नेपालीले प्रयोग गरे २२ अर्बको स्मार्टफोन, १३ प्रतिशतले बढ्यो आयात
काठमाडौं । नेपालीले ८ महिनामा करिब २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०८१ /८२ को ८ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको फागुन मसान्तसम्म १४ लाख ७ लाख वटा स्मार्टफोन आयात हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बढी राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ । उक्त अवधिमा १२ लाख ४९ लाख वटा स्मार्टफोन आयात भएको छ । गत वर्षको तुलना अवधिमा स्मार्टफोनको आयात २ अर्ब ५४ करोड रुपैयाँ बढीले बढेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा १३ प्रतिशतले आयात बढेको छ । नेपालमा यो वर्ष ५८ वटा देशहरूबाट स्मार्टफोन आयात भएको विभागले जनाएको छ । धेरैजसो भारत, चीन, अस्ट्रेलिया, कुबेत, कतार, जापान र अमेरिका जस्ता देशहरूबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट १५ अर्ब ९ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै भारतबाट ६ अर्ब ३९ करोड र जापानबाट ६ करोड रुपैयाँ बढीको आयात भएको छ ।
हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ । एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो । नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ । यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ। साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं । उहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ ।’ आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्नेछ ।
एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण
काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने उद्देश्य राखेको छ । मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् । ‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने । विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । ‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,’ क्यानका सचिव पारस खड्काले भने । यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो । ‘हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौं,’ एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।