च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण
काठमाडाैं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आज दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ । लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।
क्रिकेट एक्सेलेन्स सेन्टर र बजाज माेटरसाइकलकाे सहकार्य सुरु
काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने भएकाे छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराजले बुधबार क्रिकेट एक्सिलेन्स सेन्टरसँग यसबारे सम्झाैता गरेकाे हाे । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । सम्झाैता समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आवद्ध हुन पाउँदा अत्यन्त खुसी भएकाे बताए । ‘बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ । तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ,’ उनले भने । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।
एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय
काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पेश गरेका थिए । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई समेत दिएका छन् । उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।