‘एआई’मा करिअर बनाउन चाहनुहुन्छ भने यी हुन सक्छन् उत्कृष्ट पाँच विकल्प

काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने तपाईले यी मध्ये कुनै एक विकल्प रोज्न सक्नुहुन्छ। कुन क्षेत्रमा प्रवेश गर्न कस्तो योग्यता चाहिन्छ र कमाई कति हुन सक्छ भन्ने विषयमा धेरैको चासो रहेको पनि पाइन्छ । केही समयअघिसम्म मानिसहरूलाई एआईको बारेमा त्यति धेरै जानकारी पनि थिएन। अहिले यस्तो समय आएको छ की एआई बिना कुनै पनि काम हुँदैन । चाहे त्यो शिक्षा होस् वा जागिर। समयसँगै यसको माग बढ्दै गएको छ । सोही विषयलाई ध्यानमा राख्दै पछिल्लो समयमा धेरै विद्यार्थीहरूले करियरको विकल्पको रूपमा एआईलाई रोजिरहेका छन्। मेसिनरी सम्बन्धी सिकाइ अवधारणा अहिले धेरै पुरानो भइसकेको छ । एआईको विकाससँगै सिकाइको क्षेत्रमा स्थापित अवधारणामा पनि ठूलो रुपान्तरणको शुरुवात भएको देखिन्छ । यस क्षेत्रमा केहि उत्कृष्ट करिअर विकासका विकल्प रहेको देखिन्छ । सो क्षेत्रमा अध्ययन गर्नुपूर्व सो क्षेत्रका केहि विशेष विषयको बारेमा जान्न आवश्यक हुन्छ । सोही अनुसार तपाईं आफ्नो रुची र आवश्यकतालाई केन्द्रमा राखेर विषय छनोट गर्न सक्नुहुन्छ । मेसिन लर्निङ इन्जिनियर यो क्षेत्रमा काम गर्नेहरु स्वचालित सफ्टवेयरको डिजाइन गर्न र बनाउन सक्ने हुन्छन् । यदि तपाइँ यस क्षेत्रको विकसित एप्लिकेसनको बारेमा बुझ्न चाहनुहुन्छ भने ती भनेका च्याटबोट, भर्चुअल असिस्टेन्ट, चालकविहीन कार, ट्राफिक भविष्यवाणी एप, आदि हुन् । समयसँगै यस प्रकारका एप्लिकेसको प्रयोग निकै बढेको छ । यो क्षेत्रमा प्रवेश गर्न तपाईंसँग कम्प्युटर विज्ञान, डाटा प्रोग्रामिंग र गणितको ज्ञान हुनुपर्छ। यो क्षेत्रको करिअरमा वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । डाटा वैज्ञानिक डाटा वैज्ञानिकहरुको मुख्य काम भनेको तथ्यांकको संकलन र सो सँग सम्बन्धित सुरक्षाको विषय पनि हो । यी क्षेत्रका एक्सपर्टहरुले तथ्यांकलाई विभिन्न तरिकाले प्रयोग गरेर उद्योग, व्यवसाय तथा कम्पनीको विकासका निम्ति भूमिका खेल्ने काम गर्छन् । उदाहरणको रुपमा फुड डेलिभरी एप्लिकेसनको सञ्चालनमा डाटा एक्सपर्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । यो क्षेत्रका एक्सपर्टहरुले मानिसहरुको सम्पर्क, उनीहरुको रुची, क्षमता, आवश्यकता लगायत विविध विषयमा विश्लेषण गर्ने क्षमता पनि राख्ने गर्दछन् । यो क्षेत्रमा शुरुवाती कमाई वार्षिक ५ देखि ६ लाख हुने गर्छ । रोबोटिक्स