पार्वती बनिन् एनसेल करोडपति
काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो !' कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठुलो सङ्घर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । 'मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु', उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् । 'अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ', उनले सुनाइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौँ । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ ।'
मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु
चीन । साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन-एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औं बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ । यही साउन ७ देखि ११ गतेसम्म चल्ने यो सम्मेलनमा विभिन्न मुलुकका ४०० भन्दा बढी बौद्धिक व्यक्तित्व तथा सञ्चार प्रतिनिधिहरू सहभागी छन् । आयोजक पक्षका अनुसार सम्मेलनमा रणनीतिक समन्वय तथा क्षेत्रीय सुरक्षालाई मजबुत बनाउने, विश्वव्यापी चुनौतीको समाधान खोज्ने, साझा समृद्धिका पक्षमा सहयोग र सहकार्य गर्ने, आपसी सम्बन्ध विस्तार गर्ने तथा आ-आफ्ना क्षेत्रमा हासिल गरेका अनुभव आदानप्रदान गर्ने विषयमा छलफल तथा विचारविमर्श हुनेछ । यसैगरी, सामाजिक तथा सांस्कृतिक सभ्यताबीचको ज्ञान र सिकाइबाट लाभान्वित हुने तथा बहुपक्षीय सहकार्य, समानता, न्याय र साझा भविष्य निर्माणको सन्देश प्रवाह गर्ने सन्दर्भमा सम्मेलन केन्द्रित हुनेछ । सो सम्मेलनका क्रममा मुख्य बैठकसहित समानान्तर सत्रहरू, सांस्कृतिक कार्यक्रम र अनुभवको आदानप्रदान, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीसमेत सञ्चालन हुनेछन् । यसैगरी, साझा सहमतिसहित महत्वपूर्ण दस्तावेजहरू सार्वजनिक गरिने भएको छ । जसमा ‘एससीओ मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउ सहमति’ रहेको छ । चिनियाँ दर्शन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा विभिन्न अनुसन्धानात्मक प्रतिवेदनहरुसमेत सम्मेलनका क्रममा सार्वजनिक हुने बताइएको छ । ‘अप होल्डिङ द साङ्घाई स्प्रिट टु बिल्ड अ मोर ब्युटीफूल होम’ भन्ने नारासहित सुरु भएको सो अन्तरराष्ट्रिय सम्मेलनमा नेपालकातर्फबाट राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षले प्रतिनिधित्व गरेका छन् । त्यस्तै, मित्रराष्ट्र चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा जारी सो सम्मेलनमा नेपालका विभिन्न आमसञ्चारमाध्यमका प्रतिनिधि तथा सरकारी अधिकारीहरुसमेत सहभागी छन् ।
एनसेल सधैं अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि
काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्दछ । कम्पनीका अनुसार कर सहित ३९९ रुपैयाँ र सो भन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ । उदाहरणका लागि ३९९ रुपैयाँको सधैं अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरु पाउँछन् । त्यसैगरी यदि विद्यार्थीहरुले रु ५९९ को सधैं अन रिन्युअल लिएमा उनीहरुले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरु पाउँछन्। यो योजना अन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्ने कम्पनीले जनाएको छ । विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधा सहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुशी रहेको एनसेलले जनाएको छ । ‘सधैं अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरुसँग सम्पर्कमा रहि रहन ठूलो भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।