एनटीसीको बिलिङ ठेक्का विवाद : पूर्वसचिव गेलालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियालाई लिएर पछिल्ला दिनमा उत्पन्न विवाद चुलिँदै गएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार (आज) ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । मन्त्रालयका अनुसार पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । यस समितिले नेपाल टेलिकमको बिलिङ ठेक्कासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया प्रस्ताव मूल्याङ्कनदेखि ठेक्का वितरणसम्मका हरेक पक्षमा गहिरो अध्ययन गर्ने बताइएको छ । उक्त समितिका सदस्यहरूमा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरी सहित सहसचिवहरू कृष्ण पन्त, आदेश खड्का, राजेश थापा रहेका छन् । यसैगरी, नेपाल टेलिकमबाट कमल लामिछाने र दुर सन्चार प्राधिकरणबाट प्रदीप पौडेल सदस्य रहेका छन् । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीको ठेक्का प्रक्रियामा पारदर्शिता नहुँदा र केही ठेकेदार कम्पनीहरूबीच असमान प्रतिस्पर्धाको आरोप लगिँदै आएको छ । केही प्रस्तावक कम्पनीहरूले मूल्याङ्कनमा असामान्य अंक विभाजन भएको दाबी गर्दै प्रक्रिया रोक्न माग गर्दै आएका थिए । नेपाल टेलिकमका भित्रका केही उच्च अधिकारीहरू र कर्मचारी संघहरूले पनि ठेक्का प्रक्रिया एकपक्षीय भएको आरोप लगाएका छन्। । कतिपयले मन्त्रालयको प्रत्यक्ष संलग्नता रहेको भन्दै छानबिन समिति गठनलाई स्वागत गरेका छन् । एनटीसीको बिलिङ ठेक्कामा नयाँ ‘ट्वीष्ट’, ह्वेल क्लाउडको पुर्नमूल्यांकन गर्न मन्त्री खरेलको निर्देशन  

एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !

काठमाडौं । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा अचम्मलाग्दो रूपमा बढ्दो लगानी गरिरहेका बेला तिनीहरूको डिजिटल विज्ञापन व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो हप्ताका त्रैमासिक नतिजा विवरणहरूले मेटा, अमेजन, अल्फाबेट र माइक्रोसफ्ट सबैले विज्ञापनबाट उल्लेख्य आम्दानी गरेको देखाएका छन् । अनलाइन विज्ञापन बिक्रीमा भएको वृद्धि यस वर्षको सुरुवातमा देखिएका चिन्ताहरूलाई कम गरेको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले बढाएको आर्थिक अस्थिरताले विज्ञापन बजेटमा नकारात्मक असर पार्ने आशंका गरिएको थियो । ‘मलाई लाग्छ डिजिटल विज्ञापन बजार बलियो छ,’ स्केलेबल नामक क्रिएटर इकनमी मिडिया फर्मकी सह–संस्थापक जस्मिन एनबर्ग भन्छिन्, ‘आर्थिक अस्थिरता र उतारचढाव अहिले धेरैका लागि सामान्यजस्तै भइसकेको छ, मानौं यो नै नयाँ सामान्य अवस्था हो ।’ यस त्रैमासमा मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विज्ञापन आम्दानी वृद्धिमा अग्रता हासिल गर्यो । मेटाको कुल तेस्रो त्रैमासिक आम्दानी जसको ९८ प्रतिशत अनलाइन विज्ञापनबाट आउँछ, गत वर्षको तुलनामा २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको छ । जुन सन् २०२४ को पहिलो त्रैमासपछि कम्पनीको सबैभन्दा उच्च बिक्री हो । अमेजनको अनलाइन विज्ञापन इकाइको आम्दानी पनि वर्षको