सिंहदरबारभित्रै सुस्त इन्टरनेट : सुधारका लागि नेपाल टेलिकमको ‘स्पेशल फोर्स’ परिचालन गरिँदै

काठमाडौं । सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ । प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन निर्देशन दिएका छन् । यसैक्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा अवरोधरहित रुपमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनले निर्देशन दिए । उनले सेवा प्रदायक तथा सम्बन्धित निकायलाई सम्भावित समस्याको समयमै पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिँदै जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्ने बताए। यससँगै प्राविधिक र मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा पनि जोड दिइएको छ ।  मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखा परेमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले हालको अवस्थाबारे जानकारी दिँदै केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरे । यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अघि बढाइएको पनि उनले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ ।  तर, अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको उनले बताए ।  यसको दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।  भट्टराइका अनुसार पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहेकोमा हाल उक्त प्रणाली कमजोर बन्दै गएकोले त्यसलाई पुनः सुदृढ बनाउने प्रयास भइरहेको छ ।  साथै बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो । 

नयाँ वर्षमा नेपाल टेलिकमको डाटा अफर, ४९९ मा दैनिक ५ जीबी

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ । न्यु इयर लाइट प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ । ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, न्यु इयर प्रिमियम प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ । कम्पनीका अनुसार अफरअन्तर्गतका प्याकेज २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ । ग्राहकले मोबाइलबाट *१४१५*११# डायल गरी वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राहीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । 

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीले लिइरहेका छन् सेवा

काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले स्थापना भएको १२ वर्ष पूरा गरेको छ । सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीका अनुसार विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् । त्यसैगरी, कम्पनीको ईआरपी समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन् । निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन् । यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन् । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए । ‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्‍याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु ।’ उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए । यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ । कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको छ । विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ ।