एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् ।  अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।   

युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद  र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।

सिंहदरबारमा सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा रहेका सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको छ । सिंहदरबारको वाइफाइ नेटवर्क प्रयोग गर्दा फेसबुक, ह्वाट्सएप, मेसेंजरलगायतका प्लेटफर्म सहजै खुल्ने गरेका छन् । संसद् सचिवालयका कर्मचारी र सांसदहरूले यसो विगतदेखि नै हुँदै आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेका बेला संसद् भवन नयाँ बानेश्वर बाहिर सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन चर्किएको थियो । त्यही क्रममा गृहमन्त्री रमेश लेखक बैठकस्थलबाट बाहिरिएपछि समिति बैठक स्थगित भएको थियो । बैठकपछि एक सांसदले भने, 'सिंहदरबारमा चल्ने, बाहिर नचल्ने भएपछि नागरिकमा आक्रोश बढ्नु स्वाभाविक हो ।'