प्लस टु ब्रिजवाटर कपमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीको जित

काठमाडौं । उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप २०१९ को खेलमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीले जित हासिल गरेका छन् । गत मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एशोसियशनको खेल मैदानमा भएको पहिलो खेलमा आदर्श जनप्रेमीले श्रमिक शान्तिमाविलाई ९–८ को अन्तरले जनप्रेमीले जीत हासिल गरेको हो । त्यसैगरी, न्यू मिलनियम र कौस्तुप एकेडेमी बिच भएको दोश्रो खेलमा ३–२ को अन्तरले कौस्तुपलाइए पछाडि पार्दै न्यू मिलनियमले जित हासिल गरेको छ । तेश्रो खेलमा साईपल एकेडेमीले भिमेश्वर एकेडेमीलाई ३–० को अन्तरले पछाडि पार्दै साईपल एकेडेमीले जित हासिल गरेको छ । पहिलो खेलमा आदर्श जनप्रेमीबाट पारश खत्री, दोश्रो खेलमा न्यूमिलिनियमका विशाल सुनार र तेश्रो खेलमा साईपल एकेडेमीका संजिव लामा म्यान अफ दि म्याच घोषित भए । उनीहरुलाई क्रमशः काठमाण्डौं प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी, समाजसेवी रघुनाथ खड्का र भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृतकुमार खड्काले अवार्ड प्रदान गरेका हुन् । ब्रिजवाटर इन्टरनेशनल कलेज सिनामंगलले आयोजना गरेको अहिलेसम्म कै ठूलो पुरस्कार राशीको ब्रिजवाटर कप २०१९ मा आजको खेलमा विजयी तीन वटै विद्यालय दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको पाँचौ दिन बिहिबार टाईम्स ईन्टरनेशनल कलेज र ईष्ट प्वाईन्ट, साउथ वेस्टन कलेज र कस्मिक कलेज तथा नेपालय कलेज र सिवर्ड कलेज विच खेल हुनेछ । प्रतियोगितामा विजेता स्कुललाई नगद रु. १ लाख र उपविजेतालाई नगद रु. ५० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रिजवाटर ईन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगिता १२ गतेसम्म जारी रहनेछ ।

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका  अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवा क्लबले खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा सो बैंकको विज्ञापन प्रशारण गर्नेछ । प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पुर्याएको बताए । सो अवसरमा सम्मानित मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । रासस