डिशहोम र लेक साइड रिट्रिबीच साझेदारी, ग्राहकलाई आवास र खानेकुरामा छुट
काठमाडौं । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग साझेदारी गरेको छ । यस सहकार्यमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास र फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुटको सुविधा पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दै आएको छ । यस साझेदारीसँगै डिशहोमका ग्राहकले यहाँको भ्रमणलाई अझ किफायती र स्मरणीय बनाउन सक्नेछन् । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकन क्लिक गरी प्राप्त कार्ड देखाएर छुट लिन सकिन्छ । डिशहोमका अनुसार यो सहकार्य केवल इन्टरनेट वा टेलिभिजन सेवाभन्दा बाहिरका जीवनशैलीका फाइदा, बचत र अनुभव ग्राहकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धताको हिस्सा हो ।
फ्युचरामा २०२५ सम्पन्न : तीन दिनमा ३५ सय भन्दा बढी युवाको प्रविधि यात्रामा सहभागिता
काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा आयोजना गरेको तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ साउन २१ देखि २३ गतेसम्म कलेज परिसरमा सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधन मोडल, रोबोटिक सहायक, कृषक तथा विभिन्न एनिमेशन अनुभवहरूले दर्शकको विशेष ध्यान खिचे । साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला पनि आयोजना गरिएको थियो । मुख्य समन्वयकर्ता अनिशा आचार्यका अनुसार, फ्युचरामाले प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दै आत्मविश्वास, नवीनता र उद्यमशीलताको सोच विकास गर्न मद्दत पुर्याएको छ । कार्यक्रमको अन्तिम दिनमा ‘कफी रेभ’ आयोजना गरिएको थियो । तीन दिनको अवधिमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, फ्युचरामा २०२५ अन्य प्रमुख शहरहरूमा पनि आयोजना गरिनेछ, जसले देशभरका युवामा प्रविधिप्रतिको सहभागिता र नवीनताको चेतना फैलाउने लक्ष्य राखेको छ ।
४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने कम्पनी एनभीडीयाले दिनदिनै नयाँ इतिहास बनाउँदै छ । ४ ट्रिलियन डलरको बजार पूँजीकरण (मार्केट क्याप) बनाई विश्वको पहिलो कम्पनी बनेपछि यस कम्पनीले अर्को नयाँ रेकर्ड कायम गरेको हो । अमेरिकाको एसएन्डपी ५०० इन्डेक्समा एनभीडीयाको हिस्सेदारी ८ प्रतिशत पुगेको छ । अमेरिकामा सन् १९८१ मा यस किसिमको रेकर्ड राख्न सुरु भएको थियो यद्यपि अहिलेसम्म कुनै कम्पनी यो स्तरमा पुग्न सकेको थिएनन् । जसरी एनभीडीयाको सेयर बढिरहेको छ त्यसले देखाउँछ कि आगामी दिनहरूमा यो कम्पनीले धेरै नयाँ रेकर्डहरू बनाउन सक्छ । एनभीडीयाको बजार पूँजीकरण अहिले ४.४५५ ट्रिलियन डलर पुगेको छ । अमेरिकाको इतिहासमा यसअघि केवल एक कम्पनी मात्र एसएन्डपी ५०० इन्डेक्समा ७ प्रतिशतभन्दा माथि पुगेको थियो । आइफोन बनाउने कम्पनी एप्पलले सन् २०२३ मा यो उपलब्धि हासिल गरेको थियो । २००० को डट-कम बबलको समयमा समेत कुनै कम्पनीले यसरी एसएन्डपी ५०० इन्डेक्समा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । सन् १९९९ मा माइक्रोसफ्टको र सन् २००० मा जनरल इलेक्ट्रिकको हिस्सेदारी ४ प्रतिशत थियो भने सन् १९८४ मा आईबीएमको हिस्सेदारी ६ प्रतिशत थियो । विशेषज्ञहरूका अनुसार अहिले विश्वमा एआई क्रान्तिको सुरुवात मात्र भएको छ । आगामी दिनहरूमा जसरी विश्वमा एआईको प्रयोग बढ्नेछ, त्यसैगरी एनभीडीया र चिप निर्माण गर्ने अन्य कम्पनीहरूको सेयरमा पनि तीव्र वृद्धि हुनेछ । विज्ञहरू आगामी दुई वर्षमा एनभीडीयाको सेयर ३०० डलरसम्म पुग्न सक्ने बताउँछन् । केही महिनामै कम्पनीको सेयरमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर थियो भने अहिले यो करिब १८३ डलरसम्म पुगेको छ । एनभीडीया सन् १९९३ मा अमेरिकामा स्थापना भएको एक प्रख्यात टेक कम्पनी हो जसको सुरुवाती उद्देश्य कम्प्युटर ग्राफिक्सका लागि उच्च प्रदर्शनका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गर्नु थियो । समयसँगै यसको प्रविधि केवल गेमिङ र ग्राफिक्ससम्म सीमित रहेन बरु वैज्ञानिक अनुसन्धान, डेटा सेन्टर, स्वचालित सवारीसाधन र हालको एआई क्रान्तिको मेरुदण्ड बन्न पुग्यो । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ हुन् । उनी कम्पनीका सह-संस्थापक पनि हुन् । उनले प्राविधिक क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका हुआङ ९ वर्षको उमेरमा अमेरिका पुगेका थिए । बाल्यकालमा होटलमा वेटर र विद्यालयमा क्लीनरको काम गर्दै उनले पढाइ जारी राखे । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युत इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । सन् १९९३ मा क्रिस मलाचोव्स्की र कर्टिस प्राइमसँग मिलेर हुआङले एनभीडीया स्थापना गरेका थिए । प्रारम्भिक संघर्षपछि कम्पनीले सन् १९९९ मा ‘जिफोर्स २५६’ बजारमा ल्याउँदै जीपीयू प्रविधिमा क्रान्ति ल्याएको थियो । कालो लेदरको ज्याकेट लगाइ सार्वजनिक कार्यक्रममा उपस्थित हुने हुआङलाई उद्योग विश्लेषकहरूले ‘एआई युगको प्रमुख पात्र’ का रूपमा व्याख्या गर्छन् ।