डिशहोम फाइबरनेटको सेवा पोखराको दोधारा चाँदनीमा
पोखरा । कास्कीको पोखरास्थित दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । डिशहोमले पछिल्लो समय उपत्यका लगायतका आसपासका जिल्लाहरुमा आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बनिरहेको कम्पनीको दावी छ । पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले बताएको छ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइबरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य
काठमाडौं । सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ । यससँगै अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्छन् । आइतबार ‘हेलो सरकार’को सेवालाई अझ विस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको हो । विस्तारित सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । ‘हेलो सरकार’ र एनसेलको सहकार्यबारे बोल्दै उनले भने, ‘हेलो सरकारमा एनसेल पनि जोडिन आएकोमा धन्यवाद दिन चाहन्छु ।’ ‘हेलो सरकार’ आमनागरिकका गुनासा र सुझाव सुनवाइ लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो । ‘जनगुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र हो । सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । एनसेलका ग्राहकले ‘हेलो सरकार’को ११११ नम्बरमा भदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न सक्ने भएका थिए । प्रधानमन्त्री कार्यालयले यसको औपचारिक घोषणा आइतबार गरेको हो । आइतबारको कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनि कल लाग्ने व्यवस्था मिलाइएको बताए । ‘हेलो सरकार’लाई थप प्रभावकारी बनाउन ‘रÞ्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन् ।
राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्प्युटर खरिद गर्ने भएको छ । राष्ट्र बैंकले कार्यालय प्रयोजनका लागि २७६ वटा कम्प्युटर सामाग्री खरिद गर्ने जनाएको छ । एक सूचनका जारी गर्दै राष्ट्र बैंकले उक्त कम्प्युटर सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार अल इन वान ब्राण्डेड डेस्क्टप कम्प्युटर खरिद गर्ने छ । उक्त कम्प्युटर खरिद गर्न सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । ५ हजार रुपैयाँ शुल्क तिरेर कम्पनीहरुले भदौ २८ गतेभित्र तिरी रीतपूर्वक आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा १० लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गर्नु पर्ने छ ।