वर्ल्डलिंकको एकछत्र राज : टेलिकमदेखि डिस मिडियासम्म कसको ग्राहक कति ?

काठमाडौं । ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिस्पर्धामा रहेको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका आधारमा सरकारी कम्पनीलाई समेत उछिन्दै इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । कम्पनीका इन्टरनेट सेवाका ग्राहक संख्या १० लाख ३ हजार ९ सय ४९ पुगेका छन् । घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा दिइरहेको वर्ल्डलिङ्क दुई वर्षअघि विदेशी लगानी समेत भित्र्याएको थियो । जुन नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो । सो कम्पनीले ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी ल्याएको थियो । ग्राहक संख्या आक्रामक तवरले बढाइरहेको वर्ल्डलिङ्कले व्यापार पनि उत्तिकै गरिरहेको छ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४)  मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ७.७० प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ । हाल वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया सहर केन्द्रित छ । ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ । सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ग्राहक संख्या ३ लाख ५१ हजार ९ सय १२ छ ।  नेपाल टेलिकममा सरकारको लगानी पनि छ । सरकारी लगानी भएपनि यो कम्पनी पहिलो बन्न सकेको छैन । नेपाल टेलिकमको वित्तीय अवस्था हेर्ने हो भने सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउनेमा पहिलो स्थानमा देखिन्छ । हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो । यद्यपि सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने पछिल्ला वर्षमा गिरावट आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो ।  अर्को इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन् । यस्तै, सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २ सय ९४ छ भने भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक २ लाख ४५ हजार ९४५ छन् । अर्को इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.को ग्राहक संख्या वैशाख मसान्तसम्म १ लाख ८२ हजार ९ सय ८६ पुगेका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । वेबसर्फरका ग्राहक अहिले १ लाख ७६ हजार ६९ छन भने टेकमाइण्ड्स नेटवर्क प्रा.लि.को ग्राहक ८५ हजार ८ सय ९१ रहेका छन् । त्यस्तै, चौधरी ग्रुपले सञ्चालन गरिरहेको सीजी कम्युनिकेसन लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । सिजिका ग्राहक अहिले ८० हजार ८५४ रहेका छन् भने बजारमा सस्तो नेट दिएको भनेर प्रचार धेरै गर्ने वाइफाइ नेपाल प्रा.लि.ले समेत ७४ हजार २९ ग्राहक बनाइसकेको छ ।  बजेटमा यी १० कम्पनी बाहेक अरुले पनि सेवा दिइरहेका छन् । खासगरी ब्रोडलिंक, फाइबर वल्र्ड कम्युनिकेशन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क लगायतले सेवा दिइरहेका छन् । उनीहरुको ग्राहक संख्या धेरै ठूलो छैन तर पनि आफ्नो उपस्थिति जमाएकै छन् । बजारमा वर्ल्डलिङ्क सहितका दर्जनौं कम्पनीहरूले सेवा दिइरहँदा इन्टरनेटको गुणस्तरीयतामाथि बारम्बार प्रश्न उठ्न गरेको छ । खासगरी इन्टरनेट स्लो चलेको, भनेको भन्दा कम एमबीपीएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । उपभोक्ताले त्यस्ता गुनासाहरू पटकपटक इन्टरनेट कम्पनीलाई गराउँदा समेत चासो नदेखाउने गरेको बताउँदै आएका छन् । नियामक दूरसञ्चार प्राधिकरणले ग्राहकलाई हैरानी दिने सेवाप्रदायकमाथि कारबाही गर्न नसकेकोप्रति पटकपटक प्रश्न समेत उठ्ने गरेको छ । 

एनसेल ‘सधैं अन करोडपति’ योजना सार्वजनिक, १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार

काठमाडौं  । एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैं अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउने कम्पनीले जनाएको छ । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ । त्यसको साथै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ । ‘सधैं अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा-जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ । ग्राहकहरूले *१२३# डायल गरी नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवा लिन सक्छन्।  त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।  ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत *९९९९# डायल गरेर वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ । यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् । कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् । यस योजना अवधिभर प्रत्येकआइतबार साँझ ६:३० देखि ७:०० बजेको समयमा समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ ।

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ ।  टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।  धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए ।  'मुदीमा रहेको बिटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्यचौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो', उनले भने, 'मोबाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदानप्रदानका साथै स्थानीयवासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।' गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुुनसकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो ।  टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर बनाएका छन् । खोरिया क्षेत्रमा एनसेललगायत निजी क्षेत्रका कम्पनीहरूको मोबाइल सेवा उपलब्ध छैन ।