सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता गर्न सरकारको आग्रह

social media काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र सञ्चालनमा रोक लगाउने जानकारी दिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना निकालेको हो । उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । उल्लेखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ । उल्लेखित कानुनी व्यवस्था अनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याव  (वीटक) यस मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् । उल्लेखित बाहेक नेपालभित्र सञ्चालनमा रहेका अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले निर्देशिकाबमोजिम ३० दिनभित्र मन्त्रालयमा सूचीकरण गर्न मन्त्रालयले जनाएको छ । ‘नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

काठमाडौं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्लाहुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडीएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशका दुर्गम क्षेत्रहरूमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार गर्न र स्तरोन्नति गर्ने योजना अनुरूप सूचना महामार्ग विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रहरूमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर र क्षमता वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ । साथै, भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि पनि यसले महत्त्वपूर्ण आधार निर्माण गर्ने कम्पनीको भनाइ छ । यसका अलावा, माइक्रोवेभ रिडिओ लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूको काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनटीटिभी ब्रान्डको टेलिभिजन सेवा पनि ८ चैतदेखि अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ ।

सामसङका डीसीईओ हान जोंग-हीको निधन

काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हान जोंग–हीको निधन भएको छ । उनको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले उनको निधनको पुष्टि गरेको छ । हानले कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व सम्हालेका थिए । सामसुङले हालसम्म हानको उत्तराधिकारीको नाम घोषणा गरेको छैन । हान जोंग–हीले १९८८ मा इनहा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक डिग्री पूरा गरेपछि सामसुङमा काम गर्न सुरु गरेका थिए । २०११ देखि २०१३ सम्म उनी कम्पनीको उत्पादन अनुसन्धान र विकास (आर एन्ड डी) टोलीको प्रमुख थिए । हानले २०१७ मा भिजुअल डिस्प्ले व्यवसायको नेतृत्व लिएका थिए । २०२१ मा उनलाई उपाध्यक्ष र डीसीईओमा पदोन्नति गरिएको थियो । स्थानीय मिडियाका अनुसार सामसुङको टिभी व्यवसायलाई उचाइमा पुर्‍याउने श्रेय उनलाई दिइन्छ । सामसुङका एक प्रवक्ताका अनुसार हान जोंग–हीको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । ३० नोभेम्बर, २०२४ सम्ममा हानको कुल सम्पत्ति करिब ९ लाख ७१ हजार २९१ नेट वर्थ थियो । उनको वार्षिक तलब प्याकेज ६.९० अर्ब वोन (झन्डै ४८.३ लाख डलर) थियो । गत वर्षको अवधिमा सामसुङका सेयरहरू सबैभन्दा कमजोर प्रदर्शन गर्ने प्रविधि सेयरहरूमा परेका थिए । हानले भनेका थिए कि कम्पनीले तीव्र रूपमा विकसित भइरहेको एआई सेमिकन्डक्टर बजारलाई पर्याप्त रूपमा जवाफ दिन असफल भएको छ ।