सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । यसअघिको खेलमा समेत उहाँले दुई विकेट लिनुुभएको थियो । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ । रासस
प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
काठमाडाैं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यस्तै आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ । आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ ।
‘प्रधानमन्त्री कप २०७७ क्रिकेट’ डिशहोमबाटै प्रत्यक्ष हेर्न पाइने
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ(क्यान) द्धारा आयोजीत पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ गतेबाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो । दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।