भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न
मिरा राई स्टेडियमकाे डिपिआर भाेजपुर । प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी मार्सेली जेभीले जनाएको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘‘लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौँ, त्यसपछि हामीले तीव्र गतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आवको असार महिनासम्म निर्माण पूरा गछौँ ।’’ हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्याराफिड निर्माण हुने कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचर्यले भने, ‘‘निर्माण स्थलमा भइरहेको काम हेर्दा तीव्र गतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । ” अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए । कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको जानकारी दिए । ‘‘उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाैँ, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ’’, प्रमुख आचर्यले भने । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमित रुपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसार रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिसकुमार झाले बताए । उनले भने, ‘‘हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ । निर्माण कार्य गुणस्तरीय तबरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’’ रासस
डिशहोमको आइपीएल २०२० लिगकाे अभियान सुरु
काठमाडौं । डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुन गइ रहेको महा-उत्सवकालागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ । यस योजनाको कार्यान्वयन डिशहोमद्धारा आइपीएल क्रीकेट लिग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालिले गरेको छ। कोभिड १९ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ । आइपीएल ट्वाइन्टी ट्वाइन्टीको क्रिकेट लिग २०२० उचाइमा पुगीरहेको अवस्थामा, डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फ्लोअर बेस बढाउन सकिने अवसर को रुपमा अघी बढेको छ । यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोमले सम्पूर्ण दशकहरुको डिजिटल सक्रीयताकालागी #डीएच२०२० को मज्जा जारी गरेको छ । डिशहाेम को उदेश्य भनेको यस माहामारीको समयमा आफ्ना दर्शक हरुलाई एचडीको मज्जा प्रदान गर्नु हो । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमा झै जोश र उत्साहा जगाउने प्रयास गरेको छ । यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२० उत्साहमय र रमाइलो बनाउने हो । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र युटुव र डिजिटल एक्टिभिजन गरिएको छ । क्रीकेटसंग सम्बन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र खेलका हाइलाईटहरु दिनदिनै आउनेछ्न् । प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने छन् ।
ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए, कभर्डहलको अवस्था भने दयनीय (फाेटाेफिचर सहित)
काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो । एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफै सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) भने यस बारेमा बेखबर थियो । कोरोना भाइरस (कोभिड-१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने सोचमा छ । ब्याडमिन्टनका केही खेलाडी बिहानै कभर्डहलमा उपस्थित थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए । कोरोना भाइरसका कारण कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । तर कभर्डहल भित्र पस्दा वातावरण भने निकै फरक थियो । खेलाडीहरु बाल्टीनमा पानी, हातमा झारु र ब्रसले परेवाले विष्टाएको फोहोर सफा गर्न व्यस्त थिए । थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघ पनि अभ्यासमा फर्काउन पाउँदा खुसी छ । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडी मैत्रि नहुनु विडम्बना हो । दुई घन्टा लामो सरसफाई पछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए । नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधारलाई पनि सही तरिकाले संरक्षण गर्न नसक्नु आलोचनाको विषय हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।