नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हंकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपी खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।

सागको खर्च विवरण सार्वजनिक, एक अर्ब ३१ करोड खर्च

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताए । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उनले बताए । सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए । गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागि राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागि राष्ट्रहरुको ओलम्पिक कमिटिबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए । सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको उहाँले बताउनुभयो । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । यस्तै टिकट विक्रिबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए । साग प्रतियोगिताको उद्घाट र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवराण राखेपले सार्वजनिक गरेको छ । यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ । १४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन् । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उनले बताए ।

पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । अवार्डका लागि मनोनयनमा पर्नुभएका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए । रासस