दुई महिनामा विदेश घुम्दा नेपालीले सके १० अर्ब २८ करोड, पर्यटकले ल्याए पौने ३ अर्ब

काठमाडौं । घुम्न आउने पर्यटकले नेपाल ल्याउने भन्दा नेपालीले विदेश जान लाने रकम बढ्दै गएको छ । कोभिड त्रास कम भएसँगै गत साउन र भदौ महिनामा नेपालीले सबा १० अर्ब रुपैयाँभन्दा बढी रकम वैधानिक माध्यमबाट विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार साउन र भदौ महिनामा विदेश घुम्न नेपालीले १० अर्ब २८ करोड रुपैयाँ लगेका छन् । यस्तै, विदेशबाट नेपाल घुम्न आएका पर्यटकले भने जम्मा २ अर्ब ७१ करोड रुपैयाँ मात्रै ल्याएका छन् । नेपालमा आउने पर्यटकले नेपाल ल्याएको रकमभन्दा विदेश जाने नेपालीले लाने रकम बढी भएपछि नेपालको सेवा आय घाटामा पुगेको छ । राष्ट्र बैंकका अनुसार गत साउन र भदौ महिनामा खुद सेवा आय १७ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत सो दुई महिनाको अवधिमा भ्रमण आय १७७.२ प्रतिशतले वृद्धि भई २ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९७ करोड ६९ लाख रुपैयाँ थियो । सेवा खाता अन्तर्गत भ्रमण व्यय २४७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । भ्रमण व्यय भनेको नेपालीले विदेश घुम्न वा अध्ययनको लागि लगेको रकम हो । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २ अर्ब ५१ करोड रुपैयाँ थियो ।

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

काठमाडाैं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे पद छाडेकाे जानकारी दिएका हुन् । प्याकुरेलले अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको बताए । दुई वर्षअघि चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । उनी सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए ।

ईपीएल सुरु, कसले हात पार्ला ५० लाखको पुरस्कार ?

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सवा १२ बजेदेखि सुरू भएकाे हाे । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेलिरहेका छन् । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएकाे ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएकाे छ । काठमाडौंले टस जितेर बलिङ रोजेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो । इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन् । प्रत्येक टिममा ४–४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।