नेपालको फुटबल छ स्थान तल झर्दै १८८ स्थानमा
काठमाडौं, ३१ असार । नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ) चौथो स्थानमा छ । साफ क्षेत्रको शीर्षस्थानमा भारत छ । एघार स्थान सुधार गरेको उ १५२ औँ स्थानमा उक्लिएको छ । भारतपछि माल्दिभ्स १७४औँ स्थानमा यथावत् छ भने दुई स्थान खस्किएको बङ्गलादेश १८३ औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि रहेको भुटान १९२ मा छ । भुटान चार स्थान तल झरेको हो । त्यस्तै समान चार स्थान खस्किएको श्रीलङ्का १९३ औँ र अन्तिममा रहेको पाकिस्तान दुई स्थान तल झर्दै १९४औँ स्थानमा छ । युरो कप र कोपा अमेरिका प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको भए पनि वरियाताक्रमको शीर्ष पाँच स्थान यथावत् छ । जसमा अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् । युरो विजेता पोर्चुगल दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा छ भने १० स्थान सुधार गरेको फ्रान्स सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै दुई÷दुई स्थान तल झरेका स्पेन र ब्राजिल क्रमशः आठौँ र नवौँ स्थानमा छन् भने दुई स्थान नै सुधार गरेको इटाली १०औँ स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना विश्व वरियता सार्वजनिक गर्ने गर्छ । रासस
पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो
काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् । प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस
सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने
काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।