चन्द्रागिरिले पायो अन्तर नगरस्तरीय फुटसलको उपाधि

काठमाडौं । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर-१० स्थित जी-फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए । विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगरप्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताए। तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिए । रासस

कुजु नेपालको मुख्य प्रायोजनमा शंखमुल फुटसल, भयो द्धिपक्षीय सम्झौता

काठमाडौं । आगामी असोज २ गतेदेखि असोज २३ गतेसम्म पोखरामा पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आयोजना हुँदै छ । उक्त फुटसल लिगमा शंखमुल फुटसललाई कुजु नेपाल प्रा.लि.ले प्रायोजन गर्ने भएको छ । प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो । एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे र शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी रहेका छन् । कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए । कुजु नेपालले शंखमुल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो । कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगद सहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो । कुजु नेपाल प्रा.लि.अन्तर्गत दरबारमार्गमा रहेको ओपिएम रेष्टुरेण्ट, डि.एफ.एस.के मोटर्स.र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् । कुजु नेपालले सन २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डि.एफ.एस.के का कार र यही सालदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको छ । शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हाँसिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताए । एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ ।

मेरो डेका ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई ३ लाई स्वर्ण

काठमाडौं । मेरो डेकाले आयोजन गरेको ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालको ३ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रथम स्थान हासिल गरेका छन् । मलेसियाले आयोजना गरेको उक्त प्रतियोगितामा ७ वर्ष मुनिको उमेर समूहमा सम्भव बम ठकुरी, १० वर्ष मुनिको उमेर समूहमा गह्याल्मो सोमिका लामा र १७ वर्ष मुनिमा धेजेन डाेल्मा तामाङले पहिलले स्थान हासिल गरेका हुन् । यस्तै साेही प्रतियाेगितामा १० वर्ष मुनिको उमेर समूहमा युशुप्ना बम ठकुरी दास्रो भएकी छिन् । भर्चुअल रुपमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा नेपालको तर्फबाट १० जना सहभागी भएका थिए । प्रतियोगितमा २५ वटा देशले सहभागिता जनाएको थियो ।