तुलनामा २४ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ, जुन कम्पनीको एडब्ल्यूएस क्लाउड कम्प्युटिङ इकाइको २० प्रतिशत वृद्धिभन्दा बढी दर हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले अमेजनको आय कलमा बताएअनुसार कम्पनीले आफ्नो विज्ञापन(केन्द्रित डिमान्ड–साइड प्लेटफर्म (डीएसपी) लाई थप तेस्रो पक्षका एप्स र साइटहरूमा विस्तार गरिरहेको छ । ‘हामीले गरेका केही साझेदारीहरू हेर्दा रोकुसँगको साझेदारीले हामीलाई अमेरिकाको सबैभन्दा ठूलो ‘कनेक्टेड टिभी’ नेटवर्क दियो,’ ज्यासीले भने,’ र त्यसमा थप्दै हामीले हालै नेटफ्लिक्स, स्पोटिफाई र सिरियसएक्सएमका विज्ञापन सूचीहरूसँग हाम्रो डीएसपी ग्राहकहरूलाई एकीकृत हुने अवसर दिएका छौं । यो निकै शक्तिशाली संयोजन हो ।’ अल्फाबेटको तेस्रो त्रैमासिक विज्ञापन आम्दानी १३ प्रतिशतले बढेर ७४.१८ अर्ब डलर पुगेको छ । युट्युबको अनलाइन विज्ञापन आम्दानी १५ प्रतिशत बढेर १०.२६ अर्ब डलर पुगेको छ । माइक्रोसफ्टको सर्च र न्युज विज्ञापन इकाइले कम्पनीको आर्थिक पहिलो त्रैमासमा ३.७ अर्ब डलर आम्दानी र्गयो जुन गत वर्षको ३.२ अर्ब डलरभन्दा १४ प्रतिशत बढी हो । इमार्केटरका वरिष्ठ निर्देशक जेरेमी गोल्डम्यानका अनुसार आर्थिक अनिश्चितताका कारण केही कम्पनीहरूले विज्ञापन बजेट घटाए पनि सम्भवतः उनीहरूले पत्रपत्रिका जस्ता परम्परागत माध्यमहरूबाट बजेट सारेर डिजिटल विज्ञापन प्लेटफर्महरूमा लगानी गरेका छन्। ‘मलाई लाग्छ यो स्पष्ट निर्णय हो,’ गोल्डम्यानले भने, ‘तपाईंको पैसा सामाजिक सञ्जालमा, खुद्रा विज्ञापनमा र सर्च विज्ञापनमा लगाउनु नै बुद्धिमानीको कुरा हो ।’ यस हप्तामा ठूला कम्पनीहरू मात्र होइन अन्य पनि अनलाइन विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि देखिए । रेडिटले बिहीबार तेस्रो त्रैमासिक आम्दानीमा ६८ प्रतिशत वृद्धिको घोषणा गर्‍यो जुन  विश्लेषकहरूको अनुमानभन्दा बढी थियो । कम्पनीका अनुसार विश्वव्यापी दैनिक सक्रिय प्रयोगकर्ता १९ प्रतिशत बढेर ११६ मिलियन पुगे, जुन अनुमानित ११४ मिलियनभन्दा माथि हो । स्न्याप र पिन्टरेस्टले आफ्नो परिणाम अर्को हप्तामा सार्वजनिक गर्नेछन् ।  एआईमा ठूला लगानी यी प्रविधि कम्पनीहरूले स्पष्ट रूपमा देखाएका छन् कि उनीहरूले एआईमा लगानी घटाउने कुनै कारण देख्दैनन् बरु पूँजीगत खर्च अझ बढाउने घोषणा गरेका छन् — एआई ‘बबल’ को चिन्ताबीच पनि । अल्फाबेट, मेटा, अमेजन र माइक्रोसफ्टले संयुक्त रूपमा यस वर्ष ३८० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् जुन ओपनएआईले हालै एनभीडीया, ओरेकल र ब्रोडकमसँग गरेको करिब १ ट्रिलियन डलरको डेटा सेन्टर र क्लाउड सम्झौताभन्दा सानो हो । तर लगानीकर्ताहरू अमेजन र गूगलप्रति सकारात्मक भए पनि माइक्रोसफ्ट र विशेष गरी मेटाप्रति त्यति उत्साहित देखिएनन् । मेटाको सेयर बिहीबार ११ प्रतिशत घट्यो जब कम्पनीले पूँजीगत खर्चको न्यूनतम सीमा ६६ अर्ब–७२ अर्ब डलरको दायराबाट बढाएर ७० अर्ब–७२ अर्ब डलर बनाउने घोषणा गर्‍यो । ओपेनहाइमरका विश्लेषकहरूले मेटाको सेयरलाई ‘बाय’ बाट घटाएर ‘होल्ड’ मा राखे किनभने उनीहरूको भनाइमा मेटाले गरेको एआई लगानीले क्लाउड सेवा चलाउने प्रतिस्पर्धीहरूको जस्तै प्रत्यक्ष लाभ दिने कुनै स्पष्ट संकेत देखाएको छैन । ‘अज्ञात आम्दानी स्रोतहरूबीचको सुपरइन्टेलिजेन्समा ठूलो लगानी सन् २०२१/२०२२ को मेटाभर्स खर्चजस्तै देखिन्छ,’ विश्लेषकहरूले लेखेका छन् । उनीहरूले मेटाको सुपरइन्टेलिजेन्स ल्याब्समा भइरहेको एआई लगानीको तुलना कम्पनीको घाटामा गएको रियालिटी ल्याब्स (भीआररएआरप्रविधि) सँग गरे । मेटाकी वित्त प्रमुख सुसान लीले बुधबारको ‘अर्निङ कल’ मा भनिन्, ‘एआईसम्बन्धी डेटा सेन्टर र तेस्रो पक्षका क्लाउड सेवामा लगानी नगरे कम्पनी पछि पर्न सक्छ ।’ उनले सीईओ मार्क जुकरबर्गको भनाइ दोहोर्याउँदै थपिन्, ‘कम्पनीको उच्चतम प्राथमिकता एआईमा नेतृत्व लिने उद्देश्यले स्रोतहरू लगानी गर्नु हो । त्यसैले नजिकिँदै गरेको अवधिमा हाम्रो नाफामा केही उतारचढाव देखिन सक्छ ।’ मेटाले बारम्बार भनिरहेको छ कि एआई लगानीले उसको अनलाइन विज्ञापन व्यवसाय सुधार गरिरहेको छ, तर भविष्यमा यसले कम्पनीलाई कसरी फाइदा र्पुयाउँछ भन्ने देखाउन कठिन भइरहेको छ। ‘हामीले हरेक त्रैमासमा एउटै कुरा सुन्दै आएका छौं — मेटाले एआईलाई आफ्नो विज्ञापन व्यवसायमा समावेश गरेर वृद्धि इञ्जिनको रूपमा प्रयोग गरिरहेको छ,’ एनबर्गले भनिन्, ‘तर त्यसपछि के हुन्छ भन्ने कुरा बुझाउन कठिन र लगानीकर्ताहरूका लागि कम देखिने खालको छ ।’ यद्यपि मेटाले नयाँ उत्पादनहरूमा केही वृद्धि देखिरहेको छ जस्तै ‘मेटा एआई’ एप जसमा ‘भाइब्स’ नामक एआई–समर्थित छोटा भिडियो सेवा छ । गोल्डम्यानका अनुसार कम्पनीले भविष्यमा सदस्यता मोडेल विस्तार गर्न वा निगमहरूका लागि एआई सेवा प्रदान गर्न सक्छ जुन क्षेत्रमा उसले अहिलेसम्म प्रवेश गरेको छैन । हालका लागि मेटाको डिजिटल विज्ञापन इकाइ नै उसको मुख्य व्यवसाय रहन्छ । तर अघिल्ला त्रैमासहरूजस्तै अर्थतन्त्रले विज्ञापन बजेटमा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन । बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने

नास आइटी एक्स्पो किन ? आयोजकले खुलायो यी चार उद्देश्य

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले यही कात्तिक २१ र २२ गते ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्दैछ ।  कम्पनीले पहिलोपटक यस्तो प्रकारको एक्स्पोको आयोजना गर्न लागेको हो । एक्स्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने आयोजकले जानकारी दिएको छ । आयोजकले एक्स्पो गर्नुको मुख्य चार कारण खुलाएको छ ।  आयोजक कम्पनी नास आइटीका महासचिव एलिशा श्रेष्ठले नेपालमा धेरैलाई प्रविधिमा के–कस्ता विकास भइरहेको छ भन्ने थाहा नभएको र त्यसबारे प्रदर्शन गर्नुपर्ने समय भएको कारण भएको औंल्याइन् ।  ‘नेपालमा कस्तोकस्ता प्रडक्टहरूको विकास भइरहेको छ, त्यसबारे जानकारी दिनको लागि पनि यो खालको एक्स्पो आवश्यक छ,’ उनले भनिन् ।  दोस्रो उद्देश्य बिजनेस नेटवर्किङ र डिल्सहरु इनह्यान्स गर्नको लागि यो एक्स्पो आयोजना गर्न लागिएको हो ।  