एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै
काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ । यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यसका लागि नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्यमा क्रिएटर्स मेला आयोजना हुन लागेको हो । यो वर्षको क्रिएटर्स मेला भोलि (२०८२ माघ ३) चितवनबाट सुरु हुँदैछ । त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुनेछ । सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ । ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ । विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ । क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ । क्रिएटरहरूलेस् ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ । प्रतिस्पर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर #CreateGaraPostGara ह्यासट्याग अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ । मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक विजयी प्रतिशपर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्। सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५ हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन् । यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ । मेलामा विभिन्न सत्रहरू हुनेछन् । कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्रदेखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्श क्रिएटर्स मेलामा हुनेछ। कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रालाई विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिनेछ । स्थापित क्रिएटरहरूले तयार पारेको सामाग्री देखि प्रस्तुति, दर्शकहरूको सङ्ख्यामा देखिएको वृद्धि, क्रिएटरको पहिचान र भिजिबिलिटी देखि प्रभावसम्मको यात्रा अनि दीर्घकालीन व्यावसायिक विकाससम्मका विषयवस्तु पनि उक्त कार्यक्रममा समेटिने छ ।
हप्तामा १० घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सहभागीहरूलाई निम्न (०–५ घण्टा प्रति हप्ता) मध्यम (५–१० घण्टा) र उच्च (१० घण्टा भन्दा) बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो । शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरुमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घण्टा भन्दा बढी भिडीयो गेम खेल खेल्नेहरूमा आहार, निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् । हप्तामा दश घण्टा भन्दा बढी तथा अत्यधिक भिडीयो गेम युवाहरुको लागि आनिकारक भएको कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताएका छन् । विद्यार्थीहरूले हप्तामा १० घण्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउदै सिर्भोले १०–घण्टाको सीमाभन्दा बढी खेल्नेहरुमा स्पष्ट भिन्नताहरू देखा परेको बताएका छन् । हप्तामा १० घण्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरुमा सामान्य भएको अध्ययनले देखाएको छ । सबै अध्ययन समूहहरूले धेरै गेम गेल्नेहरुमा सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घण्टा भन्दा बढी खेल्नेहरुमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् । अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिदै राती अवेर सम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ । रासस
मोबाइलमा आपत्तिजनक एसएमएस पठाउनेलाई कारबाही गरिने : टेलिकम
काठमाडौं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिस (भिएएस) सेवा अन्तर्गत केही सेवा प्रदायकमार्फत आपत्तिजनक प्रकृतिका एसएमएसहरू मोबाइल प्रयोगकर्ताको नम्बरमा पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमका अनुसार भिएएस सेवा अन्तर्गत विभिन्न सूचना तथा सन्देश एसएमएसमार्फत पठाइने व्यवस्था भए पनि हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसायको सीमाभन्दा बाहिर गएर जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्भावमा खलल पुर्याउने खालका सन्देश प्रवाह गरेको गुनासो प्राप्त भएको छ । नेपाल टेलिकमले यस्ता सन्देश प्रवाह नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई सचेत गराइसकेको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा निगरानी तथा नियन्त्रण गरिने स्पष्ट पारेको छ । साथै, सबै भिएएस सेवा प्रदायकलाई यस्ता सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा नपठाउन निर्देशन दिइएको छ । यदि यस्ता गतिविधि पुनः दोहोरिए सम्झौताअनुसार सम्बन्धित सेवा प्रदायकसँगको सम्झौता खारेज गर्नेसम्मको कारबाही गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कुनै पनि सेवा प्रदायकलाई ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण उपलब्ध नगराएको स्पष्ट गर्दै, ग्राहकको गोपनीयताप्रति आफू सधैं संवेदनशील र प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ ।