आईटी विद्यार्थीका लागि छात्रवृत्ति र इन्टर्नशिप अवसर, क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य
काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच दीर्घकालीन सहकार्यको सम्झौता भएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने उद्देश्यले आइतबार दुबै संस्थाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रविधिमा दक्ष जनशक्ति उत्पादन, अनुसन्धान तथा तालिम, सेमिनार र इन्टर्नशिप अवसर उपलब्ध गराउने कार्यमा दुवै पक्षले संयुक्त रूपमा काम गर्नेछन् । सहकार्यका कार्यक्रम समन्वय गर्न विश्वविद्यालयबाट डा. राजीव सुब्बा र महासंघबाट रणजित कुमार पोदारलाई फोकल पर्सन तोकिएको छ । सम्झौता पाँच वर्षसम्म लागू हुनेछ र आवश्यकताअनुसार परिमार्जन वा विस्तार गर्न सकिनेछ । क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेका अनुसार यो सहकार्यले नेपालको आईसीटी क्षेत्रको दीर्घकालीन विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ । यसैबीच, मदन भण्डारी विश्वविद्यालयले स्नातकोत्तर तहका दुई प्रमुख शैक्षिक कार्यक्रम-मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्मको व्यवस्था गरेको छ । आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म कायम गरिएको छ भने छनोटको नतिजा अप्रिल २६ मा प्रकाशित हुनेछ । छात्रवृत्ति पाउनका लागि न्यूनतम २.७५ जीपीए (४ स्केलमा) वा सो सरहको अन्तर्राष्ट्रिय डिग्री आवश्यक हुनेछ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस सहकार्यले शिक्षालय र उद्योगबीचको सम्बन्ध मजबुत बनाउने, विद्यार्थीलाई व्यावसायिक वातावरणमा तालिम दिने र नेपाली आईसीटीमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
फोल्डेबल आईफोन अर्को वर्ष लन्च हुनसक्ने ! मूल्य कति पर्ला ?
काठमाडौं । सामसुङले आफ्ना फोल्डेबल फोनहरूको छैटौं पुस्ता बनाइसकेको छ । त्यसैगरी, ओप्पो,वनप्लस र गुगलले पनि आ–आफ्ना फोल्डेबल फोनहरू बजारमा ल्याइसकेका छन् । तर अहिलेसम्म एप्पलजस्तो ठूला ब्राण्डको फोल्डेबल फोनबारे कुनै ठोस जानकारी आएको छैन । यसबीचमा समाचारहरू आएका छन् कि सामसुङले एप्पलको सम्भावित फोल्डेबल फोनसँग जोडिएको एक ठूलो समस्या समाधान गरिदिएको छ । मानिसहरू एप्पलको फोल्डेबल फोनको तीव्र पर्खाइमा छन् । एप्पल प्रायः सबै कामहरू धैर्यपूर्वक र फरक तरिकाले गर्ने कम्पनीको रूपमा चिनिन्छ । एप्पलको फोल्डेबल फोन अन्य कम्पनीहरूका फोनभन्दा कति फरक र उत्कृष्ट होला भनी मानिसहरू उत्सुक छन् । सामसुङले दियो समाधान एप्पलले आफ्ना विभिन्न डिभाइसहरूमा सामसुङ, एलजी र बीओईको डिस्प्ले प्रयोग गर्छ । रिपोर्टअनुसार एप्पल चाहँदैन कि उसको फोल्डेबल फोनमा 'क्रीज' (बीचमा देखिने मोडिएको रेखा) देखियोस् । यो समस्या सामसुङले समाधान गर्न सफल भएको बताइएको छ । समाचारहरू अनुसार एप्पलको फोल्डेबल फोनमा ५.५ इन्चको ओलेड कभर डिस्प्ले हुनेछ । फोन खोल्दा यो ७.८ इन्चको हुनेछ । यो एक किताबको आकारको फोन हुनेछ । यो सामसुङको आगामी जेड फोल्ड ८ भन्दा पूरै फरक हुनेछ । अर्को वर्ष आउला त ? दावी गरिएको छ कि फोल्डेबल फोनको क्रीज समस्या समाधान गरेपछि अब एप्पलले उत्पादनमा ध्यान केन्द्रित गर्न सक्नेछ । विज्ञहरू आशा गरिरहेका छन् कि अर्को वर्षको सेप्टेम्बरमा हामीले नयाँ फोल्डेबल आईफोन देख्न सक्नेछौं । अर्कोतर्फ केही जानकारहरूको भनाइ छ कि आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा एप्पलले यस्तो डिभाइस सार्वजनिक गर्न चाहन्छ । कति पर्न सक्छ मूल्य ? फोल्डेबल आईफोनको मूल्यबारे अहिले नै निश्चित केही भन्नु हतार हुनेछ, तर केही जानकारहरूका अनुसार यसको मूल्य २००० डलर (२७ हजार ५०० रुपैयाँ) भन्दा बढी हुन सक्छ । अहिलेको ट्यारिफ र बजार परिस्थितिका कारण यसको मूल्य अझै बढी हुन सक्छ । यति त पक्का छ कि एप्पलले आफ्ना फोल्डेबल फोनको राम्रै मूल्य ग्राहकबाट लिनेछ । केही समयअघि एप्पलले भिजन प्रो बजारमा ल्याएको थियो, जसको मूल्य ३ हजार डलर (४ लाख १३ हजार रुपैयाँ) भन्दा बढी थियो । यस्तोमा फोल्डेबल आईफोनको मूल्य अनुमान लगाउन सकिन्छ ।
ओपनएआईले सामाजिक सञ्जाल प्लेटफर्म ल्याउँदै, फेसबुक र इन्स्टाग्रामलाई टक्कर दिने !
