एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई बोनस डेटा, कल र भिडियो सेवा
काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन् । बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ । 'एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,' एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । 'क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं,' एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ । एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँ अनलिमिटेड डेटा, २०० रुपैयाँ कम्बो, २०० रुपैयाँ कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, ५९९ रुपैयाँ होम एन्ड अवे, ५९९ रुपैयाँ होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल, ९९ रुपैयाँ अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन् । यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् । जस्तै, ९९ रुपैयाँ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, ५९९ रुपैयाँ होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ । एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)बाट सुरुभई मंसिर २७ सम्म चल्नेछ । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्ने कम्पनीको विश्वास छ ।
देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
एनपीएल : पहिलो संस्करणभन्दा दोब्बर कमाउने रणनीति, फ्लडलाइट र प्याराफिटले तान्नेछ दर्शक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि आयोजना गर्न लागेको नेपाल प्रिमियम लिग (एनपीएल)ले यतिखेर खेल क्षेत्र तातिरहेको छ । खेलप्रेमीहरुले महाकुम्भका रुपमा लिने एनपीएललाई लिएर खेलाडी र खेलप्रेमीहरु उत्साहित छन् । विशेषगरि पहिलो संस्करणभन्दा थप सेवा सुविधा थप गरेर हुन लागेको एनपीएलमा यस पटकको सबैभन्दा ठूलो उपलब्धि फ्लडलाइट र सुविध सम्पन्न प्याराफिट हो । एनपीएल सुरु हुन अब तीन दिन मात्रै बाँकी रहँदा दिनप्रतिदिन यसको माहोल बढ्दै गएको छ । एनपीएलको दोस्रो संस्करणाक अधिकांश खेलहरु फ्लडलाइटमा हुनेछन् । पानी पर्दा छाता ओडेर समेत खेल हेर्ने दर्शकले यसपटक भने सुविधासम्पन्न र व्यवस्थित प्याराफिटमा बसेर खेलको आनन्द लिनेछन् । एनपीएल दोस्रो संस्करण पहिलो संस्करणभन्दा झन् रोमाञ्चक हुने अपेक्षा क्रिकेट संघको छ । नेपाल क्रिकेट संघका अनुसार नेपाल प्रिमियर लिग यसवर्ष थप व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत हुनेछ । क्यानले गत वर्षको अनुभवबाट सिक्दै पूर्वाधार विकास र व्यवस्थापकीय पक्षमा ठूला सुधारहरू गरेको दाबी गरेको छ । मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको यस संस्करणमा दर्शक र खेलाडी दुवैका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष एनपीएलका लागि महत्वपूर्ण भौतिक पूर्वाधारहरू तयार गरिएका छन् । यसपटक नयाँ स्टेडियम निर्माण भएसँगै फ्लडलाइटको पनि व्यवस्था गरिएको छ । जसले रात्रिकालीन खेल सञ्चालन गर्न सहज हुनेछ । यी परिवर्तनहरूले लिगलाई नयाँ आयाम थपेको उनको भनाइ छ । प्रवक्ता लामाले पहिलो वर्ष सिक्ने क्रममा रहेको र यसवर्ष पूर्ण रूपमा तयार भएको बताएका छन् । व्यवस्थापकीय हिसाबले क्यान अब अझ व्यवस्थित तरिकाले काम गर्न सक्षम रहेको र लिग सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ । ‘खेलाडीका लागि उत्कृष्ट खेल मैदान उपलब्ध गराउन ७/८ महिनादेखि पिच र आउटफिल्डको तयारी गरिएको छ । पिचको अवस्था एकदम राम्रो रहेको र यसले टी-ट्वान्टी क्रिकेटका लागि उत्कृष्ट वातावरण प्रदान गर्ने विश्वास लिएका छौं’, प्रवक्ता लामाले विकासन्युजसँग भने । यस वर्ष विदेशी खेलाडीहरूको हकमा पनि केही परिवर्तनहरू गरिएका छन् र ठूला नामहरू लिगमा सहभागी हुनेछन् । यसले खेलको स्तर र प्रतिस्पर्धालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । क्यानले खेल तालिका र टाइमसिट यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा फ्लडलाइटमा खेलिने र नखेलिने म्याचहरूको विवरण समावेश छ । यस वर्षको लिग असाध्यै राम्रो र रोमाञ्चक हुने, दर्शकले पूर्ण मनोरञ्जन लिन पाउने क्यानको बुझाइ छ । टिकट बिक्रीका लागि खल्ती एपसँग सहकार्य गरिएको छ । दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् । क्यानले बिहीबार नै टिकट शुल्कको विवरण सार्वजनिक गरिसकेको छ । टिकटमा प्रिमियम र जनरल गरी दुई प्रकारका श्रेणी रहनेछन् । यसका साथै, १५ हजार रुपैयाँको सिजनल पास उपलब्ध हुनेछ । जसले सम्पूर्ण खेल हेर्न पाउने सुविधा प्रदान गर्नेछ । ओपनिङ, प्लेअफ र फाइनल खेलका लागि भने फरक शुल्क तोकिएको छ । जसमा पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरिएको छ । पहिलो दिन र शनिवारका लागि साधारण प्याराफिटको टिकट ५ सय र भीआईपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भीआइपीतर्फ १ हजार कायम गरिएको छ । प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार तोकिएको छ । क्यानले गत वर्ष सामान्यतर्फ तीन सय र भीआइपीतर्फ सात सय रुपैयाँ टिकट शुल्क निर्धारण गरेको थियो । त्यस्तै प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआइपीतर्फ सात सयको टिकट शुल्क तोकेको थियो । गत वर्ष फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको थियो । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआइपीतर्फ आठ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको थियो । यस वर्ष टिकट शुल्क पनि लगभग दोब्बर नै तोकिएको छ । क्यानले टिकट शुल्कबाट नै गत वर्षको तुलनामा दोब्बर नाफा गर्ने रणनीति बनाएको छ । नयाँ बनेको त्रिवि क्रिकेट मैदानमा १३ हजार दर्शक अटाउन सक्ने क्षमता रहेको छ । क्यानका अनुसार करिब ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने विज्ञापनबाट मात्रै करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुने जनाएको छ । त्यस्तै ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड रुपैयाँ कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ । त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउने छ । रंगशालामा टिकट बिक्रिबाट करिब ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ। त्यस्तै क्यानका अनुसार पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजर ८ सय १८ रुपैयाँ आम्दानी भएको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा भएको थियो । यस वर्षको नेपाल प्रिमियर लिगले दर्शक र क्रिकेटप्रेमीहरूलाई एउटा नयाँ र स्मरणीय अनुभव प्रदान गर्ने तयारीमा क्यान जुटेको छ । पहिलो संस्करण जस्तै यो संस्करणमा पनि ८ टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । जसमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो भने यस संस्करणमा पनि उपाधि भेट्टाउने लक्ष्यकासाथ अधिकांश टीमले विश्वप्रसिद्ध खेलाडीहरू अनुबन्ध गरेका छन् । गत वर्ष विजेता टिम जनकपुर बोल्ट्सले १ करोड १० लाख, उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो । ८ टीममा कुन खेलाडी कहाँ ? जनकपुर बोल्ट्स पहिलो संस्करणमा प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा उपाधि जितेको जनकपुरले यस संस्करणमा भने मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । दोस्रो संस्करणका लागि बोल्ट्सले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक बनाएको छ । जसमा जनकपुरका मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह रहेका छन् । पहिलो संस्करणमा ९ खेलाडी रहेका थिए । यसपटक पनि यी नै खेलाडी टीम छन् । जनकपुरले आसिफ, कप्तान अनिल, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुल बहादुर थापालाई दोहोर्याएको हो । यसैगरी यसपटक न्युजिल्यान्डका जिम्मी निसम टीममा रहने छैनन् । उनी यसपटक पोखरा गोर्खाजमा गएका छन् । जनकपुरले इमरान ताहिर, वायने पार्नेल र मिलन्थालाई अनुबन्ध गरिसकेको क्यानले जनाएको छ । अझै केही विदेशी खेलाडी घोषणा हुन बाँकी रहेका छन् । सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । टीममा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई छन् । यस्तै, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले विदेशी खेलाडीमा अस्ट्रेलियाका जोस ब्राउन, क्रिस लेन र स्कट कुग्गेलिनलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजेता बन्दा सुदूरपश्चिम रोयल्सले उपविजेतामा चित्त बुझाएको थियो । कर्णाली याक्स कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् । टीममा गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश विक्रमसिंह ठकुरी र विपिन शर्मा छन् । यसैगरी विदेशी खेलाडीमा अष्ट्रेलियाका विल बोसिस्टो र नेदरल्याण्ड्सका म्याक्स ओडाउड छन् । काठमाडौं गोर्खाज काठमाडौं गोर्खाजका लागि करण केसी मार्की खेलाडी हुन् । टीमले भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई दोहोर्याएको छ । यस्तै उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम टीम छन् । गोर्खाजले विदेशी खेलाडीको कोटा पूरा गर्दै दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंग्ल्याण्डका बेन चाल्र्सवर्थ, अमेरिकी सन्नी पटेल र जोहन सिम्पसनलाई अनुबन्ध गरेको छ । लुम्बिनी लायन्स लुम्बिनी लायन्स राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ । लुम्बिनी लायन्सले पहिलो संस्करणमा सोचेजस्तो प्रदर्शन गर्न नसके पनि पौडेलको व्यक्तिगत खेल भने उल्लेखनीय थियो । लुम्बिनीले अफगानिस्तानका गुलबदीन नैब, इटालीका बलर थोमस ड्राका र अष्ट्रेलियाका डी’आर्सी सर्टलाई अनुबन्ध गरेको छ । यसमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई दोहोर्याएको छ । यस्तै दिलीप नाथ, दुर्गेश गुप्ता, शेर मल्ल, आदिल खान र विशाल पटेल टीममा छन् । चितवन राइनोज चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । जसमा रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौतेला, गौतम केसी र कमलसिंह ऐरीलाई दोहोर्याएको छ । यस्तै अर्जुन साउद, देव खनाल, विपिन रावल, रञ्जित कुमार र विपिन आचार्य टीममा छन् । चितवनले इंग्ल्यान्डका डेविड मलान, रवी बोपारा, सेफ अली जैब र पाकिस्तानका सोहेल तन्विरलाई अनुबन्ध गरेको छ । विराटनगर किंग्स विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । जसमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । टीममा प्रतिश जिसी, लोकेश बम, बसीर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन् । विराटनगरमा नेपाली राष्ट्रिय टोलीसमेत सम्हालिसकेका पहिलो सिजन जनकपुरलाई जिताएका पुबुदु दासानायके मुख्य प्रशिक्षक छन् । पोखरा एभेन्जर्स पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । टीममा आकाश चन्द, त्रिर्थराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाल छन् । यस्तै, अर्जुन कुमाल, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र कृष्ण पौडेल छन् । यसमा विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र न्युजिल्यान्डका जिम्मी निसम टीममा अनुबन्ध गरिएको छ । क्यानका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन् । दिउसोको समयमा ९ खेल मात्रै हुनेछन् । मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ । दिनमा एउटा खेल खेलाउँदा फ्लडलाइटमा गर्ने र दुई खेल हुँदा मात्रै एक खेल दिनको पौने १२ बजे सुरु गर्ने तालिका क्यानले सार्वजनिक गरेको छ । मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ भने यो खेल सकिएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजे आमनेसामने हुने क्यानले जनाएको छ । मंसिर ३, ४ र ५ गते एक/एक खेल हुनेछन् । यी तीनै दिनका खेल दिउँसो ४ बजे सुरु गर्ने क्यानको तयारी छ । मंसिर ६ र ८ गते दुई दुई खेल हुनेछन् । जसमा मंसिर ६ गतेको पहिलो खेल सवा ११ बजे र ८ गतेको पहिलो खेल पौने १२ बजे सुरु हुनेछ । ६ गतेको दोस्रो खेलमा काठमाडौं र विराटनगरले साढे ३ बजे खेल्दा ८ गतेको दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली दिउँसो ४ बजेदेखि भिड्नेछन् । मंसिर ९ र १० गते एक एक खेल हुने र दुवैदिन ४ बजेबाट खेल सुरु हुनेछ । मंसिर ११, १२, १३, १६, १८ र २० गते दैनिक दुई खेलको तालिका छ । जसमा पहिलो खेल सवा ११ बजे र पौने १२ बजे तथा दोस्रो खेल साढे ३ बजे र ४ बजे हुनेछन् । यस्तै, मंसिर १४, १७, १९ र २१ गते दैनिक एक खेल फ्लडलाइटमा गराउने तयारी छ । लिगचरणपछिका सबै खेल फ्लडलाइटमा हुनेछन् । मंसिर ३२ गते पहिलो क्वालिफायर, २४ गते इलिमिनेटर र २५ गते दोस्रो क्वालिफायरका खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछन । मंसिर २७ गते शनिबार एनपीएलको फाइनल खेल हुनेछ । जुन खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।