मोटोरोला ६० अल्ट्रा : फ्लिप फोनमा पहिलोपटक ७ इन्चको फोल्डेबल स्क्रिन !
काठमाडौं । मोटोरोला आफ्नो एक अन्तर्राष्ट्रिय लन्च कार्यक्रमको तयारीमा भव्यसँग लागिपरेको छ । यो कार्यक्रम अप्रिल २४ मा हुँदैछ, जसमा मोटोरोलाले आफ्ना धेरै उत्कृष्ट डिभाइसहरू देखाउन सक्ने अपेक्षा गरिएको छ । यसमा मोटो एड्ज ६० र एड्ज ६० प्रो रहने सम्भावना छ । इभान ब्लासले यसबारे केही जानकारी उपलब्ध गराएका थिए । अब उनले मोटोरोला रेजर ६० अल्ट्रासम्बन्धी केही रोचक कुराहरू पनि सार्वजनिक गरेका छन् । उनका अनुसार मोटोरोला रेजर ६० अल्ट्रामा ठूलो डिस्प्ले देख्न सकिनेछ । यदि यस्तो भयो भने फ्लिप फोन भए पनि यसको कभर स्क्रिनप्रति कसैलाई गुनासो रहने छैन । फ्लिप फोनको कभर डिस्प्ले प्रायः सानो हुने गर्छ । तर मोटोरोला रेजर ६० अल्ट्राले यो ट्रेन्ड परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ । बताइएअनुसार मोटोरोला रेजर ६० अल्ट्रामा ७ इन्चको फोल्ड गर्न मिल्ने मुख्य डिस्प्ले हुनेछ । यो फोन खोलेर मात्रै प्रयोग गर्न सकिनेछ । मोटोरोलाको रेजर सिरिज पहिलेदेखि नै निकै लोकप्रिय रहँदै आएको छ । यो नामबाट मोटोरोलाले त्यतिबेलादेखि फोन निकाल्दै आएको हो, जतिबेला स्मार्टफोन भन्ने कुरै थिएन । पहिले यो किप्याड फोनमा उपलब्ध हुन्थ्यो, जुन आफ्नो स्लिम डिजाइनका लागि प्रसिद्ध थियो । मोटोरोलाको रेजर ६० अल्ट्रामा शक्तिशाली चिपसेट यो पहिलो स्मार्टफोन हुनेछ जसमा स्न्यापड्रेगन ८ इलाइट चिपसेट दिइनेछ । साथै यसमा १६ जीबी ५१२ जीबी स्टोरेज हुनेछ । यसले गर्दा यो कुनै पनि हिसाबले कमजोर देखिनेछैन । सम्भवतः यही कारणले कम्पनीले फोनको नाममा 'अल्ट्रा' शब्द राखेको हो । यसमा ५० एमपीको मुख्य क्यामेरा र ५० एमपीको अल्ट्रावाइड क्यामेरा दिइनेछ । यो अल्ट्रावाइड क्यामेरा म्याक्रो फोटो खिच्नका लागि पनि प्रयोग गर्न सकिनेछ । यसमा ५० एमपीको फ्रन्ट क्यामेरा पनि हुनसक्छ । अघिल्लो जेनेरेसनमा मोटोरोलाले ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको थियो ।
मात्र २५ हजारमा धेरै फिचर भएको भिभो वाई-२९ सार्वजनिक
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई-२९ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ स्मार्टफोन आधिकारिक रूपमा सार्वजनिक गरिएको हो । यसमा ६ हजार ५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै ब्याट्रीमा ५ वर्षसम्मको ग्यारेन्टी रहेको छ । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङका साथै इमरजेन्सी पावर सेभिङ मोडको सहायताले १५ प्रतिशत ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउने कम्पनीले जनाएको छ । भिभो वाई-२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कर्भ्ड ब्याकप्लेट र मेटालिक हाई-ग्लास फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ । नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा यो फोन उपलब्ध छ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रुभ बनाउँछ । प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई-२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जीबीको विस्तारित र्याम र २५६ जीबी स्टोरेजले गर्दा झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० प्रतिशत अडियो बुस्टसहितको डुअल स्टेरियो स्पिकरजस्ता फिचरहरू उपलब्ध छन् । यस्तै, फोटोग्राफीप्रेमीका लागि भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई-फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरू यसमा छन् । भिभो वाई-२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४ हजार ९९९ रुपैयाँ राखिएको छ ।
केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातो हाब्रे) संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्डा ट्रफी तथा चौथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उनले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए । मन्त्री गुरुङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गरे । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुने गरी काम भइरहेको उनको भनाइ छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उनले भने, ‘सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।’ मन्त्री गुरुङले स्याफ्रु बेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाए । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे । केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घर घरमा टेलिफोन सेवा पुर्याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पुर्‍याई इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्याभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्ने लगायत योजना सरकारले बनाएको मन्त्री गुरुङले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।