सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसकेको छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे । मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे । विदेशमा रहेका नेपालीको नेपाल बनोस्, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’ सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’ मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ । दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई बोनस डेटा, कल र भिडियो सेवा

काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ ।  एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन् । बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ । 'एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,' एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । 'क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं,' एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ ।  एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँ अनलिमिटेड डेटा, २०० रुपैयाँ कम्बो, २०० रुपैयाँ कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, ५९९ रुपैयाँ होम एन्ड अवे, ५९९ रुपैयाँ होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन् । यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् । जस्तै,  ९९ रुपैयाँ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, ५९९ रुपैयाँ होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ । एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)बाट सुरुभई मंसिर २७ सम्म चल्नेछ । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्ने कम्पनीको विश्वास छ ।

एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्छ ।