इन्जिनियर नामबाटै स्पष्ट हुन्छ की रोबोटिक्स इन्जिनियरहरुले रोबोट बनाउँछन् । जुन रोबोटहरुले आजको समयमा निकै प्रकारका काम गर्ने क्षमता राख्दछन् । रोबोटहरुले कामको सन्दर्भमा मानिसले भन्दा धेरै र राम्रो काम गर्ने गरेको समेत पाइन्छ । ड्रोन त्यसैको एउटा उदाहरण हो। रोबोटिक्स इन्जिनियर बन्न कम्प्युटर इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुपर्छ । यो क्षेत्रको पेशागत करिअरमा सुरुमा वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी हुन सक्छ । एआई अनुसन्धान वैज्ञानिक यी वैज्ञानिकहरुको मुख्य काम भनेकै मेसिन तथा सफ्टवेयरहरुले मानिसको काम कसरी सजिलोसँग गर्न सक्छन भनेर अनुसन्धान गर्नु हो । तिनीहरूले एल्गोरिदमहरू पनि सिर्जना गर्छन्, जसले डेटा विश्लेषण गर्न र ढाँचाहरू बुझ्न मद्दत गर्दछ। तिनीहरू स्वास्थ्य सेवा, वित्त, मार्केटिङ, बीमा र खुद्रा जस्ता क्षेत्रमा काम गर्छन्। उनीहरुको कमाई वार्षिक ७ देखि ९ लाखसम्म हुन्छ । एआई इन्जिनियर यिनलाई मुख्यतया समस्या समाधानकर्ताको रुपमा चिनिन्छ । यिनीहरुले एआईका विभिन्न मोडेलहरू परीक्षण गर्छन् र आफ्नो कामलाई प्रभावकारी बनाउँछन्। तिनीहरूले मेसिन लर्निङ प्रयोग गर्छन् र काममा आउन सक्ने एआई मोडेलहरू सिर्जना गर्छन्। अहिले विश्व बजारमा नै यस्ता एक्सपर्टहरुको निकै माग बढेको छ । एआई इन्जिनियरहरुले करिअरको शुरुवातमा नै वार्षिक १० लाख भन्दा धेरै कमाउन सक्छन् । एजेन्सीको सहयोगमा ।

डिजिटल मार्केटिङमा एसईओ बनेर लाखौं कमाउन सकिन्छ, कसरी बन्छ करिअर ?

काठमाडौं । आजको दिनमा अनलाईन बजार निकै तिव्र गतिमा विकास भैरहेको छ । यो सत्य हो कि कुनै पनि बजार व्यवसायिक मार्केटिङ बिना बाँच्न असम्भव जस्तै बनेको छ । डिजिटल मार्केटिङमा एसइओ भनेको निकै महत्वपूर्ण विषय हो । कसैलाई आफ्नो वेबसाइट र युट्युब च्यानलाई उच्च स्तरको श्रेणीमा लैजान र कुनै डिजिटल कम्पनीमा एसईओ भएर काम गर्नको लागि तपाईं एसईओ एक्स्पर्ट बन्न सक्नुपर्छ । यो जान्न जरुरी हुन्छ की एसईओ एक्सपर्ट बन्ने विषय कुनै एक दुई दिनमा सम्भव हुने विषय होइन् । यदि तपाईं एसईओ एक्सपर्ट बन्न चाहनुहुन्छ अथवा एसईओ एक्सपर्टको जागिर खान चाहनुहुन्छ भने तपाईंले धेरै डिजिटल प्लेटफर्महरुले सो विषयमा अध्ययनको लागि सहयोग पनि गर्न सक्छन् । डिजिटल रुपमा उपलब्ध हुने विश्वासिला क्लासहरुबाट तपाईंले आफूलाई रुची लाग्ने कोर्ष रोजेर डिजिटल क्षेत्रमा अब्बल करिअर बनाउन