नेपालले जित्यो त्रिकोणात्मक क्रिकेटको उपाधि
काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि-२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा ११८ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो ।
अष्ट्रेलियाले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि
काठमाडौं । अष्ट्रेलियाले एकदिवसीय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै सातौं पटक उपाधि जितेको हो । ३५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अल आउट भयो । इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १४८ रनको सानदार अविजित शतकीय इनिङ खेले पनि टोलीलाई विश्वकप च्याम्पियन बनाउन सकिनन् । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन् । जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । मेगन स्कटले २ विकेट लिइन् । त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५६ रन बनाएको थियो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो । अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा उपाधि जितेको थियो ।
मलेसियामाथि नेपालको सानदार जित, दीपेन्द्रसिंह ऐरीको किर्तिमानी
काठमाडाैं । मलेसियामाथि नेपालकाे सानदार जित भएकाे छ । दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हाे । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाईनल पुग्यो । अब फाईनल खेल सोमबार हुनेछ ।