एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको अफर : २० रुपैयाँमै नयाँ सिमकार्ड !

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ ल्याएको छ । यस योजनाअन्तर्गत, एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरूले मात्र २० रुपैयाँमा नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् । पहिले नै टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि यही अफर उपभोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरिका कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।यस अतिरिक्त ३० दिनसम्मका लागि प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटासमेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहने टेलिकमको भनाइ छ । नयाँ सिम पाउन विद्यार्थीले एसईईको प्रवेश पत्र, कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो, आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी लगायत सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्न पनि टेलिकमले जानकारी गराएको छ । यस अफर २०८१ चैत १५ देखि २०८२ असार ३० सम्म मात्र उपलब्ध हुनेछ । नेपाल टेलिकमले विद्यार्थीहरूलाई डिजिटल युगमा सशक्त बनाउन र टेलिकम सेवाको पहुँच वृद्धि गर्न यो विशेष योजना ल्याएको हो ।

सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता गर्न सरकारको आग्रह

social media काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र सञ्चालनमा रोक लगाउने जानकारी दिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना निकालेको हो । उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । उल्लेखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ । उल्लेखित कानुनी व्यवस्था अनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याव  (वीटक) यस मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् । उल्लेखित बाहेक नेपालभित्र सञ्चालनमा रहेका अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले निर्देशिकाबमोजिम ३० दिनभित्र मन्त्रालयमा सूचीकरण गर्न मन्त्रालयले जनाएको छ । ‘नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

काठमाडौं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्लाहुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडीएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशका दुर्गम क्षेत्रहरूमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार गर्न र स्तरोन्नति गर्ने योजना अनुरूप सूचना महामार्ग विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रहरूमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर र क्षमता वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ । साथै, भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि पनि यसले महत्त्वपूर्ण आधार निर्माण गर्ने कम्पनीको भनाइ छ । यसका अलावा, माइक्रोवेभ रिडिओ लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूको काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनटीटिभी ब्रान्डको टेलिभिजन सेवा पनि ८ चैतदेखि अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ ।