एनसेलले ल्यायो विभिन्न अफरहरू, १० हजारसम्मको अस्पताल भर्ना बीमा सुविधा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरअन्तर्गत ग्राहकहरूले सधैं अन रिन्यूअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू प्राप्त गर्नेछन् । एनसेलका अनुसार यी अफरहरू आज (चैत्र २१) बाट लागू भई वैशाख १६ गतेसम्म कायम रहनेछन् । एनएसएल डबल डेटा अफरअन्तर्गत, करसहित ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याक खरिद गर्ने ग्राहकहरूले दोब्बर डेटा बोनस प्राप्त गर्नेछन् । उदाहरणका लागि, ७९९ रुपैयाँको मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरुका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरु क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइन्छ । कम्पनीका अनुसार एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित ७९९ रुपैयाँ, ९९९ रुपैयाँ, र १,४९९ रुपैयाँको रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन १,००० रुपैयाँका दरले अधिकतम १० हजार रुपैयाँसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् । अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, १५० रुपैयाँमा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
एनसेल फाउन्डेसनले शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्याउने
काठमाडौं । हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ । यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान पु¥याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ । मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ । एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरूबापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५ हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ । एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।
३ सय अर्ब डलरको बन्यो ओपनएआई, एक दशकमै एक ट्रिलियनको एआई उद्योग हुने विज्ञको दावी
काठमाडौं । ओपनएआईले ४० अर्ब डलरको लगानी जुटाएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यो ४० अर्बको लगानीले च्याटजीपीटी निर्माता ओपनएआईको मूल्यांकन ३०० अर्ब डलर पुर्यायो । पिचबुकका अनुसार यो कुनै पनि निजी प्रविधि कम्पनीले अघिल्लो पटक उठाएको रकमको करिब तीन गुणा हो । यसले ओपनएआईलाई मात्र स्पेसएक्स (३५० अर्ब डलर) पछाडि राख्छ र टिकटकको अभिभावक कम्पनी बाइटडान्ससँग बराबर बनाउँछ। जापानको सफ्टबैंकले ३० अर्बको लगानी गर्दै नेतृत्व गरेको छ, जसमा मुख्य लगानीकर्ता माइक्रोसफ्ट, अल्टीमिटर, थ्राइभजस्ता संस्थाहरू पनि सामेल छन् । ओपनएआईले ब्लग पोस्टमा उल्लेख गरेअनुसार यो नयाँ पूँजी एआई अनुसन्धानलाई थप अघि बढाउन र कम्प्युटिङ पूर्वाधारलाई विस्तार गर्न प्रयोग गरिनेछ । सीएनबीसीले रिपोर्ट गरेअनुसार लगानीमध्ये १८ अर्ब डलर स्टारगेट परियोजनामा प्रयोग गरिने अपेक्षा गरिएको छ । सफ्टबैंक, ओपनएआई र ओराकलबीचको यो संयुक्त परियोजना जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको थियो । सुरुवाती चरणमा १० अर्ब लगानी हुनेछ भने २०२५ को अन्त्यसम्म बाँकी ३० अर्ब थपिनेछ । तर यो सम्झौतासँग एउटा शर्त पनि जोडिएको छ । सफ्टबैंकले सोमबार अपडेट गरेको फाइलिङमा उल्लेख गरेअनुसार यदि ओपनएआईले २०२५ को डिसेम्बर ३१ भित्र नाफामुखी संरचनामा परिवर्तन नगरेमा सफ्टबैंकको कुल लगानी घटाएर २० अर्बसम्म सीमित गर्न सकिनेछ । यस प्रावधानले ओपनएआईलाई नाफामुखी रूपान्तरण पूरा गर्न दबाब बढाउनेछ, जसका लागि माइक्रोसफ्टको समर्थन र क्यालिफोर्निया एटर्नी जनरलको अनुमोदन आवश्यक हुनेछ । यस्तै, ओपनएआईका सह-संस्थापक एलन मस्कले अदालतमा यो रूपान्तरणको विरोध गरेका छन् । ओपनएआई हाल एक ‘क्याप्ड–प्रोफिट’ संरचनामा सञ्चालन भइरहेको छ, जसले २०१९ मा स्थापना गरिएको सीमित साझेदारी मोडेललाई समेट्छ । संस्थाको मूल गैर-नाफामुखी इकाइ प्रमुख सेयरधारक हो र यदि पुनर्संरचना भएमा यसलाई छुट्टै संस्थाका रूपमा विभाजन गरिनेछ । ओपनएआईका लगानीकर्ताहरूले कनर्भटिबल नोट्स पाएका छन्, जुन भविष्यमा इक्विटीमा परिणत हुनेछ । ओपनएआईको लगानी इतिहासकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यसअघि एन्ट ग्रुपले २०१८ मा १४ अर्ब लगानी उठाएको थियो । सफ्टबैंक र अन्य लगानीकर्ताहरूले च्याटजीपीटीको तीव्र वृद्धि जारी रहने विश्वास गरेका छन् । ओपनएआईले सोमबार च्याटजीपीटीका साप्ताहिक प्रयोगकर्ताहरू ५०० मिलियन पुगेको घोषणा गर्यो, जुन गत महिना मात्र ४०० मिलियन थियो । कम्पनीले २०२५ को अन्त्यसम्म राजस्व १२.७ अर्ब पुग्ने अनुमान गरेको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, ‘च्याटजीपीटीको लन्च मेरो जीवनकै सबैभन्दा ठूलो भाइरल क्षण थियो, हामीले पाँच दिनमै एक मिलियन प्रयोगकर्ता जोड्यौं । तर अहिले हामीले मात्र एक घण्टामा एक मिलियन प्रयोगकर्ता जोडिरहेका छौं ।’ उद्योग विशेषज्ञहरूका अनुसार जेनेरेटिभ एआई बजार १० वर्षभित्र १ ट्रिलियनको उद्योग बन्नेछ । गुगल, अमेजन, एन्थ्रोपिक, पेर्पलेक्सिटीलगायतका कम्पनीहरू एआई एजेन्टहरू विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । ओपनएआईले हालै सीईओ अल्टम्यानको भूमिकामा परिवर्तन गर्दै उनलाई अनुसन्धान र उत्पादनमा केन्द्रित गराएको छ भने मुख्य सञ्चालन अधिकारी ब्राड लाइटक्यापलाई व्यापार र दैनिक सञ्चालनको जिम्मेवारी दिइएको छ ।