खेलकुदले कोरोना परास्त गर्छ- उपाध्यक्ष कोइराला

काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन् । छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए । खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे । सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।

साफ फुटबल बंगलादेशमा हुने

काठमाडाैं ।  साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ । महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।

कोरोना कहरका बाबजुत ‘पावर लिफ्टिङ’मा नेपालको सफलता

कास्की । पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्ष अघिदेखि नै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’का लागि अभ्यास शुरु गरेका थिए । गुहाटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगित भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन । डिसेम्बर ४ देखि ७ तारिखसम्म भारतको महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त भए तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खाने बस्ने सुविधा आयोजकको भए पनि आउने/जाने खर्च स्थलमार्गबाट जाँदा नै तीन लाख रूपैयाँ खर्च हुन्थ्यो । डेढ वर्षदेखिको परिश्रम खेर जान नदिन खेलाडी आफैँले पैसा जोहो गरेर भए पनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । नेपाल पावर लिफ्टिङ एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत एक लाख रुपैयाँ उपलब्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्बर २ मा प्रतियोगिताका लागि प्रस्थान गरे । नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुशी ल्याउन सफल भएका छन् । नेपाली खेलाडीले २१ औँ संस्करणको वर्ल्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरोनाले अप्ठेरो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् । “कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नुपर्दछ भन्नेमा सबै दृढ थियौँ”, च्याम्पियनसीपमा सिनियरतर्फ ८२ दशमलव ५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाएका गुरुङले भने, “आर्थिकलगायत समस्या झेलेर भए पनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झण्डा फहराउन पाउँदा खुशीको सीमा रहेन ।” पावर लिफ्टिङ च्याम्पियनसीपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी भएका थिए । हसनसहित जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुमे । सिनियरतर्फ १०० केजीमा राजेश सुवालले रजत पदक जित्न सफल भएका थिए । पावर लिफ्टिङ एशोसिएशन दुई वर्ष अघिमात्र राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको खेल सङ्घ हो । देशभित्र यस खेलका खासै प्रतियोगिता हुँदैनन् । केही खेलाडीले व्यक्तिगत सम्पर्कका आधारमा विदेशमा गएर खेल्ने गरे पनि पहिलोपटक पावर लिफ्टिङ एशोसिएशनले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो । नेपालले औपचारिकरुपमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता अहिलेसम्मकै पहिलो र ऐतिहासिक हो । एशोसिएशनमा पनि पावर लिफ्टिङमा खेलाडीले पदक जितेको रेकर्ड छैन । प्रतियोगितामा सिनियरतर्फ रजत पदक विजेता खेलाडी सुवाल आर्थिक समस्याका कारणले प्रतियोगितामा सहभागिता अनिश्चित रहेको अवस्थामा खेलाडीले आफ्नै खर्च र मिहिनेतबाट भए पनि सहभागिता जनाएर देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाउँदा खुशी लागेको बताउँछन् । खेलका लागि आवश्यक डाइट (पौष्टिक खानेकुरा) देखि खेल सामग्री र प्रतियोगितामा जाने खर्चसमेत आफ्नै भए पनि प्रतियोगितामा सहभागी हुनु नै देशको लागि गर्वको विषय हुन्छ भनेर खेलेर सफलता मिल्दा थप आनन्द लागेको उनको अनुभूति छ । उनले भने, “हामी राष्ट्रिय खेलाडी हौँ, लामो समयदेखि प्रतियोगिताका लागि भनेर मेहनत र खर्च भएकाले कोरोनाका कारणले हामी मौका गुमाउन चाहन्नथ्यौँ । नेपालीको इज्जत जोगाएर फर्कनुपर्दछ भन्ने थियो । मिहिनेत गरेअनुसार सफलता मिल्यो, भाग्यले पनि साथ दियो ।” खेलाडीले पावर लिफ्टिङका लागि भनेर खेल सामग्री प्राप्त नभएकाले जिमका सामानबाट अभ्यास गर्दै आएको बताउँछन् । विदेशमा पावर लिफ्टिङका लागि उचाल्ने खेल सामग्री पातलो प्लेटको हुन्छ तर नेपालमा छैन । नेपाली टोलीका प्रशिक्षकसमेत रहनुभएका एशिएन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष जीवन गिरी नेपालले पाएको सफलता ऐतिहासिक रहेको बताउँछन् । सो प्रतियोगिताका लागि शुरुआतमा २५ देशले नाम टिपाए पनि अन्तिम समयमा कोरोनाका कारण उडान समस्यालगायतका कारणले ११ देशले प्रतिष्पर्धा गरेका थिए । शारीरिक सुगठन९बडी विल्डिङ०तर्फभन्दा पावर लिफ्टिङमा नेपालको खेल सम्भावना बढी रहेको गिरीको भनाइ छ । देशभित्र पावर लिफ्टिङका प्रतियोगिता आयोजना गरेको खण्डमा नयाँनयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको उनको छ । प्रशिक्षक गिरीले भने, “पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरेको खण्डमा धेरै राम्रा खेलाडी आउने निश्चित छ, सरकार तथा राखेपले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यसलाई समावेश गर्नुपर्दछ, खेलाडी उत्पादनमा लाग्नुपर्दछ ।” नेपाल पावर लिफ्टिङ एशोसिएशनले अब पावर लिफ्टिङ खेललाई देशभित्र व्यवस्थित र योजनाबद्ध हिसाबले अघि बढाउने र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । पहिलो पटक देशको प्रतिनिधित्व गरेर खेलाडीले प्राप्त गरेको उपलब्धिबाट यस खेलको विकासमा मद्दत पुग्ने विश्वास एशोसिएशनले लिएको छ । एक वर्षभित्रमा देशका सात प्रदेशमा सात प्रादेशिक प्रतियोगिता गरेर प्रत्येक प्रदेशबाट पाँच जनाका खेलाडी छनोट गरेर छनोट भएकाका बीचमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएको एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले बताए । उनले भने, “हामी एक वर्षभित्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने वातावरण निर्माण गर्छौंं । राष्ट्रिय खेलकूदमा समेत समावेश गर्न सरकारलाई आग्रह गरेका छौं ।” खेलाडीको सफलताबाट उत्साहित एशोसिएशनले पोखरामा कार्यक्रम आयोजना गरी खेलाडीलाई नगर परिक्रमा गरी सम्मानसमेत गरेको थियो । रासस