कर्णालीका दुर्गम बस्तीमा टेलिकमको टुजी तथा फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टुजी तथा फोरजी सेवा विस्तार गरेको छ । देशभरका दुर्गम स्थानमा सञ्चार पहुँच विस्तार गर्ने अभियानअन्तर्गत टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न बस्तीहरूमा नयाँ टावर स्थापना गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।  हुम्ला जिल्लाको सर्केगाड–३ र सर्केगाड–६ मा टुजी तथा फोरजी सेवा सुरु भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ का बासिन्दा पहिलोपटक गुणस्तरीय मोबाइल सेवाबाट लाभान्वित भएका छन् । सेवाबाट उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका बस्तीहरू जोडिएका छन् । यस्तै, हुम्लाकै अदानचुली–६ मा पनि टुजीरफोरजी सेवा सञ्चालनमा आएसँगै अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ को पानचौर, कालिका लगायतका क्षेत्र सञ्चार सुविधामा पुगेका छन् । दैलेख जिल्लाको गुराँस गाउँपालिका क्षेत्रका गुराँस बजार, गोगनपानी, पातीकान्ला, बयलकाँडा तथा बराहताल–९ को लेकगाउँ पनि अब फोरजी सेवाको दायरामा आएका छन् । पर्यटकीय क्षेत्र गुराँसमा सेवा विस्तार भएपछि स्थानीय बासिन्दासँगै पर्यटकले पनि गुणस्तरीय नेटवर्क सेवा पाउने भएका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा सेवा सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्तीहरू पहिलोपटक आधुनिक टुजी र फोरजी सुविधासँग जोडिएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा सञ्चार पहुँच अझै विस्तार भएको टेलिकमले जनाएको छ । वडा नं. १० को मिदग्ती लेकमा नयाँ फोरजी टावर सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी लगायतका बस्तीहरू सञ्चार सुविधामा जोडिएका छन् । यसले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय तथा सैनिक ब्यारेक क्षेत्रलाई पनि आधुनिक मोबाइल सेवासँग जोडेको छ । टेलिकमका अनुसार नवीनतम सेवा विस्तारसँगै देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा फोरजी सेवा पुर्‍याइएको छ । दुर्गम तथा अति विकट क्षेत्रमा पनि समान रूपमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले उच्च लागत, प्रतिफल कम हुने क्षेत्रसमेत प्राथमिकतामा राखेर टावर स्थापना तथा सेवा सञ्चालन गर्दै आएको छ ।

एआई र विद्युतीय गाडीमा साओमीको सफलता, कुल आम्दानी १ हजार ११० अर्ब भन्दा बढी

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी (साओमी) ले विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य नयाँ प्रविधि समेटिएको आफ्नो व्यावसायिक शाखाले पहिलोपटक त्रैमासिक नाफा कमाएको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष लु वेइबिङका अनुसार, आगामी वर्ष मोबाइलमा प्रयोग हुने स्मृति चिपको मूल्य तीव्र रूपमा बढ्ने भएकाले बजारमा थप चुनौती देखिनेछ । साओमीले किफायती मोबाइल, ट्याब्लेट र घरायसी उपकरणको माध्यमबाट विश्व बजारमा आफ्नो पहिचान बनाएको हो । तर विद्युतीय गाडीको भीडपूर्ण क्षेत्रमा यसले गत वर्ष मात्रै प्रवेश गरेको थियो । यससँगै, कम्पनीले यस वर्ष आफ्नै प्रविधिमा आधारित कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गर्दै प्रविधि प्रतिस्पर्धामा नयाँ चरण सुरू गरेको छ । कम्पनीका अनुसार, चालू वर्षको तेस्रो त्रैमासमा विद्युतीय गाडी, कृत्रिम बुद्धिमत्ता तथा नयाँ प्रविधि सम्बन्धी शाखाले करिब ७ अर्ब रुपैयाँ बराबरको सञ्चालन नाफा कमाउन सफल भयो । यही शाखाबाट प्राप्त आय अहिलेसम्मकै उच्च रहेको बताइएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म साओमीको कुल आम्दानी १ हजार ११० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसमा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २२ प्रतिशत वृद्धि देखिन्छ । समायोजित शुद्ध नाफा पनि ८१ प्रतिशतले बढेर ११३ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि आर्थिक नतिजा उत्साहजनक रहे पनि, पछिल्ला छ महिनामा कम्पनीको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ । विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ताका उपकरणप्रतिको बढ्दो मागका कारण स्मृति चिपको मूल्य तीव्र उकालो लाग्नु र बजारमा मूल्य युद्ध चर्किनु कम्पनीका प्रमुख चुनौती भएको बताउँछन् । अध्यक्ष लु वेइबिङले भने, ‘आगामी वर्ष मूल्य र आपूर्ति शृङ्खलामा पर्ने दबाब यस वर्षभन्दा धेरै ठूलो हुनेछ, जसले धेरै वस्तुको खुद्रा मूल्य उल्लेखनीय रूपमा बढाउनेछ ।’  चीनको सुस्त आन्तरिक खर्च, आवास क्षेत्रको दीर्घकालीन ऋण सङ्कट र कमजोर उपभोक्ता भरोसाले समग्र बजार वातावरण नै अनिश्चित बनेको विश्लेषकहरूको भनाइ छ ।

