कर्पोरेट सुपर सिक्सेस् फागुन ३ गतेदेखि शुरु, मुख्य प्रायोजकमा माछापुच्छ्रे बैंक, विजेतालाई ३ लाख २० हजारको बाइक

काठमाडौं । कर्पोरेट सुपर सिक्सेस् ‘सिजन ६’ आगामी फागुन ३ गतेदेखि शुरु हुने भएको छ । एसएस इभेन्टसले आयोजना गर्न लागेको उक्त टुर्नामेन्टको मुख्य प्रायोजनमा माछापुच्छ्रे बैंक रहेको छ । कर्पोरेट हाउसहरुबीचको सम्बन्ध बलियो बनाउन आयोजना गरिएकाे उक्त टुर्नामेन्टको नाम ‘माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सेस् २०२० सिजन ६’ रहेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फागुन ३ गतेदेखि फागुन ७ गतेसम्म(५ दिन)  हुने यस प्रतियोगितामा २३ वटा विभिन्न कर्पोरेट हाउसहरु सहभागी हुनेछन् । जसमा माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोखार्ज फाइनान्स, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास(इण्डियन इम्बेसी), नेपाल लाईफ इन्स्योरेन्स र द काठमाडौं पोष्ट सहभागी हुनेछन् । २३ वटा टोलीहरु विभिन्न ८ वटा समूहमा विभाजित हुनेछन् । प्रत्येक टोली एक अर्कासँग आफ्नै समूहमा खेल्ने छन् र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । यसैगरी ८ वटा टोली बाहिरिने छन् र क्वाटर फाइनल खेल्नेछन् । अन्तिममा ४ वटा टोलीहरू सेमीफाइनल खेल्नेछन् र त्यसैगरी अन्तिम २ टोलीले फाइनल खेल्नेछन् । कुन समूहमा कुन कुन टोली ? खेल ५ ओभरको हुने छ । प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर सहित ३ लाख २० हजार मूल्यको यमाहाको एफ जेड बाइक पाउने आयोजक एसएस इभेन्टका प्रमुख कार्यकारी अधिकृत रमण शिवाकोटीले जानकारी गराएका छन् । साथै, अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ उनले बताए । उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । माछापुच्छ्रे बैंकका कप्तानलाई जर्सी प्रदान गर्दै बैंकका सीईओ शर्मा र एसएस इभेन्टसका सीईओ शिवाकोटी मूख्य प्रायोजकमा माछापुच्छ्रे बैंक रहेको यस प्रतियोगिताको सहप्रायोजकहरू जेभियर इन्टरनेशनल एकेडेमी, पायोनियर नेपाल र एसआर स्टील रहेका छन् । त्यस्तै, चिकित्सा साझेदारमा चिरायू हस्पिटल, हस्पिट्यालिटी पार्टनरमा आम्रपाली र अनमोल क्याटरिङ, तथा लीकोर पार्टनरमा जे८९ रहेको छन् । त्यसैगरी, बीमा पार्टनरमा नेको इन्स्योरेन्स, टेक्नोलोजी पार्टनरमा नेपाल टेलिकम र मिडिया पार्टनरमा काठमाडौं पोष्ट रहेको छ । अनलाइन पार्टनरमा विकेटनेपाल डट कम र साझा डेल्ली, रेडियो पार्टनरमा रेडियो सानवी, सहयोगी पार्टनरहरूमा भेला किचन रहेका छन् । बिहीबार कार्यक्रममा माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले प्रतियोगितामा सहभागी हुने २३ वटै टोलीलाई जर्सी प्रदान गरेका छन् । त्यस्तै, क्रिकेट एशोसियसन अफ नेपाल टेक्निकल सर्पोटमा र फुट वेयर पार्टनरमा बीएफ डियर हिल सुज रहेका छन् । आयोजित कार्यक्रमको समर्थन सिभिल मल्ल, एसएम पिन्टु, आरजे खेलकुद, सेलिब्रेसन नेपालले गर्ने भएको आयोजकले जनाएको छ ।

अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए ।  करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् । अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दीपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाङ्क पटेललाई सन्दीपले सात दशमलब दुई ओभरमा बोल्ड गरे । उनले चार रनमात्र बनाए । सात दशमलब पाँच ओभरमा सन्दीपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । यत्तिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रनमात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रनमात्र बनाए । उनलाई सन्दीपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो । अमेरिकाले १२औँ ओभरमा सन्दीपको बलमा लगातार दुई विकेट गुमायो । सन्दीपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दीपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । रासस

आइसीसी विश्वकप लिग दुई: कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान

काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा शनिबार उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे। कुशलले १५ वर्ष ३ सय ४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला १६ वर्ष १ सय ४६ दिनको थिए । नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आए । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाले। कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । रासस