रङ्गशालामा झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध
काठमाडाैं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारबाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गरिएको छ । यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई रु ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । रासस
कर्णालीमा स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा हमालसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । ‘यसपालि, घुमौं कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । ‘यसपालि, घुमौँ कर्णाली’ सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरेका हुन् । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमित रुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो । रासस
ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाखले दिए आवेदन
बेइजिङ । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् । निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । विश्वकै ध्यान खिच्नेगरी हुन लागेको “२०२० वेइजिङ विन्टर गेम्स”का लागि यती ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टी छ । आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनौट गर्ने समाचारमा जनाइएको छ । महत्वका साथ हेरिएको यस खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ । रासस