एनपीएल दोस्रो संस्करणका सबै खेल अब डिशहोम गोमा मात्र हेर्न सकिने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त अनलाइन प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एपमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । डिश मिडियाका अनुसार एनपीएल–२ का सबै खेल केवल डिशहोम गो एप र वेबसाइटमार्फत हेर्न सकिनेछन् । युट्युबमार्फत प्रसारण नहुने जनाउँदै कम्पनीले सम्पूर्ण खेल ‘स्वच्छ प्रसारण’ (क्लिन फिड – विज्ञापनरहित) हुने बताएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्नेछ । दर्शकले इसेवा, खल्ती, भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी गरी ‘सिजन पास’ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल, ल्यापटप वा टेलिभिजनमार्फत सुरक्षित रूपमा भुक्तानी गरी, विश्वका जुनसुकै स्थानबाट खेल हेर्न सकिने सुविधा उपलब्ध छ । सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ तथा अन्य मुलुकका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ । एकपटक सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका प्रत्यक्ष प्रसारण, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ । डिशहोम गो सेवा मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ। एप गुगल प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध छ । कम्पनीका अनुसार एपमा सजिलो दर्ता प्रक्रिया, विज्ञापनरहित प्रसारण तथा खेल सामग्रीमा २४ घण्टा पहुँच सुनिश्चित गरिएको छ । उच्च गुणस्तरको प्रसारणका लागि डिशहोम गोले अन्तर्राष्ट्रिय अनलाइन समाधान प्रदायक ‘मोबायोटिक्स’ तथा विश्वप्रसिद्ध सामग्री वितरण प्रदायक ‘अकामाई’सँग सहकार्य गरेको छ । यी संस्थाहरूले आईसीसी च्याम्पियन्स ट्रफी र आइपिएल जस्ता ठूलो दर्शकसंख्या भएका प्रतियोगितामा आफ्ना प्राविधिक क्षमता प्रमाणित गरिसकेका छन् । डिश मिडिया नेटवर्कका प्रतिनिधिले एनपीएल दोस्रो संस्करणलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्‍याउने लक्ष्य राखिएको बताउँदै, लोकप्रिय डिजिटल भुक्तानी माध्यम उपलब्ध गराइएकोले दर्शकका लागि पहुँच अझ सहज बनेको बताएका छन् । अघिल्लो संस्करणमा पनि देश–विदेशबाट उल्लेखनीय चासो प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले एनपीएल–२ हेर्नका लागि डिशहोम गो नै एक मात्र आधिकारिक डिजिटल प्रसारण माध्यम भएको उल्लेख गर्दै, अन्य कुनै पनि माध्यममार्फत प्रसारण नहुने स्पष्ट गरेको छ ।