सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो । उहाँको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लाग्नुभएको हो । यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए । उक्त ड्राफ्टमा नेपालबाट उनीसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश भएका थिए । लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए । सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएनन् । रासस

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । “पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, प्रवक्ता बर्तौैलाले भने । यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ । उक्त प्रतियोगितामा रजिष्टे«शन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलायन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको  २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

३२ वर्ष पहिले निर्माण भएको डडेल्धुराको सेमी कभर्ड हल अलपत्र

डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो । पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरे । कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने बताएका थिए तर शिलान्यास भएको २१ महिनाभन्दा बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ । उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकूद विकास समितिले जनाएको छ । आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकूद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिनुभयो । डेढ वर्षभित्र उक्त कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भए पनि आर्थिक अभावले थप काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ । पिलर निर्माण राष्ट्रिय खेलकूद परिषद्बाट उक्त कभर्ड हलका लागि तत्काल १० लाख निकासा गरिएको थियो तर उक्त रकमले कभर्ड हल निर्माणका लागि आठ वटा पिलर मात्रै ठडिएका छन् । राष्ट्रिय खेलकूद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलको सामग्री सार्न र पिलर मात्रै ठडिएको खेलकूद विकास समिति डडेल्धुराले जनाएको छ । पुनः निर्माण शुरु गर्न क्रमागतरूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । “राखेपबाट बजेट निकासा भएको छैन । गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो तर अहिले निकासा भएको छैन । त्यसैले भएर निर्माण अलपत्र छ”, उनले भने, “दुई रोपनी जग्गामा आठ पिलरसहितको फाउन्डेसन भएको छ । बजेट नभएर निर्माण ठप्प छ ।” के गर्दै छ नगरपालिका रु देश सङ्घीयतामा गएपश्चात् स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकूद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ तर कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन । नगरपालिकाले खेलकूद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रेमी युवाको गुनासो छ तर उता नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जनाएको छ । कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको नगरप्रमुख ओझाको भनाइ छ । पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनले बताए । “जनताका आवश्यकता असीमित छन् । स्रोत साधनको कमी छ । सङ्घीय सरकाले केही बजेट विनियोजन गरेको थियो र हामीले काम अगाडि बढाएका थियौँ”, उनले भने, “यो वर्ष पनि कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ ।” जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका ‘इनडोर’ खेलकूदका कार्यक्रमसमेत प्रभावित बनेका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा हाल जिल्लामा खेलकूद गतिविधि शून्य प्रायः बनेको छ । ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कर्भड हलको आवश्यकता पर्ने गरेको कराँते सङ्घ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए । रासस