टिग नास आईटी एक्सपो २०२५ को शनिबार अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजको आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ । आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् ।  ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको एक्पोमा ३५ बढी नेपाली सफ्टवेयर र आईटी सेवाहरू प्रदर्शनीमा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्सपो निःशुल्क अवलोकन गर्न सकिने छ भने प्रडक्ट वा सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउन सकिने छ ।  नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले नेपाली प्रविधिहरूको बारेमा बुझ्न एक्सपोमा आउनु पर्ने बताए । ‘एक्सपोले व्यवसाय, नवप्रवर्तक र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ । यो एक्स्पो केवल प्रविधिको प्रदर्शनी होइन, नवप्रवर्तन र अवसरबीचको पुल हो,’ उनले भने, ‘पहिलो दिन बहुराष्ट्रिय कम्पनीका साथै विदेशी नियोगका प्रतिनिधि समेत अवलोकन गर्न आउनु भएको थियो, जुन हाम्रा लागि गौरवको कुरा हो । प्रविधिमा इच्छुक तपाईहरू सबैलाई पनि अवलोकन गर्न अनुरोध गर्दछु ।’ कार्यक्रमको पहिलो दिन अर्थात शुक्रबार इजरायल, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका विभिन्न देशका राजदूतहरू, सरकारी निकायका प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका सदस्यहरू, तथा उद्यमी, कर्पोरेट लिडर, कार्यकारी अधीकारी लगायतले एक्सपो अवलोकन गरेका थिए ।  एक्स्पोको पहिलो दिन १ हजार बढीले अवलोकन गरेका छन् । आज २ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विशेष गरी बिजनस टु बिजनेस लक्षित गरिएको एक्सपोमा प्रविधिमा चासो राख्नेहरू सबै आएर अवलोकन गर्न तथा विभिन्न प्रडक्ट र सेवा बारे जानकारी लिन सक्ने छन् ।  नास आईटीकी महासचिव अलिशा श्रेष्ठले एक्सपोमा उत्साहजनक सहभागीता रहेको बताउँदै यसले देशको समग्र टेक इकोसिस्टमलाई दिगो बनाउन सहयोग गर्ने बताइन् । कार्यक्रममको पहिलो दिन ओपन बैंकिङमा आधारित एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ लगायतका प्रडक्ट समेत सार्वजनिक गरिएको थियो ।  प्रदर्शनीमा फिनटेक, साइबर सेक्युरिटी, सेफ्टवेयर एज अ सर्भिस तथा इन्टरप्राइज, एचआर लगायत क्षेत्रका प्रडक्ट तथा सेवा राखिएको छ । कम्पनीहरूले आफ्नो बिजनेसलाई प्रवर्द्धन र नेटवर्किङ गर्ने अवसरको रूपमा नास आईटी एक्सपोलाई लिएका छन् ।  नास आईटीले व्यवसायी, उद्यमी र प्रविधिप्रेमीहरूलाई नेपालमा विकास भएका अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्न र डिजिटल इकोसिस्टम विकासमा योगदान गर्न आग्रह गरेको छ ।  एक्सपोको शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन, डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको  चर्चा चल्दैगर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।  नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ ।  यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।  यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहककालागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ ।  एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।  कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

नास आईटी एक्स्पो सुरु : सहकार्य र नवप्रवर्तनमार्फत नेपालको आईटी इकोसिस्टम सशक्तिकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्स्पोको भव्य उद्घाटन गरेको छ ।  यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तनमूलक मेला हो । ‘व्यवसायलाई प्रविधिसँग सँगै जोडी नेपालको एआई भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित दुईदिने यस कार्यक्रममा ३५ भन्दा बढी अग्रणी टेक कम्पनीहरूले सहभागिता जनाएका छन् ।  कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व, नीति निर्माताहरू, लगानीकर्ता, नवप्रवर्तक तथा स्वदेशी र विदेशी प्रविधि विशेषज्ञहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन नास(आईटीका अध्यक्ष गौरव पाण्डेले गरे । उनले कार्यक्रमले दुई दिनको सहकार्य, अध्ययन र अन्वेषणको प्रेरणादायी सुरुवात गरेको बताए ।  अध्यक्ष पाण्डेले भने, ‘यो एक्स्पो केवल प्रदर्शनी होइन, यो संवाद, सहकार्य र प्रगतिका लागि प्लेटफर्म हो । हाम्रो उद्देश्य नेपाललाई विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको ग्लोबल हबका रूपमा स्थापित गर्नु हो ।’ टिग कम्पनीकी सह(संस्थापक प्रार्थना साखाले नेपालमा उदाउँदो प्रविधि इकोसिस्टमलाई सघाउनको महत्त्व औंल्याइन् ।  कार्यक्रममा विभिन्न प्रतिष्ठित वक्ताहरूका विचारपूर्ण सत्रहरू पनि समावेश थिए ।