१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं: मन्त्री रावल
कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए । “प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ”, मन्त्री रावलले भने, “हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।” खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे । उनले भने, “बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकूद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।” लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उनको भनाइ थियो । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकूद परिषद्सँग पनि छलफल भएको जनाए । मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले कृषि बैंक मार्फत बैंकिङ्ग कारोबार गर्ने
काठमाडौं । देशको खेल विकासमा महत्वपूर्ण योगदान दिएको राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । यस सम्बन्धमा राखेपका सदस्य-सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा पुस १४ गते दुवै संस्था बिच सम्झौता भएको हाे । दश वर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भने- सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको उनले बताए । दश बर्षको लागि भएको सम्झौतामा बैंकले राखेपका ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । यस्तै राखेपले सबै बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्नेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्था बिचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । परिषद्ले बैंक मार्फत सेवा लिदाँ सेवा शुल्कमा सहुलियत हुनेछ भने एकिकृत कारोबार गर्न सहजता हुनेछ । सम्झौता अनुसार बैंकले परिषद् र परिषद्मा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम परिषद् मार्फत खेल क्षेत्रमा खर्च गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विगतलाई स्मरण गराउँदै भने- ‘भलिवलका राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । केन्द्रमा मात्र होईन, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।’ खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिनेछ । बैंकिङ कारोबारका लागि बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ । सम्झौता समारोहका परिषद्को तर्फबाट सदस्यद्धय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, विभागिय प्रमुख कुलबहादुर थापा, डेभ वहादुर वस्नेत, मधुसुदन वस्नेत, शाखा प्रमुख, राखेप कर्मचारी संघका फनिन्द्र पौडेल लगायत अन्य पदाधिकारीको उपस्थिति थियो भने बैंकका तर्फबाट उप-महाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख मीनराज पोखरेल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंक र परिषद्बिच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मूल उद्देश्य रहेको छ ।
खेलकुदले कोरोना परास्त गर्छ- उपाध्यक्ष कोइराला
काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन् । छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए । खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे । सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।