्रविधिलाई ‘वैश्विक प्रतिस्पर्धाको मुख्य रणभूमि’ भनेका छन् । अमेरिकामा यसले चासोको विषय बनिरहेको छ, किनकि सेमीकन्डक्टरदेखि ब्रेन टेकसम्म चीनले रणनीतिक रूपमा लगानी बढाइरहेको छ । अमेरिकाको प्रविधि मस्तिष्कको ड्युरा म्याटरभित्र चिप राख्ने ‘इनभेसिभ’ विधिमा आधारित छ, जुन सटीक भए पनि उच्च जोखिमयुक्त हुन्छ । चीनले भने कम आक्रामक तर प्रभावकारी डाटा सङ्कलन गर्न सक्ने प्रविधि अपनाएको छ। यही कारण चीनको प्रविधिलाई सुरक्षित मानिएको छ । चीनको बीसीआई अनुसन्धानमा राज्यस्तरको सहयोग उल्लेखनीय छ । २०१८ मा बेइजिङ मेट्रोपोलिटन र विश्वविद्यालयहरूद्वारा स्थापित सीआइबीआरले २०२३ मा न्यूरोसाइबर न्युरोटेक नामक निजी कम्पनी स्थापना गरेको थियो, जसले बेइनाओ-१ जस्ता उत्पादनमा काम गरिरहेको छ । पूर्व अनुसन्धान सहायक लिली लिनले भनिन्, ‘चीनमा ब्रेन साइन्स नयाँ भए पनि यसको विकास गतिको हिसाबले अग्रणी हुँदै गएको छ। सरकारले यस क्षेत्रमा उदार अनुदान दिँदै आएको छ ।’ बिरामीका लागि समाधान बेइनाओ-१ प्रविधिको पछिल्लो परीक्षणलाई ‘विश्वकै पहिलो अर्ध-आक्रामक वायरलेस बीसीआई परीक्षण’ भनेर वर्णन गरिएको छ । लुओले भनिन्, ‘अहिलेसम्म हामी निष्कर्षमा पुगेका छैनौं कि कुन विधि दीर्घकालीन रूपमा बिरामीका लागि बढी लाभदायक छ । तर एउटा कुरा निश्चित छ- यो प्रविधिले हजारौं बिरामीलाई अभिव्यक्तिको नयाँ ढोका खोलिदिएको छ ।’

चार दिनसम्म चलेको सफ्टवारिका कलेजको प्रविधि महोत्सवमा १० हजारभन्दा बढी भए सहभागी

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे। आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्‍यो । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए । ‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो । १५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे । कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्‍यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्‍यायो । चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।