नेपाल टेलिकमको नाफा २.६३ अर्ब रुपैयाँ, ८.४० प्रतिशत घट्यो कुल आम्दानी
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३२.९७ प्रतिशत घटेर २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत ३६.३० प्रतिशत घटेर २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत घटेर ७ करोड ६७ लाख रुपैयाँ गरेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.४० रुपैयाँ घटेर २९.३८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।
क्यान इन्फोटेक सम्पन्न, दुई लाखले अवलोकन गरे
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३० औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन सङ्घीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ, डा प्रकाशचन्द्र लोहनी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, चर्चित भ्लगर शिशन बानियाँलगायतले अवलोकन गरेका थिए ।क्यान इन्फोटेकमा सूचना प्रविधिका विश्वस्तरीय ब्राण्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, इ–कमर्स, साइबर सुरक्षा र समाधान, ब्ल्याकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । साथै नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेशन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरू प्रदर्शनीका प्रमुख आकर्षक थिए । ‘मेसिन लर्निङ’मा आधारित एआई प्रविधि, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिलगायत परियोजनाहरू अवलोकनकर्ताको मुख्य रोजाइमा परेको थियो । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । क्यान महासङ्घका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार महासङ्घले ‘डेटा प्रोटेक्सन’ ऐन, ‘राइड शेयरिङ’ नीति, एआई प्रविधिका लागि आवश्यक तथ्याङ्क व्यवस्थापन तथा वैदेशिक लगानीसम्बन्धी ऐनमा संशोधन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढेको छ । यस संस्करणको क्यान इन्फोटेकमा दुई लाख बढीले अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गर्ने उद्देश्यले एक सय ५५ प्रदर्शनी कक्ष राखिएको थियो । ती कम्पनीले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न प्रस्तावमार्फत सेवाका बारेमा प्रवर्द्धन गरेका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष प्रस्ताव (अफर) प्राप्त गरेका छन् । क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासङ्घले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि पहल गर्नेलगायत योजना बनाएको उन ले उल्लेख गरे ।
गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’
काठमाडौं । गुगलको डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले डीपसीकको एआई मोडेल चीनबाट आएको ‘सबैभन्दा राम्रो काम’ तर प्रचार ‘अतिरञ्जित’ भएको बताएका छन् । उनले डीपसीकमा कुनै नयाँ वैज्ञानिक प्रगति नदेखिएको दाबीसमेत गरे । पछिल्लो महिनामा चीनको डीपसीकले एउटा अनुसन्धान पत्र प्रकाशित गरेको थियो, जसले विश्वव्यापी बजारलाई हल्लाइदियो । उक्त पत्रमा डीपसीकले आफ्नो एआई मोडेललाई अन्य प्रमुख एआई कम्पनीहरूको तुलनामा निकै कम लागतमा र कम विकसित एनभीडीया चिपहरू प्रयोग गरेर प्रशिक्षण दिएको दाबी गरेको थियो । डीपसीक ६ मिलियन डलरभन्दा कम खर्चमा बनेको हो । जसले गर्दा अहिले ठूला प्रविधि कम्पनीहरू एआई पूर्वाधारमा धेरै खर्च गरिरहेका छन् कि भनेर व्यापक बहस चलिरहेको छ । सीईओ हासाबिसले डीपसीकको मोडेललाई ’एक प्रभावशाली काम’ भनेर प्रशंसा गरे । ‘मलाई लाग्छ यो चीनबाट आएको सबैभन्दा राम्रो काम हो,’ हासाबिसले आइतबार पेरिसमा आयोजित गुगलको कार्यक्रममा भने । यो कार्यक्रम एआई एक्शन समिटको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो । डीपमाइन्डका सीईओले डीपसीकको मोडेलले उनीहरूले ’एकदमै राम्रो इन्जिनियरिङ’ गर्न सक्ने देखाएको र यो ’भू–राजनीतिक रूपमा पनि परिवर्तन ल्याउने’ काम गर्न सक्ने बताए । तर प्रविधिको दृष्टिकोणले हेर्दा हासाबिसले यसमा ठूलो परिवर्तन नभएको दाबी गरे । ‘प्रचार भएजस्तै, यहाँ कुनै नयाँ वैज्ञानिक खोज छैन… यो पहिल्यै प्रचलित प्रविधिहरू प्रयोग गरिरहेको छ,’ उनले भने । साथै उनले डीपसीकको प्रचार ’अलिकति अतिरञ्जित’ भएको बताए । डीपमाइन्डका सीईओका अनुसार गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.० फ्लास मोडेलहरू डीपसीकको मोडेलभन्दा बढी प्रभावकारी छन् । डीपसीकको कम लागत र प्रयोग गरिएका चिपहरूबारेका दाबीहरू विशेषज्ञहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिनियाँ कम्पनीले आफ्नो मोडेल विकास गर्न अनुमान गरिएकोभन्दा बढी खर्च गरेको हुनसक्छ । एजीआई ५ वर्ष टाढा एआई जगतमा वर्षौंदेखि कृत्रिम सामान्य बौद्धिकता (एजीआई) कहिले आउँछ भन्ने बहस चलिरहेको छ । एजीआई भनेको मानिसहरूभन्दा बढी बुद्धिमान एआईलाई जनाउँछ । हासाबिसका अनुसार एआई उद्योग ’एजीआई’ को मार्गतर्फ अघि बढिरहेको छ,’ जुन उनले ’मानिसहरूसँग भएको सम्पूर्ण संज्ञानात्मक क्षमताहरू प्रदर्शन गर्ने प्रणाली’ भनेर वर्णन गरे । ‘मलाई लाग्छ, अब हामी धेरै नजिक छौं । सम्भवतः त्यस्तो प्रणाली बनाउन मात्र ५ वर्ष जति बाँकी छ, जुन निकै असाधारण हुनेछ,’ हासाबिसले भने । ‘मलाई लाग्छ, समाज यसका लागि तयार हुनुपर्छ र यसले ल्याउने प्रभावहरूबारे सोच्नुपर्छ । हामीले यसको फाइदाहरू लिनुपर्छ, ताकि पूरै समाज लाभान्वित होस्, तर हामीले यसका जोखिमहरू पनि व्यवस्थापन गर्नुपर्छ,’ उनले थपे । हासाबिसका विचारहरू अन्य एआई नेताहरूका विचारसँग मेल खान्छन् । यसै वर्ष ओपनएआईका सीईओ साम अल्टम्यानले भनेका थिए कि ‘हामीले परम्परागत रूपमा बुझेअनुसारको एजीआई कसरी निर्माण गर्ने भन्ने जान्दछौं ।’ तर, धेरै विशेषज्ञहरूले एजीआईसँग सम्बन्धित विभिन्न जोखिमहरूबारे चेतावनी दिएका छन् । सबैभन्दा ठूलो चिन्ता के हो भने मानिसहरूले आफैले निर्माण गरेका प्रणालीहरूमा नियन्त्रण गुमाउन सक्छन् । एआई वैज्ञानिकहरू म्याक्स टेगमार्क र योशुआ बेन्जियो ले हालै सीएनबीसीसँग कुरा गर्दै एजीआईको जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’