चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण प्लान्ट निर्माण गर्न ३९ ट्रिलियन डङ (१.५ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । कृत्रिम बौद्धिकता (एआई) को बढ्दो मागका कारण सिर्जना भएको मेमोरी चिपको विश्वव्यापी अभावलाई कम गर्न प्लान्ट निर्माण गर्न लागेको हो । रोयटर्सले हेरेको कम्पनीको प्रस्तावसम्बन्धी दस्ताबेजले उक्त कुरा देखाएको हो । गत अप्रिलमा स्थानीय अधिकारीहरूलाई पठाइएको र रोयटर्सले समीक्षा गरेको उक्त दस्तावेजअनुसार हनोईभन्दा ६० किलोमिटर (३७ माइल) उत्तरमा रहेको एक औद्योगिक क्षेत्रमा नयाँ कारखानाको निर्माण कार्य सुरु भइसकेको छ । प्लान्ट नोभेम्बर २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यो भियतनाममा सामसङको पहिलो चिप परीक्षण कारखाना हुनेछ । एआई डेटा सेन्टर सञ्चालकहरूबाट मेमोरी चिपको अत्यधिक माग भएका कारण स्मार्टफोन, ल्यापटप र अटोमोबाइलजस्ता उद्योगहरूमा यसको आपूर्तिमा गम्भीर अभाव देखिएको छ । यो पनि पढ्नूहोस् : हुवावेले नयाँ ‘स्मार्टफोन चिप्स’ ल्याउने उक्त दस्तावेजका अनुसार यो कारखानाले विशेष गरी ‘लिगेसी चिप्स’ (पुराना र स्थापित प्रविधिका चिप्स) मा ध्यान केन्द्रित गर्नेछ । यस्ता पुराना प्रविधिका मेमोरी चिप्स एआई आपूर्ति शृङ्खलाका लागि कम महत्त्वपूर्ण भए तापनि प्रमुख उत्पादकहरूले आफ्नो धेरैजसो उत्पादन क्षमता एआई चिप्स निर्माणमा लगाएका कारण यिनको पनि चरम अभाव देखिएको छ । नयाँ स्थानका लागि वातावरणीय अनुमति प्राप्त गर्न पठाइएको प्रस्तावअनुसार यस नयाँ प्लान्टसँग वार्षिक १५३.३ अर्ब गिगाबिट ‘डाइनामिक र्यान्डम– एक्सेस मेमोरी’ (डीआरएएम) चिप्स र थप २५५.६ अर्ब गिगाबिट ‘न्यान (एनएएनडी) मेमोरी चिप्स’ आपूर्ति गर्ने वार्षिक क्षमता हुनेछ । यस परियोजनामा सामसङको लगानीको आकार, उत्पादन क्षमता र उत्पादनको समयतालिकासम्बन्धी विस्तृत विवरणहरू यसअघि सार्वजनिक भएका थिएनन् । सामसङले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । उक्त औद्योगिक क्षेत्र रहेको थाइ नुयेन प्रान्तको पिपुल्स कमिटीले पनि टिप्पणीको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन । भियतनामी अधिकारीहरूले गत मार्चमा यो लगानीलाई स्वीकृति दिएका थिए र दस्ताबेजका अनुसार सामसुङले सम्भावित दोस्रो कारखानाका लागि यस परियोजनाबाट हुने नाफा (यदि भएमा) बाट करिब २.५ अर्ब डलरसम्म पुनः लगानी गर्ने मनसाय राखेको छ । यस कारखानाले आवश्यक सबै अनुमतिहरू पाइसकेको छ कि छैन वा अधिकारीहरूसँग अझै वार्ता भइरहेको छ भन्ने कुरा स्पष्ट छैन । भियतनाममा कम्पनीहरूले प्रायः वातावरणीय अनुमतिको पर्खाइमा रहँदै निर्माण स्थलहरूमा प्रारम्भिक जग खन्ने काम सुरु गर्ने गर्छन् । आफ्नो नाम नखुलाउन चाहने एक जानकार व्यक्तिका अनुसार कम्तीमा पनि अप्रिलदेखि २०० भन्दा बढी सामसङका इन्जिनियर र कर्मचारीहरू यस परियोजनाको निर्माण स्थलमा काम गरिरहेका छन् । रोयटर्सका पत्रकारहरूले यसै साताको भ्रमणका क्रममा निर्माण स्थलमा ठुला निर्माण सवारी साधन र कामदारहरूले काम गरिरहेको देखेका थिए । त्यहाँका एक सुरक्षा गार्डले उक्त स्थानमा सामसङको सेमिकन्डक्टर प्लान्ट बन्ने