पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त गर्यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरु रु २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जितेका थिए । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए । यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भएका छन् । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भएका हुन् । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए । यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भए । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भएका छन् । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरे । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरेका छन् । तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गरेका थिए । ब्याडमिन्टन टोलीलाई खेल पोशाक नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले आइतबार खेल पोशाक प्रदान गरेको छ । सागमा सहभागी पुरुष र महिला गरी २० खेलाडी, छ प्रशिक्षक तथा दुई व्यवस्थापकलाई उक्त पोशाक प्रदान गरिएको हो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेप कभर्ड हलमा आइतबार सो पोशाक हस्तान्तरण गरेका हुन् । रासस

ए डिभिजन लिगः सातौँ चरणका खेल शुक्रबारदेखि शुरु

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ । मछिन्द्रले चार खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अङ्क जोडेको छ । त्यसैगरी समान १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अङ्क छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अङ्क जोडेको थ्रिस्टार क्लब चौथो, नौ अङ्क जोडेको जाउलाखेल क्लब पाँचौँ, आठ अङ्क जाडेको न्यूरोड टिम (एनआरटी) छैटाैं, समान आठ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा आठ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठाैं स्थानमा छ । त्यस्तै, सात अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, छ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, पाँच अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघाराैं, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । जारी लिगमा एक अङ्क मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।

रङ्गशालामा झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध

काठमाडाैं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारबाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गरिएको छ । यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई रु ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । रासस