रास्वपा सभापति लामिछानेको फेसबुक पेज ह्याक

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार (आज) बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाउनका लागि पटक–पटक ह्याक गर्ने प्रयास भएको जानकारी दिइएको हो ।  उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई यो फेसबुक पेज मेटाद्वारा ’लक’ गरिएको सचिवालयले जानकारी दिएको छ । ‘पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र हाम्रो नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन्,’ सचिवालयले भनेको छ । सचिवालयले भनेको छ, ‘यदि उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्नुहोला ।’  फेसबुकको सुरक्षा प्रक्रिया अनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ । आधिकारिक जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन पनि सचिवालयले जानकारी दिएको छ ।    

हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

काठमाडौं ।  नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो ।  'नेपालीका लागि, नेपालीद्वारा निर्मित' भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ ।  एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार ‘ठीकठाक’ मा प्रयोगकर्ताले राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ ।  महिनाकै उत्कृष्ट क्रिएटरले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । यस व्यवस्थाले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । हजुर एआईले सामाजिक सञ्जालसँगै अन्य विभिन्न सुविधा पनि समेटेको छ । ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट उपलब्ध हुनेछ, जसले अध्ययन, जानकारी तथा सामान्य परामर्शमा सहयोग गर्ने बताइएको छ । त्यस्तै, भाषा सिकाइ सम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ ‘प्राणायाम’ फिचर समावेश गरिएको छ, जसले नेपाली भाषामै ध्यान तथा श्वासप्रश्वास सम्बन्धी अभ्यास सिकाउनेछ ।   मनोरञ्जनका लागि समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज डिजिटल अनुभव दिने लक्ष्य राखिएको छ । लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ । 

टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ । एउटै सन्देश धेरै व्यक्तिलाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले यस सेवा उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा समेत सूचनामूलक सन्देश छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न यो सेवा उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । सेवा अन्तर्गत १ हजार २४३ रुपैयाँमा २ हजार एसएमएस, ३ हजार १०८ रुपैयाँमा ५ हजार एसएमएस र ६ हजार २१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड आवश्यक पर्नेछ । साथै, प्रेषित सन्देशको विषयवस्तु, शब्द र भावसम्बन्धी पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुनेछ । यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिनेछ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ । कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले सेवा सम्बन्धी उक्त जानकारी सार्वजनिक गरेका हुन् ।