राष्ट्रिय खेलकुद परिषद कार्यवाहक सदस्य सचिवमा ढकाल, सिलवाल पदमुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकाे कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सहसचिव भक्तराज ढकालले पाएका छन्। युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएकाे हाे । याेसँगै परिषदका सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सिलवाल पदमुक्त भएका हुन् ।

पाकिस्तानका १० क्रिकेटर्समा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार ७ खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । संक्रमित खेलाडीहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज हुन् । यसअघि सोमबार मात्र शादाब खान, हरिस रउफ र हैदर अली कोरोना संक्रमित भएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको थियो । पछिल्ला दुई दिनमा १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् । खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ । पछिल्ला दिनहरुमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । हालसम्म १ लाख ८५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन, भने ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । (बीबीसीबाट)

नेपालका चार प्रशिक्षकले पाए एएफसी ए कोचिङ लाइसेन्स

काठमाडाैं । नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । एशियाली फुटबल फेडेरेसन महासङ्घ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गरेकाे र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गरेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन् । ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्यरूपमा चाहिने गर्दछ । गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौँमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिएका थिए । जसमा १७ जना भने फेल भएका हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहँदै अाएका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सकोे प्रयोगात्मक परीक्षा मात्र पास गरे । अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ । उनीहरुलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए । रासस