मधेस प्रदेशमा नेपाल टेलिकमको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । मधेस प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन् ।सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने धारणा राखिन् । मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रूपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेस प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरूको भूमिका हुने बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए । मधेस प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए ।
वैज्ञानिक खोज : आर्टिफिसियल इन्टेलिजेन्सले स्वस्थ भ्रुणसहित गर्भवती बन्न सहयोग गर्ने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्भवती हुन सहयोग पुर्याउने भएको छ । इजरायलको एक कम्पनीले यस्तो एआई सफ्टवेयर बनाउन सफल भएको छ की जसले आइभिएफ उपचारको क्रममा अन्डासयमा भएको स्वस्थ भ्रुण पत्ता लगाउन सक्छ । सो प्रविधिको प्रयोगले गर्भ रहने सम्भावना ३० प्रतिशतले बढ्ने बताइएको छ । आइभिएफ उपचार पद्दतीमा एआईको मद्दतले पैदा हुने बच्चालाई ‘एआई बेबीज’ भनिने छ । डेली मेलको रिपोर्टअनुसार सो सफ्टवेयरले आइभिएफको क्रममा आनुवंशिक समस्या भएका भ्रुणको विशेषता पत्ता लगाएर सबैभन्दा स्वस्थ भ्रुणलाई पहिचान गर्ने काम गर्छ । आइभिएफ अर्थात इन भिट्रो फर्टिलाइजेसन कृत्रिम ढंगले गर्भाधान गराउने एउटा प्रविधि हो । यस प्रविधिमा महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई प्रयोगशालमा राखेर निषेचित गर्ने काम गरिन्छ । यसपछि भ्रुण महिलाको पाठेघरमा सार्ने काम गरिन्छ । भ्रुण छनोट सबैभन्दा महत्वपूर्ण सफट्वेयर बनाउने रिप्रोडक्टिभ कम्पनी एआइभिएफका सह–संस्थापक अर्थात सिइओ डा. गिल्बोआले आइभिएफ प्रविधिको प्रयोगमा सबैभन्दा महत्वपूर्ण विषय भनेको उत्तम भ्रुणको छनोट भएको बताएका छन् । एआई सफ्टवेयरलाई उत्तम प्रकृतिको विशेषता भएको भ्रुण पत्ता लगाउने तालिम दिने गरिन्छ । जसले आनुवंशिक आसामान्यता भएको अवस्थालाई पहिचान गर्दै प्रत्यारोपणयोग्य भ्रुणलाई पहिचान गर्ने काम गर्छ । डा. गिल्बोआलेका अनुसार सामान्यतया कुनैपनि प्रविधिले सो पत्ता लगाउन सक्दैन । उनका अनुसार तालिमको क्रममा एआई सफट्वेयरको माध्यमबाट भ्रुण विकासको अवस्थालाई हेर्दा सफ्टवेयरले सबैभन्दा उत्तम भ्रुण पत्ता लगाउन भूमिका खेल्ने गरेको देखिन्छ । आइभिएफ उपचारमा एआई सफ्टवेयरको साथ गर्भाधान प्रकृयामा आइभिएफ उपचारको प्रकृया निकै सफल रहेको छ । ‘अहिलेसम्म डाक्टरहरुले भ्रुण छनोट गर्ने गरेका छन्, तर धेरैपटक छनोट गलत पनि पर्ने गरेको र आइभिएफ उपचार पनि असफल हुने गरेको छ’, डा. गिल्बोआले भने । सामान्यतया महिलाहरुले तीन देखि पाँचपटक सम्म आइभिएफ उपचार गर्नुपर्ने हुन्छ । प्रयोगशालमा १० देखि १२ भ्रुण उस्तै प्रकारका तयार भएका हुन्छन्, ती मध्ये एउटालाई डाक्टरले स्वयं छनोट गर्नुपर्ने हुन्छ । डा. गिल्बोआका अनुसार अहिलेसम्म भइरहेको छनोटको प्रकृयामा सबै काम मानिसले मात्रै गरिरहेको हुन्छ । अब एआई सफ्टवेयरको विकाससँगै सो प्रकृया सहज हुनेछ । यसो भएपछि महिलाहरुले एकैपटकको आइभिएफ उपचार पश्चात गर्भाधान गर्न सक्छन् । जसले सकारात्मक नतिजा दिनसक्छ । एआईले डाक्टरलाई प्रतिस्थापन गर्दैन एआई सफ्टवेयरको सहयोगले आइभिएफ उपचारमा कम समय लाग्नेछ, किनकी मेसिनले मानिसको तुलनामा छिटो काम गर्न सक्छ । तर, यसको मतलब यो होइन की यसले डाक्टरलाई नै प्रतिस्थापन भने गर्दैन । किनकी एआई सफ्टवेयरले उत्तम तुलनात्मक रुपमा उत्तम प्रकारको स्वस्थ भ्रुण पत्ता लगाउन मात्रै सहयोग गर्नेछ । बच्चा जन्माउनको लागि वैज्ञानिकहरुले कृत्रिम गर्भासयको विकासमा पनि अनुसन्धान गरिरहेका छन् । सन् २०२२ को डिसेम्बरमा ‘एक्टोलाइफ’ नामको कम्पनीले कृत्रिम गर्भासय तयार गरेको थियो । कम्पनीले विकास गरेको ‘आर्टिफिसियल युट्रस फेसिलिटी’ मा कृत्रिम हिसाबले बच्चा हुर्काउन सकिने बताइएको छ । यो प्रविधिबाट जन्मिने बच्चा हरेक संक्रमणबाट सुरक्षित रहने वैज्ञानिकहरुले दाबी गरेका छन् । एजेन्सीहरुको सहयोगमा ।
एनसेलको प्याक : ९९८ रुपैयाँमै अनलिमिटेड अल नेट कल, दैनिक २ जीबी डेटा र ४०० अल नेट एसएमएस पनि
काठमाडौं । एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरि सजिलै यो प्याक लिन सकिन्छ । त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र रु ७९८ लिन सक्छन् । यो प्याक एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स२ह्यास डायल गरि लिन सकिन्छ । यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।