पपुवा न्युगिनीमाथि नेपालको सानदार जित
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ७ विकेट जित हात पारेको छ । १७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा शीर्षक्रमका ब्याट्सम्यान आरिफ शेख १०२ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहे । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ४८ बलमा ४ चौकासहित ४४ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ६४ बलमा ५० रनमामा स्टम्पिङ आउट भए । कुशलको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । ओपनर आसिफ शेख २ रनमै आउट भए । चौथो ओभरको पहिलो बलमा आसिफलाई कावुआ मोरेआले बोल्ड आउट गरे । त्यसको एक बलपछि दीपेन्द्रसिंह ऐरी चाद सोपरबाट शून्यमा आउट भए । पपुवा न्युगिनीका चाल्र्स अमिनीले २ र मोरेवाले १ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । प यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । नेपालले अव घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेल्नेछ । जुन शुक्रबार र शनिबार हुनेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच टि२० आई सिरिज हुनेछ ।
कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि
काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए । बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे । काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए । मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जिते । उनले ३९ अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । दोस्रो स्थानमा हासिल गर्न सफल कश्मिरा शाहले ३७ अंक जोडिन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिमखडाले ३७ अंक जोड्दै उपाधि जिते । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए । हुन्डाई करको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगिता १८ होलमा खेलाइएको थियो । १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए ।
युएईसँग नेपाल ४८ रनले पराजित
काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग नेपाललाई ४८ रनले पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १६८ रनमा अल आउट भयो । उक्त लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।