क्यान महासंघ र नेपाल चेम्बरबीच आईटी समझदारी

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने दीर्घकालीन लक्ष्यसहित गरिएको यो समझदारी ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको छ । समझदारी हस्ताक्षर कार्यक्रम क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवालको विशेष उपस्थितिमा सम्पन्न भयो । समझदारीपत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र एनसीसी आईटी समितिका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सहकार्यको अवधारणा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको पहल र दूरदृष्टिमा आधारित छ । उनले नेपालको आईटी उद्योगमा दीर्घकालीन र दिगो इकोसिस्टम निर्माणका लागि साझा संस्थागत प्रयासको खाँचो रहेको बताउँदै आएकोमा यस समझदारीमार्फत त्यो प्रयास औपचारिक रूपमा अघि बढाइएको हो । समझदारीको मुख्य उद्देश्य नेपालमा सूचना प्रविधिको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतामा वृद्धिका लागि नीति निर्माण, लगानी प्रवर्द्धन, नेटवर्किङ, जनसरोकार र सदस्यता अभिवृद्धि जस्ता कार्यहरूलाई साझा रुपमा अगाडि बढाउनु हो । दुवै संस्थाले यी क्षेत्रहरूमा संयुक्त कार्यक्रम, संवाद र पहलमार्फत आईटी इकोसिस्टमलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । नीति निर्माणतर्फ, क्यान र एनसीसीले नेपाल सरकारसँग संयुक्त रुपमा डिजिटल रूपान्तरणका लागि आवश्यक नीति सिफारिस, नियम तथा कार्यान्वयनको खाका प्रस्तुत गर्नेछन् । रचनात्मक नीति संवादका माध्यमबाट निजी क्षेत्रको दृष्टिकोण सरकारसमक्ष पुर्‍याउने उद्देश्य राखिएको छ । लगानी परिचालनका पक्षमा समझदारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्न संयुक्त प्रवर्द्धनात्मक गतिविधिहरू गर्नेछ। नेपाललाई दक्षिण एशियामा एक नवप्रवर्तनशील आईटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । आईटी स्टार्टअप, पेशेवर र व्यवसायहरूबीच सहकार्य तथा ज्ञान आदान–प्रदानको वातावरण सिर्जना गर्न हरेक ६ महिनामा संयुक्तरूपमा फोरम, सम्मेलन तथा प्राविधिक कार्यक्रम आयोजना गरिनेछ । यसले नेटवर्किङको अवसर मात्रै होइन, व्यावसायिक सशक्तिकरणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साझा ब्रान्डिङ र दृश्यता अभिवृद्धिका लागि दुवै संस्थाले एकअर्काको प्रदर्शनी, कार्यक्रम तथा सम्मेलनहरूमा लोगो र पहिचान समावेश गर्ने छन् । यसले संस्थागत सशक्तिकरण र सार्वजनिक संलग्नतालाई नयाँ स्तरमा पुर्‍याउनेछ । साथै, आईटी पेशेवर, उद्यम र नवप्रवर्तनकर्तालाई दुवै संस्थाको सदस्यता लिन प्रेरित गर्ने योजना पनि यो समझदारीले समेटेको छ। सदस्यता लिनेले स्रोत, एक्सपोजर र समुदायको समर्थन प्राप्त गर्न सक्नेछन् । समझदारीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दुवै संस्थाले आ–आफ्नो संयोजक नियुक्त गर्नेछन् । ती संयोजकहरूले कार्यक्रमको योजना, कार्यान्वयन र अनुगमनको जिम्मेवारी लिने छन् । प्रत्येक तीन महिनामा प्रगतिका समीक्षात्मक बैठकहरू आयोजना गरिनेछ । यो समझदारी आजैदेखि तीन वर्षका लागि लागू हुनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिनेछ । डिजिटल अर्थतन्त्रमा नेपालको भविष्य सुरक्षित गर्न यो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्स आईटी समितिबीचको यो रणनीतिक सहकार्यले नेपाललाई नवप्रवर्तन, नीति, लगानी र समावेशी विकासका दृष्टिले एक अग्रणी सूचना प्रविधि राष्ट्र बनाउने दिशामा सशक्त पाइला टेकेको छ ।

नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या, विदेशी नेटवर्क गडबडीले डाटा सेवा प्रभावित

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित भएको छ । मंगलबार राति साढे १ बजेबाट कम्पनीको नेटवर्कमा समस्या देखिएको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको हो । टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरका अनुसार डाटा सेवा प्रभावित हुनुको कारण अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायकको नेटवर्कमा आएको समस्या हो । यसले गर्दा देशभर टेलिकमको इन्टरनेट सेवामा अस्थायी अवरोध आएको हो । कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास जारी रहेको र सेवा यथाशीघ्र पुनःस्थापनाको प्रयास भइरहेको जनाएको छ । अप्रत्याशित रूपमा सिर्जित समस्याका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा याचना गरेको छ ।

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं । बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका छन् । लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताए । उनले पछिल्लो समयमा भएको आर्थिक तथा नीतिगत सुधारहरूको उल्लेख गर्दै नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको छ र जीवन्त आइटी बजार रहेको बताए । राजदूत घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको आइटी सेवा आउटसोर्स गर्न र नेपालमा लगानी गर्न आग्रह गरे । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश लगानी लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए । उनले आइटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको बताउँदै नेपाल र युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको पनि जनाए । ब्रिटिश संसद्मा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल तथा युकेबीच सीधा हवाई सेवा सुरू गर्न आवश्यक रहेको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै नेपालले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए । उनले सातै प्रदेशमा आइटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आइटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत सुनाए । उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड तयार रहेको जनाए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि, डिजिटल सेवाजस्ता उदाउँदो क्षेत्रको रहे तापनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्नसक्ने क्षमता देखाएको बताए । 'हामी संयुक्त लगानी उद्यम, इ–शासन र अन्य साझेदारीका लागि खुला छौँ। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौँ', उनले भने । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी कम्पनी, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै नेपालमा लागत कम र गुणस्तर उच्च रहेको एक दुर्लभ संयोजन उपलब्ध रहेको बताए । उनले नेपालका सबै प्रदेशमा प्रविधिको पूर्वाधार विस्तार गर्दै लैजानुपर्ने जनाए । नेपालका सूचना प्रविधि सम्बन्धी कम्पनीहरूको प्रतिनिधि संस्था, नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब नब्बे हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको र वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको आम्दानी यस क्षेत्रबाट भइरहेको बताए । 'हाम्रो कूल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको चार/पाँच वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौँ', उनले भने । डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डाटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए । उनले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डटा सेन्टरहरू निर्माण गर्न सकिने बताए । कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीइओ नीलेशमान सिंह प्रधान, जेनेस सलुशनका ग्लोबल सिटिओ निरञ्जन कुँवर, बेलायतमा कार्यरत युवा उद्यमी रुवि राउत, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाललगायतले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको बताए । रासस