कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहेकाेमा अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने दक्षिण अमेरिकी देशहरुले सहभागी जनाउँछन् । यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् । नेपाली समय अनुसार मध्यरात तथा बिहान हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन ।  

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नको लागि प्रतिस्पर्धा खुल्ला, उत्कृष्टले एक लाख पुरस्कार पाउने

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ । क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ । क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख पनि हात पार्नेछ । नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । आफ्नो डिजाइन दिने अन्तिम मिती यसै महिनाको १७ तारिक सम्म रहेको छ । डिजाइन क्यानको इमेलमा गर्नपर्ने र यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए । छनौट समिति मा क्यानको तर्फ़बाट २ जना र एडप्याड को तर्फ़बाट १ जना सम्मिलित हुने छन्। यसै बीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ । ‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसंग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ आशा छ यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ,’ माइ सेकेन्ड टिचरका सह-स‌स्थापक सुलभ बुढाथाेकी भन्छन्, ‘उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाइ पुरस्कार स्वरुप नगद एक लाख पनि माइ सेकेन्ड टिचले प्रदान गर्नेछ ।’

डिशहोममा युरो कप: नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

काठमाडाैं । नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । यदि त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली भाषामा आउने र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउने कम्पनीले जनाएकाे छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिनेछ । डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५र९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ । साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ । युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएपनि कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू भएको हो । युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।