विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रीवाइफाइ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको शुभारम्भ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाइ सेवाको उद्घाटन गरेका थिए । पहिलो चरणमा सेवा आगमन, प्रस्थान, भीआइपी कक्ष तथा प्रतिक्षा क्षेत्र लगायत विमानस्थलका प्रमुख स्थानहरूमा उपलब्ध गराइएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा क्रमशः यो सेवा विस्तार गरिँदै जानेछ । यात्रुले वाइफाइ कभरेज रहेको स्थानमा गएर 'NTC_Free_WiFi' नामको नेटवर्क रोजी आवश्यक निर्देशन पूरा गरेपछि निशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यात्रुको सहजता र डिजिटल पहुँच विस्तारका लागि टेलिकमले यो सेवा सामाजिक उत्तरदायित्वका रूपमा सञ्चालनमा ल्याएको हो ।
फिनटेकमा बढ्दो लगानी, घट्दो संख्या
काठमाडौं । नेपालको भुक्तानी प्रदायक कम्पनीमा लगानीकर्ताहरूले पौने ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । २०८२ असोज मसान्तसम्ममा ८ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र २१ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७० करोड ८९ लाख ७१ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर (यूएसडी) र २० लाख युआन लगानी गरेका हुन् । असोजसम्ममा ८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ६३ करोड ३२ लाख ७० हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन लगानी भएकाे छ । यस्तै, २१ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ८ करोड ५७ लाख १ हजार रुपैयाँ लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी नेपाल क्लियरिङ्ग हाउसमा १ अर्ब २६ करोड ८२ लाख ७० हजार रुपैयाँ, स्मार्ट च्वाइस टेक्नोलोजिजको ५० करोड रुपैयाँ, नेपाल पेमेन्ट सोलुसनको २५ करोड रुपैयाँ, फोनपे पेमेन्ट सर्भिसको ५० करोड ५० लाख रुपैयाँ, गेटवे पेमेन्ट सर्भिसको १० करोड रुपैयाँ लगानी रहेको छ । यस्तै, युनियन पे इन्टरनेशनल कम्पनीमा २० लाख युआन, भिजा वर्ल्डवाइडमा ८ हजार ९६८ यूएसडी, मास्टरकार्ड एसिया÷प्यासिफिकमा २८ हजार ८५२ यूएसडी लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीमा आईएमई डिजिटल खल्तीको ५४ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस्तै, ई-सेवाको ३८ करोड रुपैयाँ, सेलकमको १ करोड ५० लाख रुपैयाँ, सीजी पे नेपालको १ करोड रुपैयाँ, पे नेपको ९ करोड ५० लाख रुपैयाँ, क्यु पे को ५ करोड रुपैयाँ, स्मार्ट कार्ड नेपालको १५ करोड ८७ लाख २२ हजार रुपैयाँ, फोकसवान पेमेन्ट सोलुसन्स्को ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । राष्ट्र बैंकका अनुसार कुराकानी पेको १ करोड ४ लाख २५ हजार रुपैयाँ, गोल्डमाइन बिजनेश ग्रुपको २ करोड ४५ लाख रुपैयाँ, वी पेको ६ करोड रुपैयाँ, फिनटेक इन्टरनेशनलको ५ करोड रुपैयाँ, लेनदेन सेवाको ४ करोड रुपैयाँ, डिजी पेको १ करोड रुपैयाँ पुँजी रहेको छ । यस्तै, नेपाल इ बिज म्यानेजमेन्टको ३ करोड रुपैयाँ, आई पेको १ करोड रुपैयाँ, आई क्यासको १ करोड रुपैयाँ, नेपाल डिजिटल पेमेन्ट्सको ४० करोड रुपैयाँ, सुलभ पेको १ करोड रुपैयाँ, छिटो पैसाको १ करोड ६६ लाख रुपैयाँ, सिटी वालेटको ५ करोड रुपैयाँ पुँजी रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा भुक्तानी प्रदायक कम्पनीहरूमा लगानीकर्ताहरूले लगानी बढाए पनि कम्पनीको संख्या भने घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्ममा १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७ करोड १४ लाख २२ हजार रुपैयाँ लगानी गरेका थिए । विसं २०८० वैशाख मसान्तसम्ममा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ४१ करोड ४३ लाख ७६ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन र भुक्तानी सेवा प्रदायक कम्पनीमा १ अर्ब ६५ करोड ७० लाख ४६ हजार रुपैयाँ लगानी थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी ८ वटा र भुक्तानी सेवा प्रदायक २१ वटामा सीमित छन् । तर, ३ वर्ष अगाडिको तुलनामा १५.६५ प्रतिशत अर्थात् ६३ करोड ७५ लाख ४९ हजार रुपैयाँ लगानी बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो २ वर्षको अवधिमा २ वटा पीएसओ र ६ वटा पीएसपी कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स), फस्ट पे टेक्नोलोजी, खल्ती, नेपाल पेटाइम, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, इ-नेट पेमेन्ट, पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संघका महासचिव विनय रेग्मी फिनटेक सेक्टरमा आजलाई भन्दा पनि भविष्य हेरेर लगानी गर्ने बताउँछन् । कुनै न कुनै नियामकीय प्रावधानले नयाँ व्यवसाय बनाउन अवसर दिन्छ भन्ने सोचले नयाँ घरानाहरू भित्रिरहेको उनको भनाइ छ । ‘जसरी प्रविधिको विकास भइरहेको छ सोहीअनुसार नियमन पनि बढ्दै जान्छ । र यसले नयाँ ढोका खोल्छ । यो विषय व्यावसायिक घराना र भुक्तानी सेवा प्रदायक, सञ्चालकहरूले बुझेर नै लगानी गर्नु भएको हो,’ उनले भने । भुक्तानी सेवा प्रदायक संघका अध्यक्ष विनय खड्का फिनटेक क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने बताउँछन् । यदि लगानी नथप्ने हो भने थप समस्या श्रृजना हुन सक्ने र व्यवसाय नै छोड्नु पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ‘यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ,’ उनले भने, ‘यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो ।’
फोन पेको १९ प्रतिशत लाभांश घोषणा, कात्तिक २४ गते डाक्यो छैटौँ वार्षिक साधारण सभा
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोन पे)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २४ गते साँझ ५ बजे काठमाडौंमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्नेछ । यस्तै, सभाले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सर्वसाधारणहरुलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।