महानगर र टेलिकमबीच सहकार्य, सीसीटिभी नेटवर्क अब टेलिकमको फाइबरमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौं प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ । यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ । सीसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ । महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा आउने विश्वाश व्यक्त गरे । ‘महानगरपालिकाको सेवाका लागि छुट्टै संयन्त्रबाट काम हुने हामीले अपेक्षा गरेका छौँ,’ गुरागाईँले भने । यस्तै टेलिकमका निर्देशक यादवले, महानगरपालिकाको आवश्यकता र अपेक्षा पूरा गराउने संयन्त्र निर्माण गरिने बताए । टेलिकमसँग यस अघि नै अप्टिकल फाइबर सञ्जाल भएकोले महानगरपालिकाले तत्काल आफूले यस अघि जडान गरेका सीसीटिभीका दृश्यहरु प्राप्त गर्न सक्ने अवस्था रहेको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए । सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरु महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष ९सर्भलेन्स रुम० मा पुर्याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यस अघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटिभी जोड्न सकिनेछ । यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यहरुको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ । यो सम्झौता १ वर्षका लागि हो । काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यस बमोजिम महानगरपालिका, वडा कार्यालय र यसभित्रका सार्वजनिक स्थलहरुको दृश्य सीसीटिभी निगरानी कक्ष (सीसीटिभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रयोग गरिनेछ ।
टिग नास आईटी एक्सपो २०२५ को शनिबार अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजको आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ । आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको एक्पोमा ३५ बढी नेपाली सफ्टवेयर र आईटी सेवाहरू प्रदर्शनीमा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्सपो निःशुल्क अवलोकन गर्न सकिने छ भने प्रडक्ट वा सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउन सकिने छ । नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले नेपाली प्रविधिहरूको बारेमा बुझ्न एक्सपोमा आउनु पर्ने बताए । ‘एक्सपोले व्यवसाय, नवप्रवर्तक र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ । यो एक्स्पो केवल प्रविधिको प्रदर्शनी होइन, नवप्रवर्तन र अवसरबीचको पुल हो,’ उनले भने, ‘पहिलो दिन बहुराष्ट्रिय कम्पनीका साथै विदेशी नियोगका प्रतिनिधि समेत अवलोकन गर्न आउनु भएको थियो, जुन हाम्रा लागि गौरवको कुरा हो । प्रविधिमा इच्छुक तपाईहरू सबैलाई पनि अवलोकन गर्न अनुरोध गर्दछु ।’ कार्यक्रमको पहिलो दिन अर्थात शुक्रबार इजरायल, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका विभिन्न देशका राजदूतहरू, सरकारी निकायका प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका सदस्यहरू, तथा उद्यमी, कर्पोरेट लिडर, कार्यकारी अधीकारी लगायतले एक्सपो अवलोकन गरेका थिए । एक्स्पोको पहिलो दिन १ हजार बढीले अवलोकन गरेका छन् । आज २ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विशेष गरी बिजनस टु बिजनेस लक्षित गरिएको एक्सपोमा प्रविधिमा चासो राख्नेहरू सबै आएर अवलोकन गर्न तथा विभिन्न प्रडक्ट र सेवा बारे जानकारी लिन सक्ने छन् । नास आईटीकी महासचिव अलिशा श्रेष्ठले एक्सपोमा उत्साहजनक सहभागीता रहेको बताउँदै यसले देशको समग्र टेक इकोसिस्टमलाई दिगो बनाउन सहयोग गर्ने बताइन् । कार्यक्रममको पहिलो दिन ओपन बैंकिङमा आधारित एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ लगायतका प्रडक्ट समेत सार्वजनिक गरिएको थियो । प्रदर्शनीमा फिनटेक, साइबर सेक्युरिटी, सेफ्टवेयर एज अ सर्भिस तथा इन्टरप्राइज, एचआर लगायत क्षेत्रका प्रडक्ट तथा सेवा राखिएको छ । कम्पनीहरूले आफ्नो बिजनेसलाई प्रवर्द्धन र नेटवर्किङ गर्ने अवसरको रूपमा नास आईटी एक्सपोलाई लिएका छन् । नास आईटीले व्यवसायी, उद्यमी र प्रविधिप्रेमीहरूलाई नेपालमा विकास भएका अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्न र डिजिटल इकोसिस्टम विकासमा योगदान गर्न आग्रह गरेको छ । एक्सपोको शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन, डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।
एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल
काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको चर्चा चल्दैगर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहककालागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ । एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।