बजारमा दुई दर्जन इन्टरनेट कम्पनी, कसको वर्चस्व कति ?

काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वर्ल्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  प्राधिकरणकाअनुसार असोजसम्ममा बजार हिस्साको  हिसाबले वर्ल्डलिंकका सबैभन्दा ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिंक पछिको डिस होम हो । डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्याएको छ । बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् । यस्तै बजार हिस्साको हिसाबले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ ।  इन्टरनेट कम्पनीहरूले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरूले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरू गर्ने गरेका छन् । 

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।     महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् ।      'निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्', उनी भन्छन् ।      अव्यवस्थित रत्नापार्कलाई काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।      काठमाडौं महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो । रत्नपार्क भित्र छिर्नका लागि हाल विद्यार्थीलाई २० रुपैयाँ, सर्वसाधारणलाई ३० रुपैयाँ र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई १०० रुपैयाँ लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले १०० रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि ५०० रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार ५०० रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले १०० रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक ५० लाख रुपैयाँदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउँछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।      ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा १८ लाख १४ हजार ४१० रुपैयाँ राजस्व संकलन गरेको छ ।      महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क दुई हजार ६०० रुपैयाँ, व्यवसायिक रिलवापत रु एक हजार ५०० रुपैयाँ, सर्वसाधारण प्रवेश शुल्क १४ लाख ६० हजार ६१० रुपैयाँ, विद्यार्थी प्रवेश शुल्क दुई लाख ५७ हजार रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत सात हजार रुपैयाँ, पर्यटक प्रवेश शुल्कवापत ७१ हजार ५०० रुपैयाँ, ड्राइफुड पिकनिकवापत चार हजार २०० रुपैयाँ, चलचित्र सुटिङवापत १० हजार रुपैयाँ आम्दानी गरेको छ ।      रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन्  ।      रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।      उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउँछन् । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । रासस  

सोशल मिडिया प्रतिबन्धले बालबालिकालाई जोखिममा पार्ने युट्युबको चेतावनी

काठमाडौं । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ । अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, 'यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।' युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् ।  लर्डले भने, 'हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।' युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन ।  अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने, 'यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।' विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् ।  अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ । रासस