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्मको रूपमा फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्वीटर) र टीकटोक जस्ता एप्सले बजारमा प्रभुत्व जमाएका छन् । तर चाँडै नै ओपनएआईले यी एपहरूलाई चुनौती दिन सक्छ । ओपनएआई जसले लोकप्रिय एआई टुल च्याटजीपीटी विकास गरेको हो । मिडिया रिपोर्टहरूका अनुसार ओपनएआई एक यस्तो सामाजिक सञ्जाल प्लेटफर्ममा काम गरिरहेको छ, जसमा एआई सुविधाहरू समावेश गरिनेछन् । भनिन्छ- यो एउटा यस्तो एप हुनेछ जसले फेसबुक-इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई टक्कर दिनेछ । यो एप पनि च्याटजीपीटीमा आधारित हुनसक्छ । एलन मस्कलाई पनि टक्कर ! द भर्जको एक रिपोर्टअनुसार ओपनएआई पनि एक्सजस्तै सामाजिक सञ्जाल निर्माण गर्ने योजनामा छ । एक्स पहिले ट्वीटर थियो, जसलाई एलन मस्कले किनेर नाम परिवर्तन गरेका हुन् । भनिन्छ, ओपनएआईले यसको प्रोटोटाइप (नमूना) तयार गरिसकेको छ, जसमा च्याटजीपीटीको क्षमताहरू समावेश छन् । एपमा पब्लिक फिड पनि हुनेछ, जहाँ मानिसहरूले आफ्ना भावना अभिव्यक्त गर्न सक्नेछन् । ओपनएआईका सीईओ साम अल्टम्यान यस प्रोजेक्टप्रति गम्भीर रहेको बताइएको छ । उनले विभिन्न व्यक्तिहरूसँग एपबारे सल्लाह लिइरहेका छन् र उद्योग क्षेत्रका केही विशेषज्ञहरूबाट पनि प्रतिक्रिया मागिएको छ । तर अहिलेसम्म यो स्पष्ट छैन कि कम्पनीले नयाँ एप सार्वजनिक गर्नेछ वा च्याटजीपीटीमै सामाजिक सञ्जालको फिचर समावेश गर्नेछ । फेसबुक-इन्स्टाग्रामभन्दा फरक हुने एप रिपोर्टहरू अनुसार ओपनएआईले विकास गरिरहेको एप फेसबुक र इन्स्टाग्रामभन्दा फरक अनुभव दिनेछ । फेसबुक र इन्स्टाग्राममा एआईको प्रयोग गरिएको भए पनि ओपनएआईको एपमा एआई सामाजिक अनुभवहरूको केन्द्रमा हुनेछ । यसमा जनसाधारणभन्दा बढी एआईको प्रभाव देखिनेछ । मेटा पनि तयारीमा भनिन्छ मेटालाई पनि ओपनएआईबाट हुने चुनौतीको आभास भइसकेको छ । त्यसैले फेब्रुअरीमै खबर आएको थियो कि मेटा एआई एपमा काम गरिरहेको छ । यदि दुवै एप सार्वजनिक भएमा ती आपसमा प्रत्यक्ष प्रतिस्पर्धामा आउनेछन् । यसले प्रयोगकर्ताहरूलाई एआई-सामाजिक सञ्जालको नयाँ संसारमा छिरी प्रयोग गर्ने अवसर दिनेछ । नयाँ सुविधाहरू आउनेछन्, जसले प्रयोगकर्ताको अनुभव दुईगुना बनाउनेछ । ओपनएआईको चुनौती मस्कलाई भारी ओपनएआईबाट आइरहेको चुनौती एलन मस्कलाई मन परेको देखिँदैन । उनले साम अल्टम्यान र ओपनएआईको पटक–पटक आलोचना गरिसकेका छन् । एलन मस्कले अल्टम्यानको कम्पनी किन्ने प्रयास पनि गरेका थिए । त्यसको जवाफमा अल्टम्यानले एक्स (पूर्व ट्वीटर) किन्ने प्रस्ताव दिएका थिए ।