भारत विरुद्धको खेलमा छक्का र विकेट लिने खेलाडीलाई नगद दिने घोषणा

काठमाडौं । सोमबार दिउँसोबाट सुरु हुन लागेको एसिया कप–२०२३ मा भारत विरुद्ध छक्का वा चौका हान्ने खेलाडीलाई विभिन्न कम्पनीहरुले नगदै दिने घोषणा गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकादेखि चलचित्र निर्देशकसम्मले सोमबार दिउँसो हुने उक्त खेलमा हुने छक्का हान्ने तथा विकेट लिने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकले शतक हान्ने र चार विकेट लिने खेलाडीलाई जनही एक/एक लाख दिने निर्णय गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ । सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गर्ने गरेको थियो । यस्तै, यती ब्रुअरीको उत्पादन अर्ना बियरले पनि उक्त खेलमा छक्का हान्ने खेलाडीलाई नगद दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । यस्तैगरी, चलचित्र निर्देशक चन्द्र पन्तले पनि छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने घाषणा गरेका छन् । उनले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजय भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त उक्त संस्थाको अध्यक्ष हुन् । एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।  

नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि बिदा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिका सबै विद्यालयमा बिदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ । ‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा भनिएको छ । यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले दिउँसो २ बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो ।

एशियाली शारीरिक सुगठन प्रतियोगिताको कार्यकारी समितिमा ४ जना निर्वाचित

काठमाडौं । एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ देखि २० गतेसम्म हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । आइतबार सम्पन्न एसियन बडि व्युलडिगं एन्ड फिजिक्यु स्पोर्टस् फडिरेसनको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । जसअनुसार, कार्यकारी उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ, उपाध्यक्षमा विजयलाल कायस्थ, अध्यक्ष, प्राविधिक समितिमा दिनेश राजभण्डारी र कार्यकारी सदस्यमा राजेश उपाध्याय रहेको कम्पनीले जनाएको छ ।