इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा

काठमाडौं । अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै इङ्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको सेमिफाइनलमा इङ्ल्यान्डले ५५औं मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो ।

८५औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो । तर इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।

इङ्ल्यान्डले अधिकांश समय बलमा राम्रो नियन्त्रण राखे पनि अन्तिम समयमा रक्षापंक्तिमा गरेको कमजोरी महँगो सावित भयो । अर्कोतर्फ अर्जेन्टिनाले अवसरको उत्कृष्ट सदुपयोग गर्दै लगातार अर्को विश्वकप फाइनलमा स्थान सुरक्षित गर्यो ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना अब अर्को विश्व उपाधि जित्ने लक्ष्यसहित फाइनलमा उत्रिनेछ । उसले अब फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

यता १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि अधुरै रह्यो । 

Share News