१३ औं साग फुटबल– भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले हराउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५७ औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ ।

सागः नेपालका दुई खेलाडी पुगे फाइनलमा

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतबार भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेका हुन् । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नेछन् । रासस

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं। यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल ग¥यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।