स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न, दुई नवीनतम सेवा थप
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी- युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे । वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे । स्मार्ट क्यूआर साउन्डबक् स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् । स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डमार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्। साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसनलगायतका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।
रुसले आफ्नो सेवा रोक्ने प्रयास गरिरहेको ह्याट्सएपको दाबी
काठमाडौं । ह्याट्सएप रुसले आफ्ना सेवाहरू रोक्ने प्रयास गरिरहेको जनाएको छ । उसले आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चारको सुविधा प्रदान गरेको भन्दै सेवा रोक्ने प्रयास गरेको जनाएको हो । कम्पनीले रुससहित संसारभरका प्रयोगकर्ताहरूका लागि इन्क्रिप्टेड सेवाहरू उपलब्ध गराउने हरसम्भव प्रयास जारी राख्ने जनाएको छ । कम्पनीका अनुसार युक्रेनमाथि आक्रमणपछि रुसले कडा कानुन लागू गरेको छ, जसअन्तर्गत युद्धको आलोचना गर्ने मानिसलाई जेल हालिन सक्छ । यस्तो अवस्थामा ह्वाट्सएप एउटा महत्त्वपूर्ण सञ्चारमाध्यम बनेको छ । बुधबार रुसी अधिकारीहरूले ह्वाट्सएप र टेलिग्राममा भ्वाइस कल रोक लगाउने घोषणा गरेका छन् । रुसी अधिकारीहरूको भनाइमा यी सेवाहरूको प्रयोग ठगी, जबरजस्ती रकम असुल्न र रुसी नागरिकहरूलाई हिंसात्मक गतिविधिमा संलग्न गराउन भइरहेको छ ।
चीनमा एआई चिप्स प्रयोगमा रोक, अमेरिकी कम्पनीहरू संकटमा
काठमाडौं । चिनियाँ सरकारले हालै आफ्ना सरकारी निकाय र राष्ट्रिय सुरक्षा सम्बन्धी परियोजनामा अमेरिकी चिप निर्माता एनभीडीया र एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी) का चिप्स प्रयोग नगर्न औपचारिक रूपमा आग्रह गरेको छ । ब्लूमबर्गका अनुसार यो निर्देशन विशेषगरी एनभीडीयाको एचटुओ र एएमडीको एमआई ३८० चिप्स लक्षित गर्दै गरिएको हो, जसलाई अमेरिकाले लगाएका प्रतिबन्धलाई छल्न विशेष डिजाइन गरिएको थियो । यो कदम त्यतिबेला आएको हो जब एनभीडीयाले हालै मात्र कम क्षमताको एचटुओ चिप चीनमा पठाउन अमेरिकी सरकारबाट अनुमति पाएको थियो । तर चिनियाँ अधिकारीहरूले यसलाई ‘सुरक्षा दृष्टिले जोखिमपूर्ण’ भन्दै रोक लगाउन थालेका छन्। सन् २०२२ देखि अमेरिका र चीनबीच प्रविधि क्षेत्रमा तीब्र बढ्दै गएको छ। अमेरिकी सरकारको दाबी अनुसार चीनले अत्याधुनिक एआई चिप्सलाई सैन्य प्रविधि, उन्नत निगरानी प्रणाली र साइबर युद्ध क्षमतामा प्रयोग गर्ने सम्भावना उच्च छ । यसै कारण ए १००, एच १०० जस्ता उच्चस्तरीय एनभिडिया चिप्स र समान स्तरका एएमडी उत्पादनहरू चीनमा पूर्ण प्रतिबन्धित गरिएको हो । यी प्रतिबन्धपछि दुवै कम्पनीहरूले चीनको बजार गुमाउन नदिने रणनीति अपनाउँदै प्रदर्शनमा कटौती गरिएका ‘स्पेशल एडिशन’ चिप्स (जस्तै एचटुओ र एमआई ३८०) विकास गरे । तर अब चीन आफैले यी चिप्सलाई पनि हटाउने संकेत दिएको छ, जुन अमेरिकी कदमको प्रतिउत्तर मात्र नभई आफ्नो प्रविधि आत्मनिर्भरता रणनीतिको हिस्सा पनि हो । चीनले पछिल्ला वर्षहरूमा ‘मेड इन चाइना– २०२५’ र ‘नेक्स्ट जेनेरेसन एआई डेभलपमेन्ट प्लान’ जस्ता योजनामार्फत घरेलु प्रविधि विकासमा ठूलो लगानी गर्दै आएको छ । यस रणनीताअन्तर्गत चीनले आफ्नो सेमीकन्डक्टर उद्योगमा अर्बौं डलरको अनुदान प्रवाह गरिरहेको छ । एसएमआईसी (सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प) जस्ता कम्पनीहरूले हाल उच्चस्तरीय चिप उत्पादन क्षमतामा प्रगति गरेका छन् । घरेलु जीपीयू निर्माता बीरेन टेक्नोलोजी र मोर थ्रेडले एनभिडिया र एएमडीसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेका छन् । सरकारको लक्ष्य २०३० भित्र ७० प्रतिशतभन्दा बढी सेमीकन्डक्टर माग घरेलु उत्पादनबाट पुरा गर्ने रहेको छ । यसैले अमेरिकी चिप्स हटाउने निर्णय केवल सुरक्षा कारण नभई स्थानीय उद्योगलाई प्रोत्साहन दिने कदम पनि हो। चीन एनभीडीया र एएमडी दुवैको लागि अत्यन्त महत्त्वपूर्ण बजार हो । एनभीडीयाका सीईओ जेन्सेन हुयाङका अनुसार आगामी २–३ वर्षभित्र चीनको एआई बजार ५० अर्ब अमेरिकी डलर पुग्नेछ । यस बजारबाट बाहिरिनु कम्पनीका लागि ठूलो घाटा हुनेछ । गत सोमबार ह्वाइट हाउसले दुवै कम्पनीले चीनबाट हुने आफ्नो आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई बुझाउने सहमति जनाएको पुष्टि गरेको थियो, जसले यस विवादलाई थप राजनीतिक बनाएको छ । सोमबारै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभीडीयाको एचटुओ चिपलाई‘पुरानो’ भनेका थिए र चीनलाई उच्चस्तरीय ब्ल्याकवेल चिप्स पठाउन अनुमति नदिने चेतावनी दिएका थिए । ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास