सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले पायो निरन्तरता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनर का रूपमा आबद्ध भएको हो ।

बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।

उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित ब्रान्डहरूले नेपाली क्रिकेटमा निरन्तर लगानी गरिरहेको देख्नु अत्यन्त सकारात्मक पक्ष हो । यस्ता सहकार्यले नेपाल प्रिमियर लिगलाई मात्र होइन, समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौं ।’

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।

उनले भने, ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा गर्व महसुस गर्छौं । टोलीलाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिन चाहन्छौं । साथै, नेपाली क्रिकेटको समग्र विकास र सफलताको पनि कामना गर्दछौं । नेपाल प्रिमियर लिगजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ । यो साझेदारीले दुवै संस्थालाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै नेपाली खेलकुद र राष्ट्रको विकासमा समेत सकारात्मक योगदान पु¥याउनेछ ।’

एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ ।

नेपाल प्रिमियर लिगका पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा ठूलो समर्थक (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ ।

Share News