महासचिव श्रेष्ठले भनिन्, ‘नेपालका आइटी कम्पनीहरूले अहिलेसम्म बिजनेसमा गरेको ग्रोथ अग्रानिक हो, उहाँहरूले साथीभाइ, आफन्त र विदेशमा चिनजान भएकाहरूबाट बिजनेस बढाइरहनुभएको छ, उहाँहरूको नेटवर्किङ बढाउनको लागि एक्स्पो गर्नुको अर्को उद्देश्य हो ।’  त्यस्तै, सरकारले लिएको आइटी डिकेट २०२४–२०३३ को मिट पूरा गर्नको लागि एक्सपोजर दिनको लागि पनि यो एक्स्पोको आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।  नेपालमा डोमेस्टिक मार्केटको भिजिविलिटी ग्याप छ, त्यो ग्याप भर्नको लागि यो एक्स्पोले केही हदसम्म मद्दत पुग्ने आयोजकको विश्वास छ ।  महासचिव श्रेष्ठका अनुसार दुई दिनको एक्सपोमा सरकारका विभिन्न अंग, बैंक तथा वित्तीय संस्था, उद्योग, कर्पोरेट संस्थालाई निमन्त्रणा गरिएको र यसबाट कम्पनीहरूले प्रत्यक्ष बिजनेस गर्न सहयोग पुग्ने छ । नेपालमा दिगो टेक इकोसिस्टमको विकास होस् भनेर पनि यो एक्स्पोको आयोजना गर्न लागिएको आयोजकको जनाएको छ । ३५ कम्पनीहरू सहभागी  नास आइटीका अध्यक्ष गौरव पाण्डेले एक्स्पोमा ३५ कम्पनीहरूले सहभागी जनाउने जानकारी दिए । एक्स्पोमा ती कम्पनीहरूले आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शन गर्ने विशेष अवसर प्राप्त गर्नेछन् । सहभागी आइटी कम्पनीहरूमा लगपोइन्ट, इमेनेन्स वेएज, बिज सर्भ आइटी, र्‍यापिड स्वीफ्ट, फोनपे, जब इजी, ट्यालेन्ट कनेक्टस, मन्त्र आइडियाज्, आकाश टेकलगायत छन् ।  ‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ पाण्डेले भने । नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एक्स्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्स्पो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ । दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवा रहेको छ । त्यस्तै, र्यापिङ, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ ।  कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् । त्यस्तै इन्टरनेट पार्टनरमा डिस हो र मिडिया पार्टनरमा टेक जर्नलिस्ट एशोसिएसन (टिजिएफ) रहेको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्नेछन् ।  एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्स्पो अवलोकन निःशुल्क गर्न सकिने छ । यसका लागि अनलाइन टिकट बाट लिन सकिने छ ।   नेपालका धेरै आइटी कम्पनीहरुले स्वदेशमा मात्रै नभएर विदेशका ठूला कम्पनीहरूलाई सप्टवेयर र आइटी सेवा प्रदान गर्दै आएको छ । विशेगगरी अमेरिका, युरोपियन मुलुक, अस्ट्रेलिया र एसियाका मुलुकहरमा काम गर्दै आएको छ।  नेपाल सरकारले ‘सूचना प्रविधि दशक २०२४–२०३३’ घोषणा गरिसकेको अवस्थामा नास आइटीले पनि यो क्षेत्रको विकासको लागि भन्दै विभिन्न छलफल र बहस गर्दै आएको जनाएको छ ।  सरकारले घोषणा गरेको सुचना प्रविधि दशकको मूख्य टार्गेट रोजगारी बढाउने नै हो । जसअन्तर्गत पाँच लाखलाई प्रत्यक्ष र १० लाखलाई अप्रत्यक्ष रोजगारी दिने रहेको छ । त्यस्तै, सन् २०३३ सम्मममा २२ अर्ब रुपैयाँ अमेरिकी डलर बराबरको आइटी निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।