नेपालकाे मलेशियालाई विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ चौकाको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे । नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ र कुशल भुर्तेलले १६ रन बनाए ।

नर्भिक अस्पताल बन्याे नेपाल सुपरलिगको मेडिकल पार्टनर

काठमाडाैं ।  नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल नियुक्त भएकाे छ । बुधबार नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरेका थिए । सात टिमको फ्रेञ्चाइज फुटबल प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी बैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । यस सम्झाैता अनुसार नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टिम मैदानमै तैनाथ रहनेछ । नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउनुकाे साथै कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत प्रदान गर्नेछ । यस्तै कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिनेछ ।

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडाैं । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ । यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ । यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ । हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै चार अङ्क जोडेको छ । नेदरल्याण्डले दुईमध्ये एक खेलमा जित तथा एकमा हारका साथ दुई अङ्क जोड्दै दोस्रो स्थानमा छ । यस्तै मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ ।