एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ
काठमाडौं । चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत आफ्नो उत्पादन क्षेत्रलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ, र यसको एक उत्कृष्ट उदाहरण सेरेस हो, जुन चोंगकिंगमा अवस्थित एक अटोमोबाइल कम्पनी हो । अहिले यो सहर चीनका ठूला अटोमोबाइल हबमध्ये एक बनेको छ, जहाँ सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म मात्रै करिब २५ लाख सवारी साधन उत्पादन भएको थियो । यसले औद्योगिक विकास कति तीव्र गतिमा भइरहेको छ भन्ने देखाउँछ । यस परिवर्तनको केन्द्रमा सेरेसले चोंगकिंगमा निर्माण गरेको 'एआई सुपर फ्याक्ट्री' रहेको छ । सन् १९८६ मा सानो उत्पादकका रूपमा सुरु भएको सेरेस अहिले हुवाएसँग सहकार्य गर्दै आइटो ब्रान्डअन्तर्गत स्मार्ट इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । यस सहकार्यमा सेरेसले गाडी निर्माणको काम गर्छ भने हुवाएले स्मार्ट ड्यासबोर्ड र चालक सहायक प्रणालीजस्ता उन्नत डिजिटल प्रविधि प्रदान गर्छ। यस फ्याक्ट्रीको विशेषता भनेको एआईको गहन प्रयोग हो । हुवाएले विकास गरेको प्रणालीले सम्पूर्ण उत्पादन प्रक्रियालाई नियन्त्रण गर्छ । ठूला स्क्रिन र डिजिटल सिमुलेसनमार्फत सबै कामलाई रियल टाइममा निगरानी गरिन्छ । ३,००० भन्दा बढी रोबोटहरूले वेल्डिङ र पेन्टिङजस्ता कामहरू गर्छन्, जसले उत्पादन प्रक्रियालाई पूर्ण रूपमा अटोमेटिक बनाएको छ । गुणस्तर सुधारमा पनि एआईको ठूलो भूमिका छ । उदाहरणका लागि, नटबोल्ट जस्ता गाडीभित्रका महत्त्वपूर्ण भागहरू क्यामेरामार्फत जाँच गरिन्छ र तस्बिरहरू एआई प्रणालीमा पठाइन्छ । यस प्रणालीले ९९.९५ सम्मको शुद्धतासहित त्रुटिहरू पहिचान गर्न सक्छ । पहिले कामदारलाई केही मिनेट लाग्ने कामहरू अहिले केही सेकेन्डमै सम्पन्न हुन्छन् । जटिल वायरिङ जस्ता कार्यहरू समेत साधारण स्मार्टफोनबाट खिचिएको तस्बिरमार्फत एआईले निरीक्षण गर्न सक्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको फ्याक्ट्री र सप्लायर्सबीचको मजबुत समन्वय पनि हो । प्रमुख सप्लायर्सहरू फ्याक्ट्रीभित्रै काम गर्छन् भने अन्य धेरै सप्लायर्सहरू एआई प्रणालीमार्फत डिजिटल रूपमा जोडिएका हुन्छन् । यसले उत्पादन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउँछ । नेपालका लागि यो मोडेल महत्त्वपूर्ण सिकाइ बन्न सक्छ । नेपालमा उत्पादन क्षेत्र अझै विकासकै चरणमा भएपनि गुणस्तर जाँचमा अटोमेसन प्रयोग गर्ने वा सप्लाइ चेन व्यवस्थापन सुधार गर्ने जस्ता सानै स्तरबाट पनि एआईलाई अपनाउन सकिन्छ । चोंगकिंगमा जस्तै सरकारी सहयोग, इनोभेसन ल्याब र एआई प्लेटफर्महरूको विकासले स्थानीय उद्योगलाई अघि बढ्न सहयोग गर्न सक्छ । नेपाल आफ्नो औद्योगिक आधारलाई सुदृढ बनाउने दिशामा अघि बढ्दै गर्दा सेरेसको उदाहरणले प्रविधि, सहकार्य र स्मार्ट योजना मिलाएर भविष्यमा अझ छिटो र प्रभावकारी उत्पादन सम्भव हुन सक्छ भने देखाउँछ ।
एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ रुपैयाँमा नै पाइने
काठमाडौं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रुपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरु रहेको छन् जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ । कम्पनीले यसअघि प्रदान गर्दै आएको १९९९ रुपैयाँको कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरुको मुल्य ६५ प्रतिशतले घटेको छ । कर सहित ६९९ रुपैयाँ शुल्क पर्ने यो कम्बो प्याकको समयावधी २८ दिन रहेको छ । कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरु हुन् । ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ । 'कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौं । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्याउने विश्वास लिएका छौं,' एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरु अनलाईनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए । अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ्ग वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनाका लागि ग्राहकहरुलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु लगायतका सामाग्रीहरु रहेका छन् जसले ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ । लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।
सञ्चारमन्त्रीको निर्देशन पछि एनटिसीका प्याकेजमा समय थप, अब ३० दिनसम्म लागू
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एनटिसीका अनुसार ‘कम्बो-२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको र आगामी बैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसक्ने जानकारी दिए । यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउनेछ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ भने यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।