पुष्टि गरे । यो दक्षिण कोरियाली समूह दशकौंदेखि विभिन्न सुविधाहरूमा २३ अर्ब डलरभन्दा बढी लगानी गर्दै भियतनाममा सबैभन्दा ठुलो विदेशी लगानीकर्ता बनिसकेको छ । यो नयाँ प्लान्ट सामसङ इलेक्ट्रोनिक्सले स्मार्टफोन र ट्याब्लेट उत्पादन गर्ने एउटा ठुलो कम्प्लेक्सको छेउमै निर्माण भइरहेको छ । भियतनाम विश्वव्यापी सेमिकन्डक्टर ‘ब्याक–इन्ड’ (चिप निर्माणको अन्तिम चरणको) उद्योगमा पनि एक प्रमुख खेलाडी हो, जुन चिप फेब्रिकेसन (मूल निर्माण) भन्दा बढी श्रम सघन र कम जटिल हुन्छ । यस देशमा इन्टेल, एमकोर टेक्नोलोजी र हाना माईक्रोन लगायतका धेरै बहुराष्ट्रिय कम्पनीहरूको एसेम्बलिङ, प्याकेजिङ र परीक्षण प्लान्टहरू रहेका छन् । दस्ताबेजले देखाएअनुसार परीक्षण चिप निर्माणको अन्तिम प्रक्रिया हो, जसमा पहिले एसेम्बल र प्याकेज गरिएका सेमिकन्डक्टरहरूलाई ढुवानी गर्नुअघि सम्भावित त्रुटिहरूका लागि जाँच गरिन्छ । अन्य सामग्रीहरू : तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
मुक्तिनाथ विकास बैंकको फाइदा एपमा सेल्फ–रिन्यु सुविधा सुरु
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफूलाई सहज हुने समयमा एपमार्फत सेवा नवीकरण गर्न सक्नेछन् । नवीकरणका लागि प्रयोगकर्ताले एपमा लगइन गरेपछि एक्सपाइरीसम्बन्धी पपअप देखिएमा रिन्यू नाउमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी हेरेर कन्टीनिउ थिची आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था मिलाइएको छ । यसका साथै बैंकले फाइदा एपमार्फत ग्राहकले शाखा नगई आफ्नो केवाईसी विवरण, प्यान, मोबाइल नम्बर तथा इमेल अपडेट गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको जनाएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउने उद्देश्यले यो सुविधा ल्याइएको बैंकले जनाएको छ। फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यस सेवाले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ पहुँचलाई अझ सरल बनाउने विश्वास लिइएको छ ।
हुवावेले नयाँ ‘स्मार्टफोन चिप्स’ ल्याउने
काठमाडौं । अमेरिकी प्रतिबन्धका बावजुद चिनियाँ प्रविधि क्षेत्रको दिग्गज कम्पनी हुवावेले सोमबार उन्नत सेमिकन्डक्टर (चिप) विकास गर्न नयाँ उपाय प्रस्तुत गरेको छ । हुवावेले यसै शरद् ऋतुमा आफ्नो ‘किरिन’ स्मार्टफोन चिप्स उत्पादन गर्न लजिकफोल्डिङ नामक नयाँ इन्जिनियरिङ अवधारणा विकास गरेको बताएको हो । एनभीडीयालाई चीनमा आफ्ना उच्च–स्तरीय चिप्स बिक्री गर्न संघर्ष गर्नु परिरहेको बेला हुवावेले चिप्स ल्याउन लागेको हो । एनभीडीयाले चीनमा अमेरिकी निर्यात प्रतिबन्धको सामना गरिरहेको छ र एप्पलले विश्वकै दोस्रो ठुलो उपभोक्ता अर्थतन्त्र (चीन) मा हुवावेबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । सन् २०२३ मा बजारमा आएको हुवावेको ‘मेट ६०’ स्मार्टफोनमा फाइभजी कनेक्टिभिटी थियो, जुन एउटा उन्नत चिपद्वारा सञ्चालित थियो । यसले कम्पनीलाई एप्पलबाट आफ्नो बजार हिस्सा फिर्ता लिन मद्दत गरेको थियो । अमेरिकी प्रतिबन्धका कारण एनभीडीयाले हालका वर्षहरूमा आफ्ना सबैभन्दा उन्नत चिप्स चीनमा बिक्री गर्न पाएको छैन, जसले गर्दा बेइजिङले आफ्नै देशमा उत्पादित प्रविधिलाई सहयोग गर्न जोड दिएको छ । गत हप्ता एनभीडीयाका सीईओ जेन्सेन हुआङले सीएनबीसीलाई अमेरिकी चिप निर्माता कम्पनीले चिनियाँ बजार हुवावेका लागि ‘छोडिदिएको’ बताएका थिए । ‘एनभीडीयाका लागि यसको अर्थ चीनमा ‘एच २००’ जस्ता उन्नत चिप्स बिक्री गर्ने अवसर साँघुरो हुँदै गइरहेको छ,’ द एसिया ग्रुपका पार्टनर तथा डिजिटल प्राक्टिसका सह–अध्यक्ष जर्ज चेनले भने । ‘यो मार्गले वासिङ्टनमा चिन्ता अझ बढाउने सम्भावना छ, जहाँ हुवावे अझै पनि अमेरिकी निर्यात प्रतिबन्धको मुख्य प्रतीक बनेको छ,’ उनले थपे । हुवावेले सन् २०३१ सम्ममा आफ्नो नयाँ चिप प्रविधिले १.४ नानोमिटर प्रोसेस प्रविधि सरहको क्षमता प्रदान गर्न सक्ने बताएको छ । जबकि विश्वको अग्रणी चिप निर्माता कम्पनी टीएसएमसीले २ नेनोमिटर चिप्सको ठुलो परिमाणमा उत्पादन सुरु गरिसकेको छ । नेनोमिटर प्रोसेसले चिप उत्पादन प्रविधिलाई जनाउँछ, जसमा साना नोड्सले सामान्यतया छिटो र बढी प्रभावकारी सेमिकन्डक्टरहरू बनाउन सक्षम बनाउँछन् । डीजीए ग्रुपका एसिया र अमेरिका प्रविधि प्रमुख पल ट्रिओलो भने हुवावेको १.४ नेनोमिटरको दाबीप्रति शंका व्यक्त गर्छन् । ‘स्ट्याक्ड वा फोल्डेड (एउटामाथि अर्को खप्ट्याइएको) डिजाइनले प्रभावकारी रूपमा डेन्सिटी (घनत्व) बढाउन सक्छ, तर यसको अर्थ हुवावेले वास्तविक १.४ नेनोमिटर–क्लास उत्पादनसँग जोडिएका सम्पूर्ण प्रक्रिया, उत्पादन दर, पावर, थर्मल (ताप) र डिभाइसको कार्यक्षमता सम्बन्धी समस्याहरू हल गरिसक्यो भन्ने होइन,’ उनले भने । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान उपाध्यक्ष नील शाहका अनुसार डच चिप उपकरण निर्माता एएसएमएलबाट उन्नत ‘एक्सट्रिम अल्ट्राभायोलेट’ (ईयूभी) लिथोग्राफी मेसिनहरू प्राप्त गर्नबाट रोकिएपछि हुवावे एआई क्षेत्रमा प्रतिस्पर्धी रहन चिप विकासका वैकल्पिक उपायहरू खोज्न बाध्य भएको छ । ‘तर, यो समानान्तर सेमिकन्डक्टर माध्यम अझै प्रमाणित हुन बाँकी छ । यो अवधारणाले कडा थर्मल अवरोधहरू र प्याकेजिङका जटिलताहरू निम्त्याउन सक्छ, जसले उत्पादन दरलाई असर गर्न सक्छ,’ शाहले भने । यसै शरद् ऋतुमा आफ्नो प्रमुख ‘मेट ९०’ स्मार्टफोन सिरिजमा यो प्रविधि प्रयोग गर्ने हुवावेको प्रयास एउटा ठुलो इन्जिनियरिङ सफलता हुनेछ । तर यसलाई एआई डाटा सेन्टरहरूमा विस्तार गर्नु नै ‘पश्चिमा प्रतिबन्धहरू विरुद्ध चीनको रचनात्मक वैकल्पिक उपायको वास्तविक अग्निपरीक्षा’ हुने उनको भनाइ छ । हुवावेको सेमिकन्डक्टर व्यवसायकी अध्यक्ष तिङ्बो हेका अनुसार हुवावेको नयाँ चिप आर्किटेक्चरले यसको लेआउटलाई एक तहबाट दुई तहमा विस्तार गर्छ, जसले ऊर्जा दक्षतालाई उल्लेखनीय रूपमा बढाउँछ । ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स’ को ‘इन्टरनेसनल सिम्पोजियम अन सर्किट्स एन्ड सिस्टम्स’ मा बोल्दै कम्पनीको वैज्ञानिक समितिकी निर्देशकसमेत रहेकी टिङ्बो हेले यो संरचनाले ट्रान्जिस्टरहरूलाई धेरै बिन्दुहरूमा एकअर्कासँग अन्तरक्रिया गर्न अनुमति दिने बताइन् । यद्यपि उनले चुनौतीहरू अझै बाँकी रहेको स्वीकार गरिन् किनकि हुवावेले यो नयाँ प्रविधिका लागि एक दशक लामो विकासको मार्ग भर्खरै सुरु मात्र गरेको छ ।