गोपीचन्द्र पार्की ओलम्पिकका लागि छनोट

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए । नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ३० हजार तथा १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जिते । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरे । उनले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएे भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । रावत र घर्तीले क्रमशः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे । रासस

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । रासस

प्रदेश नम्बर 2 को रौतहट मा पहिलो पल्ट फुटसल प्रतियोगिता सम्पन्न

रौतहट । हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर – ११ स्थित मैदानमा भएको फाइनलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १-१ गोल गरे। युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् । साथै उनले नगद १५०० नगद पुरस्कार हात पारे। उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पर्यो भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो। विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे । दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए । प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए भने कार्यक्रम को सन्चालन युवा समाजसेबि एन के शरद ले गरेका थिए ।