तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको राससलाई जानकारी दिए । यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन (बागलुङ) बाट रासस प्रतिनिधिले जनाएअनुसार दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् । बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिएकी छन् । पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ । यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाएकी छन् । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उनको भनाई छ । रासस

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । ललितपुर क्षेत्र नं. १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं. २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २३ मध्ये सात जना स्वतन्त्र छन् भने १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार दर्ता गराएका छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् । त्यसैगरी ललितपुर क्षेत्र नं. ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार छन्। यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं. १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जनलगायत उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी ललितपुर क्षेत्र नं. ३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जितेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं. २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलसहित नेपाल कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवार बनेका छन् । साथै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच पनि प्रतिस्पर्धा रहने देखिएको छ । रासस

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।  देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।         बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।         सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।   निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।       बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।