सक्नुहुन्छ । एसईओ के हो ? एसईओ संक्षेपमा खोज इंजन अनुकूलन (सर्च इन्जिन अप्टिमाइजेसन) भनिन्छ। यो एक विशेष टेक्निक हो, जसले वेबसाइटहरूलाई सर्च इन्जिनहरुमा (जस्तै गुगल, बिङ, याहु आदि) उच्च र्याङ्क गर्न तथा वेबसाइटको उपलब्धता बढाउने काम गर्छ । एसईओले विभिन्न आइडिया तथा टेक्निकहरुको प्रयोग गरेर वेबसाइटको संरचना, शीर्षक, सामग्री, चित्रहरू, लिङ्कहरू, ग्राहक प्रतिक्रिया, र सामाजिक संजालहरूको संलग्नता विधि हरेक क्षेत्रमा विशेष बनाउँछ। एसईओको अध्ययन, विश्लेषण, र अनुमानमा आधारित रूपमा यसले प्रतिस्पर्धी वेबसाइटहरूसँग तुलना गरेर खोज इन्जिनमा उत्कृष्ट स्थान प्राप्त गर्न सहयोग गर्छ । यसको मुख्य उद्देश्य भने वेबसाइटहरूलाई लक्षित समूहसम्म पहुँच गराउने, लक्षित विचारको सामग्रीलाई शीर्षकमा राख्ने, सामग्रीको गुणस्तर बढाउने, उपयुक्त अक्षरको प्रयोग गर्ने र प्रचार(प्रसार विधिहरूको प्रयोग गर्दा विशेष खोज परिणाममा उच्च र्याङ्क प्राप्त गर्ने तथा वेबसाइटको ट्राफिक बढाउने काम गर्छ । सर्च इन्जिनले कसरी काम गर्छ ? सर्च इन्जिनले इन्टरनेटमा उपलब्ध वेबसाइटहरूको क्रमबद्धतामा प्रस्तुत गर्ने काम गर्छ। यसले उपयोगकर्तालाई उच्च प्राथमिकता भएका वेबसाइटहरूको सूची प्रदान गर्दछ, जुन उपयोगकर्ताले खोज्दा देख्न सक्छन् । सर्च इन्जिनहरूले उपयोगकर्ताहरूको खोज प्रश्नहरूको विश्लेषण गर्दछ र उनीहरूको महत्त्वको अनुमान लगाउँछ। यसले उपयोगकर्तालाई उनीहरूको अनुशासन र प्राथमिकता सम्झेर खोजसँग सम्बन्धित वेबसाइटहरुको र्याङिकङ बढाउने काम गर्छ । सर्च इन्जिनहरुले वेबसाइटहरूको अद्यावधिक वा नयाँ सामग्रीको संशोधन र अपडेट बारे जानकारी प्रदान गर्दछ। यसले उपयोगकर्तालाई नयाँ र ताजा सामग्रीको अपडेट बारेमा जानकारी प्राप्त गर्न सहयोग गर्छ । सर्च इन्जिनले वेबसाइटहरूको मेटा ट्याग अथवा एचटिएमएल ट्यागको व्यवस्थापन गर्न पनि सहयोग गर्छ । जसले खोजकर्ताहहरुले खोजेको विषयको शिर्षकमा जोडिएको वेब पेज र सो सम्बन्धी संक्षिप्त विवरण प्राप्त गर्न सहयोग गर्छ । एसईओ जागिर खाँदा शुरुवातको समयमा नै ४०/५० हजार रुपैयाँ मासिक रुपमा कमाउन सकिन्छ । पछि व्यवसायिक क्षमतामा वृद्धि हुँदै गएपछि मासिक डेढ दुई लाख सम्म कमाउन सकिन्छ । एसईओको जागिर धेरै डिजिटल कम्पनीहरुले प्रदान गर्ने गर्छन् । त्यसको लागि उनीहरुले गरेका विज्ञापनलाई हेर्न सकिन्छ ।

गुगल प्ले स्टोरमा रहेको एप नक्कली हो की सक्कली भनेर कसरी छुट्याउने ?

