जुम्ला पुग्यो एनसेलको फोरजी
काठमाडौं । एनसेलले जुम्लामा फोरजी सेवा पुर्याएको छ । एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनसेलले जिल्ला सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पहिले नै भी–स्याट प्रविधिबाट आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो । एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरुले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, ‘हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ । सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं ।’ आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको बताएको छ । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । फोरजी प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्छन् । ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीले बताएको छ । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।
टेलिकमले सेवा विविधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छ : मन्त्री शर्मा
प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई विविधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छिन् । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताइन् । आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिंदै उनले भनिन्– ‘मैले मन्त्री भएपछिको पहिलो निर्णय नै टेलिफोन सेवा सुधारमा केन्द्रित हुने गरेको थिएँ । छ महिनाको अवधिमा निरन्तर टेलिकमका अधिकारसँग छलफल गर्नेदेखि सेवाग्राहीकै बिचमा पुगेर अन्तर्क्रिया गर्नेसम्मका काम गरिएको छ ।’ उनले गाउँ शहर सबैतिर सेवा विस्तारमा ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्दै जतिसक्यो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने बताइन् । सेवा विस्तार र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्दै उनले भनिन्– ‘यो वर्षदेखि टेलिकमले उपभोक्ताको गुनासो सुनुवाईलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । सेवा प्रवाहमा समस्या आउँदा तत्काल गुनासोको सुनुवाई गर्दा सेवाग्राहीले सेवा प्राप्त गरेको महसुस गर्नेछन् ।’ सरकारले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन आवश्यकता पूर्वाधारहरू थप गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाएको जानकारी दिंदै उनले सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न आफूहरु लागिरहेको बताइन् । सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सवै स्थानीय तहका केन्द्रमा पुगेको जानकारी दिंदै उनले अब सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिइएको पनि जानकारी दिइन् । नेपाल दरसञ्चार प्राधिकरणमार्फत चालु आर्थिक वर्षमा ब्रोडव्याण्ड इन्टरनेट सबै सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा विस्तार गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिइन् । टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट थप पहल गर्ने जानकारी दिंदै मन्त्री शर्माले एफटिटिएच क्षमतालाई आधार मानेर यो बर्ष तीन लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिइन्। कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले स्रचार सेवा जनताको अधिकार भएको बताउदै टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका अधिकारीहरुसँग आग्रह गरिन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रालय सहसचिव बाबुराम भण्डारी, नेपाल टेलिकम वायरलेस सेवा निर्देशक मिनु प्रधान, व्याकवोन प्रसारण निर्देशक विनिता श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेशबहादुर अमात्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सन्चालन गरेका थिए । नेपाल टेलिकमले प्युठानको माण्डवी गाउँपालिकामा उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटिटिएच) सेवा शुरु गरेको छ। यसअघि प्यूठानको खलंगा, बिजुवार र भिङ्ग्रीमा एफटिटिएच सेवा विस्तार भइसकेको छ ।
१३ विधामा ‘आइसिटी अवार्ड २०२३’ को अनलाइन नोमिनेसन भदौ १५ गतेसम्म
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो । यस वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ विधा थप गरिएको छ । अवार्डमा स्टार्टअप तथा इन्नोभेसन सम्वन्धी विधाहरुमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यसैगरी व्यत्तिगत उपलब्धीको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आइसिटी अवार्ड विधाहरु समावेश छन् । डिजिटल रुपान्तरणमा अभ्यासरत सस्थाहरुलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेशन पब्लिक र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ रहेका छन । यसैगरी सार्क देशहरुका स्र्टाटअपहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ विधामा पनि नोमिनेशन खुल्ला जारी छ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङ सहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजन मार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ । आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने छ । आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट ictaward.org मार्फत विवरण बुझाउन सकिन्छ । आफु स्वंम वा अन्य कोहिले सम्वन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेशन बुझाउन सकिने आयोजकले विज्ञप्तीमार्फत जानकारी गराएको छ । यी हुन आइसिटी अवार्ड २०२३ का १३ विधाहरु आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । यसैगरी सातै प्रदेशका स्थानिय स्टार्टअपहरुले पनि प्रदेशको उत्कृष्ट स्टार्टअपको सम्मान र निशुल्क बुटक्याम्प र मेन्टरिङ सेसनमा सहभागि हुनको आगि आवेदन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट apply.ictaward.org मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहको छ । १. स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । २. प्रडक्ट आइसिटी अवार्ड आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । ३. राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ । ४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन । ५. पायोनियर आइसिटी अवार्ड यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ । ६. नेपाली डायस्पोरा आइसिटी अवार्ड नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ । ७. आन्टरप्रेनर आइसिटी अवार्ड आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ । ८. वुमन आइकन आइसिटी अवार्ड वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ । ९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर) डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन । १०. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन्। ११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्। १२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्। १३ साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।