पौने ८ अर्ब नाफा गरेको नेपाल टेलिकमको ईपीएस ४३.३६ रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बिक्री आम्दानी घटेपछि अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.८६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको असारसम्म कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ, अन्य आम्दानी ४५.३४ प्रतिशत घटेर २९ करोठ ९२ लाख रुपैयाँ र कुल आम्दानी १.११ प्रतिशत बढेर ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष १.८६ प्रतिशत घटेर ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर ४३.३६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ ।
टेलिकमको टावरमा क्षति, सोलार सिस्टमको तार काटियो
काठमाडौं । नेपाल टेलिकमले विगत केही समय यता आफ्ना पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको जनाएको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्याइएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेपछि गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्याउने सहमति भएको र भविष्यमा यस्ता गतिविधि दोहोरिएमा कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने टेलिकमले जनाएको छ ।
ट्वीटरमा पनि भिडियो कल सुविधा पाइने
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा पनि भिडियो कल गर्ने सुविधा प्राप्त हुने भएको छ । ट्वीटरकी सिइओ लिन्डा याकारिनोले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो विषय बताएकी हुन् । ट्वीटरका मालिक एलन मस्कले एक्सलाई ‘सम्पूर्ण एप’ बनाउन चाहन्छन् । उनले ट्वीटरमा भुक्तानी सेवा समेत थप गर्न लागेका छन् । यसअघि लिन्डा याकारिनोले प्लेटफर्ममा कलिङ सुविधाको बारेमा पनि जानकारी दिएकी थिइन् ।