शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
सिराहा । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ । यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ । लाहानचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ । यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, 'लाहानमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज महसुस गर्ने छन् । टेलिडाइरेक्ट प्रालिसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।' लाहानस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता, युरोपबाट सजिलै रकम पठाउन सकिने
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउन स्मार्ट पेसँग सहकार्य गर्दै रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीहरुले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवाहरू मार्फत बैंकमा सजिलै रेमिट गर्न सक्नेछन् । पठाइएको रकम नेपालभित्र बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । साथै, स्मार्ट पे र माछापुच्छ्रे बैंक मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।
टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।