पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । अवार्डका लागि मनोनयनमा पर्नुभएका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए । रासस
गोपीचन्द्र पार्की ओलम्पिकका लागि छनोट
काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए । नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ३० हजार तथा १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जिते । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरे । उनले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएे भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । रावत र घर्तीले क्रमशः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे । रासस
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । रासस