काठमाडौं । यदि तपाईं एन्ड्रोइड मोबाइल प्रयोग गर्नुहुन्छ भने अवश्य पनि तपाईंले गुगल प्ले स्टोरबाट एप्लिकेसनहरु डाउनलोड गर्नुहुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ की आफ्नो स्मार्टफोनमा डाउनलोड गरिएका एप्लिकेसन सक्कली हो की नक्कली ? तपाईं कसरी थाहा पाउनुहुन्छ की तपाईंले डाउनलोड गरेको एप्लिकेसन नक्कली हो की सक्कली ? यदि तपाईंमा सो विषयमा कुनै भ्रम छ भने एप्लिकेसन डाउनलोड गर्नु अगाडि तपाईंले यी विषयहरुमा ख्याल गर्नुहोस ताकी तपाईं समस्यामा पर्नबाट जोगिन सक्नुहुनेछ । १. गुगल प्ले स्टोरमा एपको डेभलपर चेक गर्नुहोस । आधिकारिक एपहरु सामान्यतया प्रतिष्ठित र व्यवसायिक डेभलपरहरुले निर्माण गरेका हुन्छन् । विश्वासिला एप निर्माणकर्ताहरुको बारेमा वेबसाइटबाट धेरै सूचना प्राप्त गर्न सकिन्छ र उनीहरुको ट्रयाक रेकर्ड पनि राम्रो हुन्छ । २.गुगल प्ले स्टोरमा एप्लिकेसको विषयमा लेखिएका समीक्षा र मूल्याङ्कन पढ्नुहोस्। वैद्यानिक एपहरूमा सामान्यतया सकारात्मक समीक्षाहरु र मूल्यांकन देख्न सकिन्छ । यदी एपमा कम समीक्षा छन् र सकारात्मक समीक्षा मात्रै छन् भने सावधान रहनुपर्छ । किनकी ती समीक्षा प्रायोजित हुनसक्छन् । ३. तपाईंले डाउनलोडको संख्याबाट पनि एपको लोकप्रियता र विश्वसनीयताको अनुमान गर्न सक्नुहुन्छ। यदि कुनै एप धेरै संख्यामा डाउनलोड गरिएको छ भने त्यो वास्तविक हुने सम्भावना बढी हुन्छ। ४. गुगल प्ले स्टोरमा प्रदान गरिएको एपको विवरण र स्क्रिनसटहरू विश्लेषण गर्नुहोस्। कुनै पनि व्याकरणीय त्रुटि वा विसंगतिहरूमा ध्यान दिनुहोस्, किनकि यी नक्कली एपको संकेत हुन सक्छ। ५. जब तपाईंले एप इन्स्टल गर्नुहुन्छ त्यसपछि यसले तपाईंको मोबाइलमा केही पहुँच (एक्सेस) माग गर्नेछ । यदि एपले अनावश्यक वा अत्यधिक अनुमतिहरू अनुरोध गर्न थाल्यो भने तपाईं सतर्क रहनुहोस । उदाहरणका लागि टर्चलाइट एपलाई तपाईंको सम्पर्क नम्बर वा म्यासेजमा एक्सेस आवश्यक पर्दैन । ६. तपाईंले डाउनलोड गर्न चाहेको एपको आधिकारिक वेबसाइट छ कि छैन जाँच गर्नुहोस्। वैद्यानिक एपहरूको प्राय डेभलपरको बारेमा विस्तृत जानकारी दिने आधिकारिक वेबसाइटहरु रहेका हुन्छन् । ७. गुगल प्ले स्टोरबाट मात्रै एपहरू डाउनलोड गर्नुहोस्। अज्ञात स्रोतहरूबाट एपिके फाइलहरू डाउनलोड नगर्नुहोस् । किनभने तिनीहरूमा मालवेयर वा नक्कली एपहरू हुन सक्छन्। ८. नक्कली एप वा मालवेयरबाट बच्नको लागि मोबाइल वा स्मार्टफोनमा एन्टिभाइरस राखेर पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ ।