इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता

डिएगो म्याराडोनाले इङ्ल्यान्डका गोलकिपर पिटर शिल्टनको टाउकोमाथिबाट बल हल्का टिप्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । Photograph: Bob Thomas/Getty

काठमाडौं । विश्वकपको इतिहासमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच भएका भेटहरू केवल फुटबलका खेल मात्र थिएनन् । यी दुई देशबीचको प्रतिस्पर्धा राजनीतिक, ऐतिहासिक र भावनात्मक पृष्ठभूमिसँग गाँसिएको छ । सन् १९६२ देखि सुरु भएको यो प्रतिद्वन्द्विता सन् १९६६, १९८६, १९९८, २००२ हुँदै २००५ सम्म आइपुग्दा विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक बनेको छ ।

सन् १९६२ मा चिलीको रान्कागुआमा विश्वकप फाइनल चरणमा पहिलोपटक इङ्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदा इङ्लिस टोली खेल सुरु हुन केवल ४० मिनेट बाँकी रहँदा मात्र एस्टाडियो एल टेनिएन्टे रंगशालामा पुगेको थियो ।  उनीहरू त्यहाँ पहिलेदेखि नै मनमुटाव बोकेर बसेको प्रतिद्वन्द्वीको सामना गर्न पुगेका थिए ।

इङ्ल्यान्डले त्यो समूह चरणको खेल ३–१ ले जित्यो । तर त्यसको चार वर्षपछि सन् १९६६ मा वेम्ब्लीमा अझ ठूलो क्वार्टरफाइनल भिडन्त उनीहरूको प्रतीक्षामा थियो । 

त्यसपछि सन् १९८६ मा मेक्सिको सिटीको एस्टाडियो अज्टेकामा डिएगो म्याराडोनाको विवादास्पद तर ऐतिहासिक प्रदर्शनले यो प्रतिस्पर्धालाई अझ गहिरो बनायो । त्यसपछि सन् १९९८ र २००२ मा पनि यी दुई टोली विश्वकपमा भिडे।

यी पाँच विश्वकप भेटमध्ये इङ्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेल जितेको छ । तर नकआउट चरणका खेलको हिसाबमा अर्जेन्टिना २–१ ले अगाडि छ, जसमा सन् १९९८ को पेनाल्टी सुटआउट जित पनि समावेश छ ।

यी दुई टोलीबीचको अन्तिम भेट सन् २००५ मा जेनेभामा भएको मैत्रीपूर्ण खेल थियो । त्यो पछिल्ला वर्षहरूको सबैभन्दा रोमाञ्चक मैत्रीपूर्ण खेलमध्ये एक मानिन्छ । साथै सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका माइकल ओवेनको इङ्ल्यान्डका लागि अन्तिम महान् प्रदर्शनमध्ये पनि त्यही खेललाई मानिन्छ ।

२ जुन १९६२ : विश्वकप समूह चरण – पहिलो टकराव

​​​​​​​सन् १९६२ को विश्वकपमा अर्जेन्टिनाविरुद्ध इङ्ल्यान्डको पहिलो प्रतिस्पर्धात्मक खेल भएको थियो । समूह चरणको पहिलो खेलमा इङ्ल्यान्ड हंगेरीसँग २–१ ले पराजित भएको थियो । उता ‘द डेली टेलिग्राफ’का अनुसार अर्जेन्टिनाले बुल्गेरियालाई ‘कडा ट्याकल र लडाएर’ हराएको थियो । ​​​​​​​त्यतिबेला यी दुई देशबीच यसअघि १९५० को दशकको सुरुवातमा मात्र दुई खेल भएका थिए । 

तर अर्जेन्टिनामा बेलायतीहरूप्रति विशेषगरी अङ्ग्रेजहरूप्रति पहिलेदेखि नै गहिरो असन्तुष्टि थियो । उनीहरूले बेलायतीलाई ‘लोस पिरातास’ (समुद्री डाँकु) भन्ने गर्थे । बेलायतको ऐतिहासिक नौसैनिक शक्ति र अन्य देशका मामिलामा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण अर्जेन्टिनामा अङ्ग्रेजहरूप्रति नकारात्मक धारणा बलियो बनेको थियो ।
त्यस समयमा विश्वकप फुटबल सीप र निष्पक्षताभन्दा हिंसात्मक खेलतर्फ उन्मुख भइरहेको चिन्ता पनि व्यापक थियो ।

कोलम्बियाका कप्तान फ्रान्सिस्को जुलुआगालाई उरुग्वेले खेलबाट बाहिरिन बाध्य बनाएको थियो । मेक्सिकोले पेलेमाथि पनि त्यस्तै कडा खेल प्रस्तुत गरेको थियो । 

स्विट्जरल्यान्डका खेलाडीहरूले चिलीविरुद्ध यति आक्रामक खेल खेले कि उनीहरूमध्ये एक खेलाडीलाई अङ्ग्रेज रेफ्री केन एस्टनले पहेंलो कार्ड देखाउनुपरेको थियो ।

अन्ततः अर्जेन्टिनाको त्यही आक्रामक शैली उसकै लागि महँगो साबित भयो । इङ्ल्यान्डविरुद्धको खेलअघि नै उसका पहिलो रोजाइका चार खेलाडी घाइते थिए । त्यसपछि राउल बेलेनको करङमा चोट लागेपछि उनी पनि मैदान छाड्न बाध्य भए ।

इङ्ल्यान्डका प्रशिक्षक वाल्टर विन्टरबटमले इन्टर मिलानका जेरी हिचेन्सलाई टोलीबाट बाहिर राख्दै मिडल्सब्रोका २४ वर्षीय एलन पिककलाई मौका दिने ठूलो निर्णय गरे । पिकक आफ्नो स्थानीय क्लबमा ब्रायन क्लफका स्ट्राइक पार्टनर थिए र उनी निस्वार्थ तथा कम मूल्याङ्कन गरिएका प्रतिभाशाली खेलाडी मानिन्थे ।

एलन पिकक विश्वकपको फाइनल चरणमै राष्ट्रिय टोलीबाट डेब्यु गर्ने इङ्ल्यान्डका केवल दोस्रो खेलाडी बने । उनीसँगै यो उपलब्धि एलन क्लार्कले सन् १९७० मा चेकोस्लोभाकियाविरुद्ध हासिल गरेका थिए । क्लार्कले त्यो खेलमा पेनाल्टीमार्फत गोलसमेत गरेका थिए ।

गत वर्ष ८७ वर्षको उमेरमा निधन भएका पिककले इङ्ल्यान्डका लागि त्यसपछि केवल पाँच खेल मात्र खेले । फुटबलबाट सन्यास लिएपछि उनले करिब ४० वर्ष समाचारपत्र पसल सञ्चालन गरे ।

त्यो खेलमा रुबेन नाभारोले गोललाइनमै उनको हेडर हातले रोकेपछि इङ्ल्यान्डले पेनाल्टी पाएको थियो ।

रोन फ्लावर्सले पेनाल्टीलाई गोलमा परिणत गरे । त्यसपछि सर बबी चाल्र्टन र जिम्मी ग्रिभ्सले पनि गोल थपे । अर्जेन्टिनाले अन्तिम समयमा एक गोल फर्काए पनि इङ्ल्यान्ड ३–१ ले विजयी भयो ।

त्यो खेलमा सबैभन्दा बढी प्रशंसा पाएका खेलाडीमध्ये २१ वर्षीय बबी मूर थिए । उनले हालै डिफेन्डरमा परिवर्तन गरिएका २९ वर्षीय बबी रोब्सनको स्थान लिएका थिए ।

‘द डेली टेलिग्राफ’का डेभिड मिलरले बबी मूरलाई ‘बेलायती परम्पराका उत्कृष्ट युवा खेलाडी’ भनेर वर्णन गरेका थिए । रुसी रेफ्री निकोलाइ लातिशेभको पनि निकै प्रशंसा भयो । उनले पनि अर्जेन्टिनाले खेललाई झगडामा बदल्ने प्रयास गरे कडा कारबाही हुने बताएका थिए ।

त्यो दिन अर्जेन्टिनाको टोलीमा २५ वर्षीय डिफेन्डर एन्टोनियो रात्तिन पनि थिए । उनको केही समयअघि ८९ वर्षको उमेरमा निधन भएको थियो । तर सन् १९६२ पछि पनि इङ्ल्यान्डसँगको उनको कथा समाप्त भएको थिएन ।

२३ जुलाई १९६६ : विश्वकप क्वार्टरफाइनल – ‘एनिमल विवाद’

सन् १९६६ को विश्वकपका लागि इङ्ल्यान्ड पुगेको अर्जेन्टिनी टोलीलाई आयोजक राष्ट्रले सुरुदेखि नै केवल शत्रुतापूर्ण व्यवहार गरेको थियो भन्ने धारणा पूर्ण रूपमा सही होइन । समूह चरणमा अर्जेन्टिनाले दुई खेल भिल्ला पार्कमा र एक खेल हिल्सबरोमा खेल्यो । तीन खेलमा उसले केवल एक गोल मात्र खाएको थियो । टोलीका लेफ्ट–ब्याक सिल्भियो मार्जोलिनीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मिडल्यान्ड्स फुटबल राइटर्स एसोसिएसन (एफडब्ल्यूए) ले उनको खेल भावना र उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको थियो ।

उनलाई एफडब्ल्यूएले प्रदान गर्ने सर्वोच्च सम्मानस्वरूप उनको नाम कुँदिएको पिउटरको विशेष ट्यांकार्ड (धातुको सम्मान–पात्र) प्रदान गरिएको थियो ।

तर एङ्ग्लो–अर्जेन्टिनी सम्बन्धका लागि त्यसपछि अवस्था निरन्तर बिग्रँदै गयो ।

क्वार्टरफाइनलअघि नै अर्जेन्टिनाका प्रशिक्षक हुआन कार्लोस लोरेन्जोलाई फिफाको अनुशासन समितिले आफ्ना खेलाडीहरूको व्यवहारबारे चेतावनी दिएको थियो । डिफेन्डर राफाएल अल्ब्रेच्ट पश्चिम जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो रात्तिनले पश्चिम जर्मनीका रेफ्री रुडोल्फ क्राइटलाइनप्रति अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइयो ।

तर त्यस आरोपमा एउटा ठूलो समस्या थियो क्राइटलाइनलाई स्पेनी भाषा नै आउँदैनथ्यो । यद्यपि उनले रात्तिनको व्यवहारलाई रेफ्रीको अधिकारको अवज्ञा ठाने । दोस्रो विश्वयुद्धपछिको युरोपेली फुटबलमा यस्तो व्यवहार स्वीकार्य नरहेको ठहर गर्दै उनले रात्तिनलाई रातो कार्ड देखाए ।

रात्तिनले भने मैदान छाड्न अस्वीकार गरे । उनी महारानी एलिजाबेथ द्वितीयका लागि बिछ्याइएको रातो कार्पेटमै गएर बसे । अन्ततः प्रहरीको सहयोगमा मात्र उनलाई मैदानबाहिर निकाल्न सकियो ।

विवाद त्यतिमै रोकिएन । खेल सकिएपछि अर्जेन्टिनी खेलाडीहरूले रेफ्री क्राइटलाइनलाई घेरेर धकेलाधकेल गरे । थप झडप हुन नदिन उनलाई गोप्य रूपमा वेम्ब्ली रंगशालाबाट बाहिर निकालियो ।

त्यस खेलमा इङ्ल्यान्डले अन्तिम समयमा ज्योफ हस्र्टको गोलमा १–० को जित निकाल्यो । जिम्मी ग्रिभ्स फ्रान्सविरुद्ध घाइते भएकाले उनको स्थानमा हर्स्टले खेलेका थिए । यही घटनापछि इङ्ल्यान्डका प्रशिक्षक सर अल्फ राम्सेले अर्जेन्टिनी टोलीलाई ‘एनिमल’ भने ।

राम्सेको भनाइ केवल एउटा शब्दमा सीमित थिएन । उनको पूर्ण अभिव्यक्ति अलि फरक थियो, तर ‘एनिमल’भन्ने शब्दले मात्र पनि ठूलो विवाद जन्मायो । त्यसको प्रभाव यति गहिरो भयो कि फिफाको अनुशासन समितिले इङ्लिस फुटबल एसोसिएसनलाई आफ्ना प्रशिक्षकमाथि कारबाही गर्न सिफारिससमेत गर्यो ।

राम्सेले त्यसबेला भनेका थिए, ‘हामीले अझै आफ्नो उत्कृष्ट फुटबल खेल्न बाँकी छ । त्यो सही प्रतिद्वन्द्वीविरुद्ध आउँछ—फुटबल खेल्न मैदानमा आउने टोलीविरुद्ध, जनावरजस्तो व्यवहार गर्ने टोलीविरुद्ध होइन । अर्जेन्टिनाको यति धेरै प्रतिभा यसरी खेर जानु दुःखको कुरा हो ।’

दक्षिण अमेरिकाको आक्रोश

यस घटनापछि दक्षिण अमेरिकाका चार टोली—अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वे—आक्रोशित भए ।

उनीहरूले लन्डनमा बैठक गरी रेफ्रीको निर्णयलाई अत्यन्त खराब भन्दै छलफल गरे । फिफाबाट अलग हुने सम्भावनासमेत उनीहरूले उठाएका थिए ।

इटालीको प्रतिष्ठित पत्रिका इल मेसाजेरोले समेत उक्त खेललाई ‘भीषण अन्याय’ भनेको थियो ।

यद्यपि द डेली टेलिग्राफले एउटा रोचक तथ्य प्रस्तुत गरेको थियो । उसका अनुसार रेफ्री क्राइटलाइनले खेलमा इङ्ल्यान्डविरुद्ध २९ वटा फाउल दिएका थिए भने अर्जेन्टिनाविरुद्ध त्यसभन्दा १० वटा कम फाउल दिएका थिए।

ब्राजिल फुटबल महासंघका अध्यक्ष जोआओ हाभेलान्जेले भने, ‘मैले आजसम्म यति खराब ढंगले आयोजना गरिएको विश्वकप देखेको छैन ।’

यही हाभेलान्जेले पछि सन् १९७४ मा बेलायती फिफा अध्यक्ष सर स्ट्यान्ली राउजलाई पराजित गर्दै फिफाको अध्यक्ष बने ।

उता अर्जेन्टिनी पत्रिका क्रोनिका यति आक्रोशित भयो कि उसले सन् १९६६ विश्वकपको आधिकारिक शुभंकर ‘वर्ल्ड कप विल्ली’को कार्टुन नै परिवर्तन गरिदियो । सिंहको जर्सीमा खप्पर र क्रसबोनको चिन्ह राखियो, एउटा आँखामा पट्टी लगाइयो र एउटा खुट्टाको सट्टा काठको खुट्टा बनाइयो ।

अर्जेन्टिनाको दृष्टिमा ‘लोस पिरातास’ अर्थात् बेलायतीहरूले फेरि एकपटक आफ्नै पुरानै शैली दोहोर्याएका थिए।


२२ जुन १९८६ : विश्वकप क्वार्टरफाइनल – अज्टेकामा माराडोनाको अमर प्रदर्शन

‘घरमा रहेका मानिसहरूका लागि यसको अर्थ कति ठूलो छ भन्ने पूर्ण रूपमा बुझ्न सकिँदैन । तर मलाई लाग्छ, खेलाडीका रूपमा यो मेरो जीवनकै सबैभन्दा ठूलो अनुभव हुनेछ ।’

यी शब्द इङ्ल्यान्डका स्ट्राइकर ग्यारी लिनेकरका थिए ।

पोल्यान्डविरुद्ध ह्याट्रिक र अन्तिम–१६ मा पाराग्वेलाई हराउँदा थप दुई गोल गरेका लिनेकरले अर्जेन्टिनाविरुद्धको खेलअघि टोलीको मनोबल ठीकसँग बुझेका थिए । तर त्यस दिन विश्व फुटबलकै इतिहासमा लेखिने घटना हुनेछ भन्ने कल्पना उनी स्वयंले पनि गरेका थिएनन् ।

त्यतिबेला इङ्लिस फुटबल एसोसिएसनका सचिव टेड क्रोकरले खेल हेर्न आउने करिब ३ हजार इङ्लिस समर्थक र ५ हजार अर्जेन्टिनी समर्थकबीच कुनै समस्या नआउने विश्वास व्यक्त गरेका थिए ।

रोचक कुरा के भने क्रोकरका नाति एरिक डायरले ठीक ३२ वर्षपछि कोलम्बियाविरुद्ध पेनाल्टी गोल गर्दै इङ्ल्यान्डलाई विश्वकप इतिहासकै पहिलो पेनाल्टी सुटआउट जित दिलाएका थिए । क्रोकरले आफूले अर्जेन्टिनी फुटबल संघका पूर्वअध्यक्ष एडमिरल कार्लोस लाकोस्टेसँग कुरा गरेको पनि बताएका थिए । दुवैको विश्वास थियो कि यो खेल ‘पुराना घाउ निको पार्ने अवसर’ बन्न सक्छ ।

लाकोस्टे सन् १९८१ मा छोटो समयका लागि अर्जेन्टिनाका अन्तरिम राष्ट्रपति बनेका थिए । उनी सन् १९८२ को फोकल्यान्ड (माल्भिनास) युद्ध गराउने सैनिक शासनसँग निकट थिए । उनले सन् १९७८ को विश्वकप पनि त्यही सैनिक सरकारको तर्फबाट आयोजना गराएका थिए ।

फोकल्यान्ड युद्धको छायाँ

सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच भएको फकल्यान्ड युद्ध समाप्त भएको चार वर्ष मात्र भएको थियो । त्यसैले यो खेलमाथि युद्धको छायाँ स्पष्ट देखिन्थ्यो ।इङ्ल्यान्डका प्रशिक्षक बबी रोब्सनले भने, ‘म फुटबल प्रशिक्षक हुँ, राजनीतिज्ञ होइन। त्यस प्रकारका प्रश्न मसँग नगर्नूहोस् ।’

उता मिडफिल्डर ग्लेन होडलले माराडोनाबारे चेतावनी दिएका थिए । उनले भने, ‘सन् १९८२ को विश्वकपपछि म्याराडोना धेरै परिपक्व भएका छन् । उनी अहिले अत्यन्त खतरनाक खेलाडी बनेका छन् ।’

होडलले इङ्ल्यान्डले म्याराडोनामाथि विशेष निगरानी राख्ने कि नराख्ने भन्नेबारे पनि विचार गरेका थिए । उनले लेफ्ट–ब्याक केनी सान्समलाई उनको जिम्मा लगाउन सकिने बताएका थिए ।

तर उनले अन्त्यमा भने, ‘हामीले एउटै खेलाडीका कारण आफ्नो सम्पूर्ण खेल शैली परिवर्तन गर्नु हुँदैन। त्यसो गर्दा पूरै टोलीको संरचना बदल्नुपर्ने हुन्छ ।’

‘ह्यान्ड अफ गड’ र शताब्दीको गोल

खेल सुरु हुनुअघि अर्जेन्टिनी खेलाडीहरूले इङ्ल्यान्डका प्रत्येक खेलाडीलाई उपहार दिएका थिए ।

तर खेलको ५१औं मिनेटमा विश्व फुटबलको सबैभन्दा विवादास्पद क्षण जन्मियो । डिएगो म्याराडोनाले हात प्रयोग गरेर बललाई इङ्ल्यान्डको गोलपोस्टभित्र पुर्याए । रेफ्रीले गोललाई मान्यता दिए ।

केवल चार मिनेटपछि भने उनले इतिहासकै उत्कृष्ट गोलमध्ये एक गोल गरे । आफ्नै क्षेत्रबाट बल अघि बढाउँदै उनले इङ्ल्यान्डका धेरै खेलाडीलाई छलाएर गोल गरे । पछि यो गोललाई फिफाले ‘शताब्दीको उत्कृष्ट गोल’ को रूपमा मान्यता दियो ।

ग्यारी लिनेकरले प्रतियोगितामा आफ्नो छैटौं गोल गर्दै अन्तर घटाए पनि इङ्ल्यान्ड २–१ ले पराजित भयो ।

बबी रोब्सनको प्रतिक्रिया

हारपछि बबी रोब्सनले राजीनामा दिन अस्वीकार गरे । बरु बाँकी विश्वकप हेर्न आफू मेक्सिकोमै बस्ने घोषणा गरे । उनले भने, ‘हामी लज्जित वा अपमानित भएका छैनौं । हामी अन्तिम आठ टोलीभित्र पुग्यौं । ठूलो सफलता नजिक पुगेका थियौं । अन्ततः एउटा विवादास्पद गोलका कारण मात्र पराजित भयौं ।’

ह्याण्ड अफ गड 

उता, संसारले स्पष्ट रूपमा हातले गोल गरेको देखे पनि माराडोनाले त्यसलाई स्वीकार गरेनन् । बरु उनले विश्व फुटबलकै सबैभन्दा चर्चित अभिव्यक्ति दिए ।

उनले भने, ‘त्यो गोल केही हदसम्म भगवानको हातबाट र केही हदसम्म माराडोनाको टाउकोबाट भएको थियो।’

यही भनाइसँगै उक्त गोल ‘ह्यान्ड अफ गड’ नामले विश्वभर प्रसिद्ध बन्यो ।
 
त्यो खेलले इङ्ल्यान्ड–अर्जेन्टिना प्रतिद्वन्द्वितालाई अझ भावनात्मक, राजनीतिक र ऐतिहासिक बनाइदियो । फोकल्यान्ड युद्धको पीडा अझ ताजा रहेका बेला भएको यो भिडन्त फुटबलको सीमाभन्दा धेरै माथिको विषय बन्यो । माराडोनाको एक विवादास्पद गोल र अर्को अद्भूत गोलले विश्व फुटबलको इतिहास नै परिवर्तन गरिदियो।

३० जुन १९९८ : विश्वकप अन्तिम–१६  दश सिंह र एउटा मूर्खतापूर्ण क्षण

सन् १९९८ को मे ३१ मा बेलायती पप संगीत जगतमा ठूलो घटना भयो। स्पाइस गर्ल्स समूहकी सदस्य गेरी हलिवेलले समूह छाडिन्, जसले ब्यान्डको भविष्य नै अन्योलमा पारिदियो । त्यसको भोलिपल्ट दक्षिण–पूर्वी स्पेनको ला माङ्गास्थित टोलीको होटलमा इङ्ल्यान्डका प्रशिक्षक ग्लेन होडलले अर्को ठूलो निर्णय सुनाए । उनले सन् १९९० को दशकका सबैभन्दा लोकप्रिय इङ्लिस फुटबलरमध्ये एक पल गास्कोइनलाई फिटनेस र अनुशासनसम्बन्धी समस्याका कारण विश्वकप टोलीमा नराख्ने जानकारी दिए ।

पछि द सन पत्रिकालाई दिएको अन्तर्वार्तामा जसका लागि उनले १ लाख ३० हजार पाउन्ड पारिश्रमिक पाएको बताइएको थियो, गास्कोइनले भने, ‘ग्लेनले त्यो निर्णय सुनाउँदा म अत्यन्त रिसाएको र दुःखी भएको थिएँ । म पूर्ण रूपमा नियन्त्रण गुमाएको थिएँ ।’

होडलले भने आफ्नो निर्णयको बचाउ गर्दै भने, ‘मैले पलका लागि धेरै जोखिम उठाएँ । आधुनिक फुटबलमा ३१ वर्षको उमेरमा सफल हुन के आवश्यक छ भन्ने बुझाउन मैले धेरै प्रयास गरेँ ।’

टेलिभिजन प्रस्तोता तथा गास्कोइनका घनिष्ठ मित्र क्रिस इभान्सले भने इङ्ल्यान्डमा उनीभन्दा राम्रो २२ खेलाडी नभएको दाबी गरे । गास्कोइनको रात्रिकालीन जीवनबारे सञ्चारमाध्यममा आएका समाचारलाई संकेत गर्दै उनले व्यंग्यात्मक रूपमा भने, ‘उसले चिकेन कबाब खाएको होस् वा नहोस्, त्यसले केही फरक पार्दैन ।’

तर सन् १९६६ को विश्वकप विजेता एलन बलले भने होडलको निर्णयको समर्थन गरे । उनले भने, ‘गास्कोइनसँग दोष दिन अरू कोही छैन, उनी स्वयं जिम्मेवार छन् ।’

अर्को विवाद : टेडी शेरिङ्घम

जुन ५ मा द सनले अर्को समाचार प्रकाशित गर्यो । त्यसअनुसार म्यानचेस्टर युनाइटेडका स्ट्राइकर टेडी शेरिङ्घम दुई दिनअघि पोर्चुगलको अल्बुफेरास्थित एउटा नाइट क्लबमा बिहान ६ः४५ बजेसम्म धूम्रपान, मदिरापानसँगै रमाइलो गरिरहेका थिए ।

सर बबी चार्ल्टन यस घटनाबाट निकै असन्तुष्ट थिए । होडल पनि निराश थिए । तर फिफाको नियमअनुसार शेरिङ्घम घाइते नभएकाले उनलाई टोलीबाट हटाउन सकिँदैनथ्यो ।

बेकह्याम अझै मुख्य पात्र बनेका थिएनन्

विश्वकप सुरु हुनुअघि डेभिड बेकह्यामबारे धेरै चर्चा भएको थिएन । विश्वकप छनोटका सबैजसो खेल खेलेका उनी ट्युनिसियाविरुद्धको पहिलो खेलमा बेन्चमा राखिए । उनको स्थानमा लेफ्ट विङमा ड्यारेन एन्डर्टनलाई खेलाइयो भने मध्यपङ्क्तिमा पल इन्स र डेभिड ब्याट्टीलाई उतारियो ।

त्यतिबेला धेरैको धारणा थियो कि बेकह्यामको उत्कृष्ट स्थान दायाँ विङ होइन, भविष्यमा उनी केन्द्रीय मिडफिल्डमा खेल्नेछन् ।

ट्युनिसियालाई हराएपछि बेकह्यामले भने, ‘म पूर्ण रूपमा निराश भएको थिएँ । विश्वकपअघिसम्म मैले सबै खेल खेलेको थिएँ । पहिलो खेलको सुरुआती टोलीमा नराखिने कुरा सुन्न निकै कठिन थियो । म अत्यन्त तनावमा थिएँ । धेरैले भनेझैँ म रिसाएर बस्न सक्थेँ, तर त्यसो गरिनँ ।’

रोमानियासँगको हार र परिवर्तन

दोस्रो खेलमा रोमानियासँग पराजित भएपछि होडलले आफ्नो निर्णय परिवर्तन गरे । उनले सञ्चारमाध्यमको दबाबका बीच १८ वर्षीय माइकल ओवेन र डेभिड बेकह्यामलाई कोलम्बियाविरुद्ध सुरुआती टोलीमा राखे ।

होडलले भने, ‘डेभिड विश्वकपमा कुनै न कुनै समयमा खेल्नेछ भन्ने मलाई पहिलेदेखि नै थाहा थियो । अहिले उनी पूर्ण रूपमा फुटबलमै केन्द्रित छन् । उनी प्रतिभाशाली खेलाडी हुन् ।’

त्यतिबेला बेकह्याम स्पाइस गल्र्सकी सदस्य भिक्टोरिया एडम्ससँगको सम्बन्धका कारण सेलिब्रिटी जीवनशैलीमा रमाइरहेका थिए । होडलले त्यसले केही समय उनको ध्यान फुटबलबाट हटाएको संकेत गरेका थिए ।

कोलम्बियाविरुद्ध बेकह्यामले फ्रिकिकमार्फत इङ्ल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। इङ्ल्यान्ड २–० ले विजयी भयो ।

अर्जेन्टिनासँग फेरि भेट

अब इङ्ल्यान्डको सामना सेन्ट–एटियेनमा अर्जेन्टिनासँग हुने भयो । होडल स्वयं सन् १९८६ मा म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलका पीडित टोलीका सदस्य थिए ।

उनले भने, ‘त्यो खेल जितिएको तरिकाले आजसम्म पनि मेरो मनमा तितोपन बाँकी छ । मलाई ‘बदला’ भन्ने शब्द मन पर्दैन, तर सन् १९८६ मा के भएको थियो भन्ने हामी सबैलाई थाहा छ । अब त्यो अवस्थालाई उल्ट्याउने अवसर आएको छ ।’

उनको विश्वास थियो कि इङ्ल्यान्ड अब विश्वका ठूला फुटबल राष्ट्रसँग प्रतिस्पर्धा गर्न अझ सक्षम भइसकेको छ ।

उनले भने, ‘यो निकै कठिन लडाइँ हुनेछ, उत्कृष्ट खेल हुनेछ ।’

उनको अनुमान सही साबित भयो ।

ओवेनको जादु

पहिलो हाफमै माइकल ओवेनले विश्वकप इतिहासमा इङ्ल्यान्डका तर्फबाट गरिएका सबैभन्दा उत्कृष्ट गोलमध्ये एक गोल गरे ।

हाफ टाइमसम्म खेल २–२ को बराबरीमा थियो । तर दोस्रो हाफको सुरुमै खेलको दिशा बदलियो । डेभिड बेकह्यामले डिएगो सिमेओनेलाई एडीले हल्का प्रहार गरे । रेफ्रीले त्यसलाई जानाजानी गरेको व्यवहार ठहर गर्दै सिधै रातो कार्ड देखाए । त्यही एक क्षणले धेरै मानिसको जीवनको दिशा नै बदलिदियो ।

बेकह्यामका लागि त्यही घटना उनको खेल जीवनपछिको सार्वजनिक छविसमेत निर्धारण गर्ने मोड बन्यो । इङ्ल्यान्डले त्यसपछि करिब ८० मिनेट एक खेलाडी कम भएर खेल्नुपर्यो । होडलले तुरुन्तै कुनै खेलाडी परिवर्तन गरेनन् । बरु टोलीको संरचना पुनः मिलाउने प्रयास गरे । खेल अन्ततः पेनाल्टी सुटआउटमा पुग्यो र इङ्ल्यान्ड ४–३ ले पराजित भयो ।

पल इन्स र डेभिड ब्याट्टीले पेनाल्टी चुकाए । तर सबैभन्दा ठूलो आलोचना भने डेभिड बेकह्याममाथि खनियो । होडलले भने, ‘रातो कार्ड मूर्खतापूर्ण थियो र त्यसले हामीलाई ठूलो क्षति पुर्यायो । यद्यपि मैले डेनिस रेफ्री किम मिल्टन निल्सेनले उनलाई पहेंलो कार्ड मात्र देखाउने अपेक्षा गरेको थिएँ । डेभिडले यसबाट सिक्नुपर्छ । उनी उत्कृष्ट खेलाडी हुन् र आशा छ, अर्को विश्वकप पनि खेल्नेछन्। तर गल्तीबाट पाठ सिक्नैपर्छ ।’

बेकह्यामको स्थान गुमाएका डेभिड ब्याट्टीले भने सहानुभूति देखाएनन् ।

उनले भने, ‘मेरो विचारमा बेकह्यामले रातो कार्ड पाउन योग्य थिए । यसभन्दा कम गल्तीमा पनि अन्य खेलाडीहरू मैदानबाट निकालिएका छन्।’

ब्याट्टीले आफूले जीवनमा कहिल्यै पेनाल्टी नहानेको पनि खुलासा गरे । उनले भने, ‘म त अभ्यासमै पनि पेनाल्टी हान्दिनँ । पेनाल्टी सुटआउटमा हान्नुपर्ने दिन आउला भन्ने कहिल्यै सोचेको थिइनँ ।’

डेभिड बेकह्याममाथिको आलोचना र सर एलेक्स फर्गुसनको बचाउ

अर्जेन्टिनासँगको हारपछि डेभिड बेकह्याममाथि बेलायतभर चर्को आलोचना सुरु भयो । उनलाई राष्ट्रिय टोलीको हारको मुख्य दोषी ठहर गरियो । म्यानचेस्टर युनाइटेडले भने आफ्ना २३ वर्षीय स्टार खेलाडीलाई जोगाउने प्रयास गर्यो ।

त्यतिबेला क्लबका निर्देशक सर बबी चाल्र्टनले भने, ‘डेभिडले केही समयसम्म यो सबै आलोचना सहनुपर्नेछ । हारको दोष कसैमाथि त जान्छ नै र यसपटक त्यो डेभिडमाथि परेको छ । तर उनलाई धेरैको साथ छ र उनी यस अवस्थाबाट बाहिर निस्कनेछन् ।’

त्यतिबेला अझै ‘सर’ उपाधि नपाइसकेका प्रशिक्षक एलेक्स फर्गुसनले त रातो कार्ड नै गलत निर्णय भएको दाबी गरे ।

उनले भने, ‘उनले खुट्टा हल्का चलाएका मात्र थिए । त्यसले त एउटा अन्डासमेत फुट्दैनथ्यो । तर त्यसपछि सञ्चारमाध्यमका केही समूहले डेभिडसँग गरेको व्यवहारले हाम्रो देशमा खेलप्रतिको सोच नै पागलपनतर्फ गएको हो कि भन्ने लाग्छ ।’

फर्गुसनले रेफ्री किम मिल्टन निल्सेनबारे अर्को अनुमान पनि लगाए । अघिल्लो वर्ष च्याम्पियन्स लिगमा पोर्टोविरुद्धको खेलमा पनि निल्सेनले बेकह्यामलाई मैदानबाहिरको घटनामा पहेंलो कार्ड देखाएका थिए ।

फर्गुसनका अनुसार रेफ्रीले सायद सोचे, ‘मैले तिमीलाई एकपटक अवसर दिएको थिएँ, तर तिमीले त्यसबाट केही सिकेनौ । त्यसैले यसपटक तिमी बाहिर ।’

७ जुन २००२ : विश्वकप समूह चरण – बेकह्यामको पुनरागमन

सन् २००२ को विश्वकपअघि इङ्ल्यान्डका प्रशिक्षक स्वेन–गोरान एरिक्सनले स्पष्ट रूपमा भने, ‘डेभिडलाई घर फर्काउनु टोली, इङ्ल्यान्ड, स्वयं डेभिड र विश्वकप—सबैका लागि अत्यन्त खराब हुनेछ ।’

त्यतिबेला बेकह्यामको फिटनेस ठूलो प्रश्न बनेको थियो । चार वर्षमा धेरै कुरा बदलिएको थियो । सन् १९९८ मा रातो कार्डका कारण आलोचित बनेका बेकह्याम अहिले इङ्ल्यान्डका कप्तान भइसकेका थिए ।

अक्टोबर २००१ मा ग्रीसविरुद्धको विश्वकप छनोट खेलमा अन्तिम समयमा फ्रिकिकमार्फत गोल गर्दै उनले इङ्ल्यान्डलाई विश्वकपमा पुर्याएका थिए । त्यसभन्दा एक महिना अघि इङ्ल्यान्डले म्युनिखमा जर्मनीलाई ५–१ ले हराएको थियो ।

तर अप्रिल १०, २००२ मा च्याम्पियन्स लिग खेल्दा म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका बेकह्यामको देब्रे खुट्टाको दोस्रो औँला भाँचिएको थियो ।

४६ दिनपछि मे २६ मा जब उनका टोलीका साथीहरूले क्यामरुनविरुद्ध अभ्यास खेल खेलिरहेका थिए, बेकह्यामले पहिलोपटक बलसँग प्रशिक्षण गरे । दुई दिनपछि उनी टोलीसँग नियमित अभ्यासमा फर्किए ।

त्यसको दुई दिनपछि मार्टिन किओनले अभ्यासका क्रममा उनलाई पूर्ण शक्तिका साथ ट्याकल गरे ।

बेकह्यामले त्यस घटनालाई सम्झँदै भने, ‘उनले म ठीक छु कि छैन भनेर सोधेनन्। अर्को ट्याकलतिर लागिहाले।’

अर्जेन्टिनासँग फेरि निर्णायक भेट

तीन दिनपछि जापानको साइटामामा भएको विश्वकपको पहिलो खेलमा बेकह्याम कप्तानका रूपमा मैदानमा उत्रिए । स्विडेनविरुद्ध उनले ६४ मिनेट खेले । खेल १–१ को बराबरीमा सकियो । उता अर्जेन्टिनाले नाइजेरियालाई १–० ले हरायो ।

पाँच दिनपछि दुवै टोली साप्पोरो डोममा आमनेसामने भए ।

अर्जेन्टिनाको आर्थिक संकट

त्यतिबेला अर्जेन्टिना गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो । अनुमानअनुसार देशको आधा जनसंख्या गरिबीको रेखामुनि पुगेको थियो । हिंसात्मक प्रदर्शन दैनिकजस्तै भइरहेका थिए । उत्तरपश्चिमी टुकुमान प्रान्तमा कुपोषणका कारण बालबालिकाको मृत्यु भइरहेको थियो, जबकि अर्जेन्टिना विश्वकै प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो ।

सन् १९९८ मा अमेरिकी डलरसँग १ः१ बराबरीमा रहेको अर्जेन्टिनी पेसो सन् २००२ सम्म आइपुग्दा १ डलर बराबर ३.६ पेसोमा झरेको थियो । यस्तो अवस्थामा अर्जेन्टिनी सञ्चारमाध्यमले समेत फुटबलको महत्त्व देशका अन्य गम्भीर समस्याभन्दा किन ठूलो बनिरहेको छ भन्ने प्रश्न उठाइरहेका थिए ।

माराडोना अनुपस्थित

सन् २००२ को विश्वकपका लागि मेक्सिकन टेलिभिजनमा विश्लेषकका रूपमा काम गर्न नियुक्त गरिएका डिएगो म्याराडोनालाई जापान प्रवेश गर्न अनुमति दिइएन ।

सन् १९९१ मा इटालीमा कोकिन परीक्षणमा असफल भएपछि लगाइएको प्रतिबन्धका कारण उनको भिसा अस्वीकृत भएको थियो ।

फोकल्यान्ड युद्धको स्मरण

अर्जेन्टिनाका गोलकिपर पाब्लो काभालेरोले भने, ‘सायद फुटबल र फकल्यान्ड युद्धलाई एकै ठाउँमा राख्नु हुँदैन । तर त्यसो नगर्न निकै कठिन छ । यो हरेक अर्जेन्टिनीले खेल्न चाहने खेल हो, विशेष गरी यदि तपाईंले सन् १९८२ मा आफ्ना साथी वा परिवारका सदस्य गुमाउनुभएको छ भने ।’

बेकह्यामको बदला

जापानी सञ्चारमाध्यमले यो खेललाई सन् १९७४ मा पूर्वी जर्मनी र पश्चिम जर्मनीबीच भएको विश्वकप खेलपछि सबैभन्दा प्रतीक्षित समूह चरणको खेल भनेका थिए ।

खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफको अन्त्यतिर अर्जेन्टिनाका डिफेन्डर माउरिसियो पोचेटिनोले माइकल ओवेनलाई लडाए । इङ्ल्यान्डले पेनाल्टी पायो । डिएगो सिमेओनेले पेनाल्टीअघि बेकह्यामसँग हात मिलाउन खोजे ।

निक्की बटले भने उनलाई धकेलेर टाढा पुर्याइदिए ।बेकह्यामले हानेको पेनाल्टी गोलकिपर काभालेरोले दिशा अनुमान गरे पनि रोक्न सकेनन् ।पछि खेलका क्रममा बेकह्यामले किली गोन्जालेजको अनुहारमा कुहिनो प्रहार गर्दा अर्जेन्टिनी खेलाडीको धेरै रगत बगेको थियो ।

तर विश्वप्रसिद्ध रेफ्री पियरलुइजी कोलिनाले बेकह्यामलाई कार्डसमेत देखाएनन् । अर्जेन्टिनाका कप्तान डिएगो सिमेओनेले खेलपछि भने, ‘हामीसँग अधिकांश समय बल थियो । तर ओवेनको एउटा क्षणका कारण हामी हार्यौं।’

अर्जेन्टिनी दैनिक क्लारिनले शीर्षक लेख्यो, ‘कल्पनाबाहिरको हार । यो वास्तविक हार थियो। अन्तिम हार ।’

उता बेलायतको डेली स्टारले सन् १९८२ को फोकल्यान्ड युद्धका बेला प्रयोग गरिएको ‘न्यतअजब’ शीर्षकलाई फेरि प्रयोग गर्यो ।

यसप्रति अर्जेन्टिनी पत्रिका ओलेले दुःख व्यक्त गर्दै लेख्यो, ‘सन् १९८२ को माल्भिनास युद्धलाई फेरि स्मरण गराउँदै शुक्रबारको फुटबल जितसँग तुलना गर्नु दुःखद थियो ।’

अन्ततः अर्जेन्टिना समूह चरणबाटै बाहिरियो । इङ्ल्यान्ड भने क्वार्टरफाइनलसम्म पुग्यो, जहाँ उसलाई ब्राजिलले पराजित गर्यो ।

१२ नोभेम्बर २००५ : मैत्रीपूर्ण खेल, अन्तिम भेट

डेभिड बेकह्यामले खेलअघि भनेका थिए, ‘यो निकै अनौठो छ । रियल म्याड्रिडमा मेरो पहिलो सिजनभरि हरेक ट्याकल, हरेक पहेंलो कार्ड वा हरेक विवादमा कुनै न कुनै अर्जेन्टिनी खेलाडी संलग्न हुन्थ्यो । यो साँच्चै अचम्मको थियो । तर मलाई अर्जेन्टिनी खेलाडीहरूसँग कुनै व्यक्तिगत समस्या छैन ।’

अब उनले फेरि अर्जेन्टिनाविरुद्ध खेल्नुपर्ने थियो । यो खेल सामान्य मैत्रीपूर्ण खेलजस्तो थिएन । स्विट्जरल्यान्डको ३० हजार दर्शक क्षमताको स्टेड दे जेनेभ रंगशालामा शनिबार राति खेल आयोजना गरिएको थियो । यो खेल स्विस खेलकुद मार्केटिङ कम्पनी केन्टारोले आयोजना गरेको थियो । त्यतिबेला उक्त कम्पनीसँग ब्राजिलका मैत्रीपूर्ण खेलहरूको व्यावसायिक अधिकारसमेत थियो । पछि सन् २०१४ मा यसको बेलायती शाखा बन्द भएको थियो ।

अविस्मरणीय पुनरागमन

खेल त्यो समयकै उत्कृष्ट मैत्रीपूर्ण खेलहरूमध्ये एक बन्यो । इङ्ल्यान्ड लगभग पूर्ण शक्तिमा मैदानमा उत्रिएको थियो । वेन रुनी, स्टिभेन जेरार्ड र फ्र्याङ्क ल्याम्पार्ड सुरुआती टोलीमा थिए । लेड्ली किङले होल्डिङ मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए । उता अर्जेन्टिनाको खेल सञ्चालनको जिम्मा हुवान रोमन रिकेल्मेमाथि थियो । जो कोल र पिटर क्राउच इङ्ल्यान्डका प्रभावशाली वैकल्पिक खेलाडीका रूपमा मैदानमा आए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इङ्ल्यान्ड २–१ ले पछि परेको थियो । त्यसपछि माइकल ओवेनले बराबरी गोल फर्काए । इन्जुरी समयमा जो कोलले उत्कृष्ट क्रस गरे । पिटर क्राउचभन्दा अगाडि पुगेर माइकल ओवेनले हेडमार्फत विजयी गोल गरे । इङ्ल्यान्डले ३–२ को अविस्मरणीय जित निकाल्यो ।

ओवेनको अन्तिम महान अध्याय

त्यतिबेला माइकल ओवेन २५ वर्षका थिए । त्यो इङ्ल्यान्डका लागि उनको ७५औं अन्तर्राष्ट्रिय खेल थियो । त्यसअघिको विश्वकप छनोटमा पोल्यान्डविरुद्ध उनी टोलीका कप्तानसमेत बनेका थिए ।

अर्जेन्टिनाविरुद्ध गरेका ३४औं र ३५औं अन्तर्राष्ट्रिय गोलपछि उनले सर बबी चाल्र्टनको ४९ गोलको कीर्तिमान तोड्ने सम्भावना बलियो देखिएको थियो ।

तर त्यसपछि उनले इङ्ल्यान्डका लागि केवल १५ खेल मात्र खेले । ती खेलमा उनले पाँच गोल थपे ।

तर तीमध्ये एउटा पनि गोल विश्वकपको अन्तिम चरणमा आएन ।

युवा लियोनेल मेसी किन खेलेनन् ?

त्यतिबेला १८ वर्षीय लियोनेल मेसीले अर्जेन्टिनाका लागि चार अन्तर्राष्ट्रिय खेल खेलिसकेका थिए । उनी त्यो खेल खेल्न सक्थे । त्यसअघि उनी त्यही वर्ष भएका तीन विश्वकप छनोट खेलमा पनि सहभागी भएका थिए ।

तर अगस्ट २००५ मा हंगेरीविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गर्ने क्रममा मैदान प्रवेश गरेको केवल ४७ सेकेन्डमै रातो कार्ड पाएपछि फिफाले उनलाई निलम्बन गरेको थियो ।त्यही प्रतिबन्धका कारण उनी इङ्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल खेल्न पाएनन् ।

पेकरमानको आत्मविश्वास

खेलपछि अर्जेन्टिनाका प्रशिक्षक होसे पेकरमानले भने, ‘यदि अर्को वर्ष जर्मनीमा हुने विश्वकपमा फेरि इङ्ल्यान्डसँग हाम्रो भेट भयो भने हामी निश्चित रूपमा जित्नेछौं ।’ तर उनको त्यो भविष्यवाणी कहिल्यै परीक्षण हुन पाएन । किनकि सन् २००६ को विश्वकपमा इङ्ल्यान्ड र अर्जेन्टिना दुवै टोली क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् ।

६४ वर्ष लामो प्रतिस्पर्धाको सार

सन् १९६२ को पहिलो विश्वकप भेटदेखि सन् २००५ को अन्तिम भिडन्तसम्म इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सम्बन्ध केवल फुटबलमा सीमित रहेन । यसमा इतिहास, राजनीति, फकल्यान्ड (माल्भिनास) युद्धको पीडा, विवादास्पद रेफ्री निर्णय, एन्टोनियो रात्तिनको रेड कार्ड, सर अल्फ राम्सेको ‘जनावर’ टिप्पणी, डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’, माइकल ओवेनको अविस्मरणीय गोल, डेभिड बेकह्यामको रेड कार्ड र त्यसपछि भएको पुनरागमनजस्ता घटनाहरू एक–अर्कासँग जोडिए ।

यी सबै घटनाले इङ्ल्यान्ड–अर्जेन्टिना प्रतिस्पर्धालाई विश्व फुटबलकै सबैभन्दा भावनात्मक, ऐतिहासिक र चर्चित प्रतिद्वन्द्वितामध्ये एक बनाएका छन् । (द टेलिग्राफबाट अनुदित तथा सम्पादित)

अन्य सामग्रीहरू :

केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ?

पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल

कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी

इङ्ग्ल्यान्डको नायक बेलिङ्घम

सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा

यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम

हालान्डको नाममै उन्माद

‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू

विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा

विश्वकपको उपाधि होड थप रोमाञ्चक

क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्

हालान्ड : दि नर्वेजियन हिरो

चम्किँदै भिनिसियस जुनियर

गोल्डेन बुटका दाबेदार

विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन

डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती 

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] 

विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान 

मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेख

Share News